ज्ञानोदयलाई खजुरा मेयर रनिङ शिल्डको उपाधि



खगेन्द्र दाहाल । खजुरा (बाँके) ।

बाँकेको खजुरामा सम्पन्न आठौँ अन्तरविद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि ज्ञानोदय नमुना माध्यमिक विद्यालयले उचालेको छ । ज्ञानोदयले मेयर रनिङ शिल्ड मावितर्फ ८ स्वर्ण, ६ रजत र २ कास्य प्राप्त गर्दै शिल्ड उचालेको हो । आधारभूत तहतर्फ (६–८) ज्ञानोदयले ५ स्वर्ण, १ रजत र १ कास्य प्राप्त गरेको थियो ।

मेयर रनिङ शिल्ड मावितर्फ ७ स्वर्ण, ३ रजत र ६ कास्य प्राप्त गर्दै जनता नमुना माध्यमिक विद्यालय दोस्रो भयो । जनताले रनिङ शिल्ड आधारभूत तह (६–८)तर्फ २ स्वर्ण, १ रजत प्राप्त गरी तेस्रो स्थान प्राप्त ग¥यो । यसैगरी आदर्श मावि ‘डी’ गाउँ खजुराले मावितर्फ ४ स्वर्ण, १ रजत र १ कास्य प्राप्त गरी तेस्रो स्थान हासिल गरेको हो । आधारभूत (६–८)तर्फ ज्ञानोदय नमुना माध्यमिक विद्यालय ५ स्वर्ण, १ रजत र १ कास्यसहित प्रथम, जनसेवा मावि पूरैना गिजरा २ स्वर्ण, २ रजत र ३ कास्यसहित दोस्रो र जनता नमुना मावि सन्तकुटी २ स्वर्ण, २ रजत र ३ कास्य प्राप्त गरी तेस्रो भए ।

आधारभूत तह (१–५)तर्फ २ स्वर्ण र १ रजतसहित गोल्डेन ग्यालेक्सी एकेडेमी प्रथम बनेको थियो । २ स्वर्ण र १ कास्यसहित नेपाल राष्ट्रिय माध्यमिक मनकामनापुर दोस्रो र १ स्वर्ण, ३ रजत र १ कास्य प्राप्त गरी जनता मावि बठवा तेस्रो भए । प्रतियोगितामा माविस्तरीय अनुशासनतर्फ ज्ञानोदय नमुना माध्यमिक विद्यालयले पुरस्कार प्राप्त गरेको थियो । निमावि तहमा लिटिल हार्वर एकेडेमीले पुरस्कार प्राप्त ग¥यो भने प्रावि तहतर्फ नेपाल राष्ट्रिय आधारभूत विद्यालय चमकदारपुरले पुरस्कार हासिल ग¥यो ।

प्रतियोगिता उद्घाटन समारोहमा गरिएको मार्चपासको पुरस्कार पनि प्रदान गरिएको थियो । माध्यमिक तह (९–१२)तर्फ जेनिथ इ.मिडियम बोडिङ्ग स्कुल खजुरा प्रथम, अरुणोदय बोडिङ्ग हाइ स्कुल दोस्रो र दीपक इ.मिडियम स्कुल खजुरा तेस्रो हुन सफल भएका थिए ।
मार्चपास आधारभूत तह (६–८)तर्फ नेपाल राष्ट्रिय आधारभूत विद्यालय धौलागिरी प्रथम, लिटिल हार्वर एकेडेमी दोस्रो र अपोष्टल एकेडेमी खजुरा तेस्रो भए ।

मार्चपास आधारभूत तह (१–५)मा स्टार मन्टेश्वरी एकेडेमी खजुरा प्रथम, अम्बेमाता प्रावि बुद्धपुर दोस्रो र नेराप्रावि गुराँसपुरले तेस्रो पुरस्कार प्राप्त गरे । आठौँ रनिङ शिल्डमा एथलेटिक्सतर्फ सर्वोत्कृष्ट छात्रा ज्ञानोदय नमुना माविका आदिती गिरी भइन् । आदितिले ३ वटा गोल्ड जितेकी थिइन् । यस्तै छात्रतर्फ आदर्श मावि खजुराका धिराज दर्नाल ३ गोल्डसहित सर्वोकृष्ट घोषित भए । कबड्डी छात्रातर्फ ज्ञानोदय नमुना माविका सिम्रन सिंह ठकुरी, छात्रतर्फ जनता मावि बठवाका आंशिक नट, सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै भलिबल छात्राछात्रतर्फ जनता नमुना मावि सन्तकुटीका वर्षा गिरी र सुनिल सुनार सर्वोत्कृष्ट घोषित भए । प्रतियोगितामा भएको छात्रा तथा छात्र भलिबल खेलको उपाधि जनता नमुना मावि सन्तकुटीले हात पारेको छ । भलिबलमा छात्रातर्फ ज्ञानोदय नमुना मावि दोस्रो र दीपक मावि खजुरा तेस्रो भए । यस्तै छात्र भलिबलतर्फ जनता मावि सन्तकुटी प्रथम हुँदा अरुणोदय मावि दोस्रो र जेनिथ मावि तेस्रो भए ।

प्रतियोगितामा छात्रा एथलेटिक्सतर्फ ज्ञानोदय नमुना मावि ६ स्वर्ण, २ रजत १ कास्यसहित प्रथम भयो । दोस्रो हुने मनकामना मावि बलभद्रपुरले २ स्वर्ण ल्यायो । तेस्रो भएको जनसेवा मावि पुरैना गिजराले १ स्वर्ण, ३ रजत र २ कास्य ल्याएको थियो । छात्र एथलेटिक्सतर्फ जनता नमुना मावि सन्तकुटी ४ स्वर्ण, १ रजत र २ कास्यसहित प्रथम भयो । आदर्श मावि ‘डी’ गाउँले ४ स्वर्ण, १ रजत र १ कास्य ल्याएर दोस्रो बन्यो । छात्र एथलेटिक्सतर्फ २ स्वर्ण, १ रजत र २ कास्यसहित अरुणोदय मावि तेस्रो बनेको थियो ।

छात्रा कबड्डीतर्फ ज्ञानोदय नमुना मावि प्रथम भयो । छात्रा कबड्डीमा जनसेवा मावि पुरैना गिजरा दोस्रो भयो भने जनता नमुना मावि सन्तकुटी र योगिनी मावि गौघाट तेस्रो भए । यस्तै छात्र कबड्डीतर्फ जनता मावि बठवा प्रथम भयो । दोस्रोमा जनता नमुना मावि सन्तकुटी, तेस्रो नेरामावि गोदहाना र जेनिथ मावि खजुरा भए ।

उपाधि जित्ने विद्यालयहरूलाई सोही कार्यक्रममा नगद पुरस्कार, शिल्ड, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले रनिङ शिल्ड प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न मद्दत गरेको बताए ।
अध्यक्ष विकले जिल्लास्तरीय रनिङ शिल्ड उपाधि जित्ने गरी तयारी गर्न खेलाडीहरूलाई आग्रह समेत गरे ।

कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्ल, वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारी, वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर ओली, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, नेपाल रेडक्रस सोसाइटी खजुरा शाखा सभापति जीवनाथ सापकोटा, ज्ञानोदय नमुना माविका प्रधानाध्यापक ऋषिराम सापकोटा लगायतले बोलेका थिए ।

प्रतियोगितामा कक्षा ९ देखि १२ माध्यमिकतर्फ एथलेटिक्स, भलिबल र कबड्डी गरी जम्मा ३० इभेन्ट्समा छात्रा २६८ र छात्र २१६ गरी जम्मा ५८२ जना खेलाडीहरू सहभागी भएको सचिवालय संयोजक तथा शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले जनाए । आधारभूत तह कक्षा ६ देखि ८ सम्म १२ वटा इभेन्टमा छात्रा १२३ र छात्र १५२ गरी जम्मा २८५ खेलाडीहरू सहभागी भएका थिए भने प्राथमिक तहमा ६ वटा इभेन्टहरूमा कक्षा १ देखि ५ सम्मका लागि छात्रा १६८ र छात्र १७६ जना गरी जम्मा ३४४ जना खेलाडीहरू सहभागी थिए । छात्रा ५६७ र छात्र ६५२ गरी जम्मा १ हजार २१९ खेलाडीहरूले जम्मा ५८ इभेन्टसमा प्रतिस्पर्धा गरेको फिल्ड मार्सल कृष्ण भण्डारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार