नेपालगन्ज ।
लगातारको शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि बाँकेको खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाले विद्यालय बिदा दिने निर्णय गरेका छन् । खजुरा गाउँपालिका शिक्षा समितिको मंगलबारको बैठकले बुधबार ९ र ११ गते बिदा दिने निर्णय गरेको हो । यसबीचमा १० गते ख्रीष्टमस र १२ गते शनिबार परेकोले दुई दिन मात्रै बिदाको निर्णयले चार दिन बिदा हुनेछ ।
शीतलहरसँगै बढेको जाडोका कारण आवतजावतमा कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्नसक्ने कुरालाई ध्यानमा राखेर विद्यालय बन्दको निर्णय गरिएको गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत खगेन्द्र मल्लले जानकारी दिए । यता नेपालगन्ज उपमहानगरपालिकाले भने ११ गतेदेखि १४ गतेसम्म बिदा दिने निर्णय गरेको छ । शीतलहर चलेसँगै अत्यधिक चिसो बढेपछि र नेपालगन्ज रनिङ शिल्ड प्रतियोगिता पनि सञ्चालन हुने भएकोले शुक्रबारदेखि जाडो बिदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।
यस्तै चिसोकै कारण कोहलपुर नगरपालिकाभित्रका विद्यालयसमेत बन्द हुने भएका छन् । नगर शिक्षा शाखाले विद्यालयको पठनपाठन दुई दिन बन्द गर्ने निर्णय गरेको हो । शिक्षा शाखाका अनुसार प्राप्त सुझावका आधारमा पुस ९ र ११ गते कोहलपुर नगरभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयमा पठनपाठन बन्द रहनेछन् । पुस महिनासँगै सुरु भएको हुस्सु र शीतलहरले नेपालगन्जको जनजीवन प्रभावित भएको छ । विशेषगरी विपन्न तथा श्रम गरिखाने वर्ग जाडोबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।








प्रतिक्रिया दिनुहोस्