बाल सिर्जना त्रैमासिक पत्रिका विमोचन



कोहलपुर ।

डाइनामिक माध्यमिक विद्यालय कक्षा–१० मा अध्ययनरत छात्र शव्दश्री शर्मा अहिले कथा र कविता सहजै लेख्न सक्ने भएका छन् । सुरुवाती दिनहरूका कथा र कविता कसरी लेख्ने उनलाई मेसो थिइन् । तर, पछिल्लो समय विद्यालयले त्रैमासिक रूपमा बाल सिर्जना भित्तेपत्रिका विमोचन गर्न थालेपछि उनलाई कथा र कविता लेख्न सहज भएको छ ।

जसको कारण साहित्य क्षेत्रमा समेत जानकार हुन पाएको उनी बताउँछन् । ‘सुरुवाती दिनहरूमा यसका आधारभूत कुराहरू पनि थाह थिएन,’ उनले भने, ‘अहिले लेख्दै जाँदा धेरै कुराहरू सिक्न पाएको छु । जसका कारण म कविता लेख्नुका साथै अन्य रचनाहरू पनि गर्न सक्ने भएको छु ।’ उनी एक उदारण मात्र हुन् । शव्दश्री जस्तै अहिले डाइनामिक विद्यालयका धेरै विद्यार्थीहरू साहित्य बुझ्न र रचना गर्न सक्ने भएका छन् ।

विद्यालयले बाल सिर्जना त्रैमासिक रूपमा विमोचन गर्न थालेपछि विद्यार्थीहरू आफ्नो रचना र सिर्जना गर्न थालेका हुन् । बाल सिर्जना त्रैमासिक पत्रिकाले बौद्धिक क्षमताको विकासमा सहयोग पु¥याएको छात्रा प्रिसिला घर्तीमगरले बताइन् । आफूले रचना गरेका कुराहरू पत्रिकामा प्रकाशित हुँदा खुसी लाग्नुका साथै लेख्ने थप उर्जा मिल्ने गरेको उनको भनाइ थियो ।

विद्यालयले बाल सिर्जना त्रैमासिक पत्रिका विमोचन गर्न थालेको तीन वर्ष भएको प्रधानाध्यापक रविन्द्र रेग्मीले जानकारी दिए । बाल सिर्जना त्रैमासिक पत्रिका ७औँ अंकसम्म आइपुग्दा विद्यार्थीहरूको रचना गर्ने क्षमता वृद्धि हुँदै गएको उनले बताए । विद्यार्थीहरूलाई पाठ्यपुस्तक मात्रै रटाएर उनीहरूको क्षमता विकास नहुने उनले बताए ।

जसकाकारण विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै उनीहरूको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न बाल सिर्जना त्रैमासिक पत्रिका निकाल्ने गरेको उनको भनाइ छ । शुक्रबार विद्यालयले बाल सिर्जना त्रैमासिक पत्रिका विमोचन कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो रचनाहरू समेत वाचन गरेर सुनाएका थिए । नेपाल आमा, बाबा, विद्यालयको सम्झना लगाएका कविताहरू सहभागी विद्यार्थीहरूले वाचन गरेर सुनाएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार