
नेपालगन्ज ।
नेपालगन्जमा ट्राफिक अव्यवस्था एक ठूलो समस्याको रूपमा रहेको समस्या ई–रिक्साको व्यवस्थापन अभावको पनि हो । यो समस्यालाई समाधान गर्न पनि असफल रहेको नेपालगन्ज उपमहानगरपालिकाले फेरि एकपटक ठूलो सङ्ख्यामा ई–रिक्साहरू नियन्त्रणमा लिएर कागजपत्र चेकजाँच गरेको छ । उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय बाँकेको सहकार्यमा सोमबार एक सय सात वटा ई–रिक्सा नियन्त्रणमा लिइएको हो ।
कागजपत्र नभएका, नवीकरण नगरेका र नेपालगन्ज उपमहानगरमा सूचिकृत नभएका ई–रिक्सालाई नियन्त्रणमा लिएर कागजपत्र जाँच गर्दै वैध रिक्सालाई छाडिएको र कागजपत्र नपुगेका ई–रिक्सालाई कारबाहीको प्रक्रियामा लगिएको उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले कागजपत्र नभएका ई–रिक्सा दुर्घटना हुँदा बीमा नपाइने, चालक जेल जानुपर्ने अवस्था र अवैध रूपमा सञ्चालन भएका ई–रिक्साका कारण दुर्घटनाको जोखिम पनि बढेकोले त्यस्ता ई–रिक्सालाई कानुनको दायरामा ल्याउन खोजिएको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पनि उपमहानगरपालिकाको अभियानलाई साथ दिँदै रिक्सा नियन्त्रणमा लिने क्रममा सहभागिता जनाएका थिए । उनले नागरिकको रोजगारीको पक्षलाई ध्यानमा राखेर उपमहानगरले व्यवस्थापनका लागि चाल्ने सबै कदममा प्रशासनले साथ दिने बताएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले अवैध रूपमा सञ्चालन हुने ई–रिक्सालाई कानुनको दायरामा ल्याउने र नेपालगन्जको ट्राफिक व्यवस्थालाई चुस्त दुरुस्त बनाउने अभियानअन्तर्गत एकैपटक धेरै ई–रिक्सालाई नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइएको बताए ।








प्रतिक्रिया दिनुहोस्