बुटवल ।
यही पुस ४ र ५ गते बुटवलमा ‘दोस्रो लुम्बिनी क्लासिक राष्ट्रिय डेडलिफ्ट प्रतियोगिता–२०२५’ हुने भएको छ । शक्ति खेलका रूपमा रहेको पावर लिफ्टको विभिन्न ३ विधामध्येको एक डेडलिफ्टका देशभरका खेलाडीहरूको सहभागिता रहनेछ । प्रतियोगिताबारे बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकहरूले तयारी पूरा भएको जानकारी दिए ।
एक्टिभ जिम एण्ड फिटनेश बुटवलको आयोजना तथा लाइफका लागि फिजिकल फिट्नेस, तिलोत्तमा र अशोक फिट्नेसको सहआयोजनामा हुन लागेको प्रतियोगिताको संरक्षकमा राष्ट्रिय खेलकुद परिषद्, लुम्बिनी खेलकुद परिषद्, बुटवल उपमहानगरपालिका तथा नेपाल पावरलिफ्टिङ एसोसिएसन र नेपाल खेलकुद महासंघको सहकार्य रहेको छ ।
प्रतियोगितामा विभिन्न उमेर तथा तौल समूहका १० वटा विधामा प्रतिस्पर्धा गराउन लागिएको प्रतियोगिताका संयोजक एवं एक्टिभ जिम एण्ड फिट्नेसका सञ्चालन सञ्जिव क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ६२ केजीमुनि, ६२ देखि ६९ सम्म, ६९ देखि ७७ सम्म, ७७ देखि ८५ सम्म र ८५ केजीभन्दामाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ ५८ केजीमुनी, ५८ देखि ६४ सम्म र ६४ देखिमाथि तौल समूह गरि ३ विधामा प्रतिस्पर्धा हुने संयोजक क्षेत्रीले बताए ।
यसैगरि स्पेशल विधाअन्तर्गत पुरुष मास्टरर्समा ४५ केजी तौलभन्दामाथि र जुनियरमा अन्डर २३ केजीको प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा सहभागी पुरुष विधाका विजेताले ८ हजार नगदसहित मेडल, दोस्रो हुनेले ६ हजार नगदसहित मेडल तथा तेस्रो हुनेले एक हजार नगदसहित मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडी छनौट गरिने छ । उत्कृष्ट खेलाडी लुम्बिनी क्लासिक पावर लिफ्टिङ च्याम्पियन हुनेछ । पुरुष च्याम्पियनले ५१ हजार नगद तथा महिला च्याम्पियनले ३१ हजार नगद प्राप्त गर्ने क्षेत्रीले बताए । प्रतियोगितामा देशभरबाट करिव १ सय खेलाडीहरूको सहभागिता हुने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्