एमालेको ११औँ राष्ट्रिय महाधिवेशनः नयाँ नेतृत्व चयनका लागि आज मतदान



काठमाडौँको भृकुटीमण्डपमा नेकपा (एमाल)ेको ११औँ महाधिवेशनमा सोमबार देशका विभिन्न क्षेत्रबाट सहभागी नेता एवं कार्यकर्तालगायत । तस्बिरः विमलबहादुर विष्ट÷रासस

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल नेतृत्वको प्यानलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । काठमाडौँमा जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सोमबार साँझ उम्मेदवारी दर्ता सकिएसँगै ओली र ईश्वर नेतृत्वमा रहेका प्यानलबीच प्यानलगत प्रतिस्पर्धा हुने पक्का भएको हो । ओली एमालेका वर्तमान अध्यक्ष हुन् भने पोखरेल वरिष्ठ उपाध्यक्ष हुन् ।

ओलीले तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । पोखरेल पहिलोपटक एमालेको अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका हुन् । यी दुवै नेताले प्यानलगत प्रतिस्पर्धा गर्नेछन् । आज तोकिएको चुनावले आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्नेछन् ।

महासचिव पदका लागि वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । पोखरेलसंस्थापन पक्षका उम्मेदवार हुन् भने पाण्डे इतर पक्षका उम्मेदवार रहेका छन् । दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा रहेका छन् । ओली तेस्रोपटक अध्यक्ष बन्ने दाउमा हुँदा पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ लिएर मैदानमा होमिएका हुन् ।

ओलीलाई लामो समयदेखि साथ दिएका केही नेताहरूले उनको निर्णयविरुद्ध उभिएका छन् । ओलीले पदाधिकारीमा आफ्नो नाम नसमेटेपछि केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यता उपाध्यक्षमा ओलीले अघि सारेका प्रदीप ज्ञवालीले त उक्त पदमा उम्मेदवारी नै दिएनन् । उनी महासचिव पदका आकांक्षी थिए । तर ओलीले महासचिवमा शंकर पोखरेललाई नै अघि सारेपछि ज्ञवाली उपाध्यक्ष पदमा रहन तयार भएनन् ।

अग्नि खरेल, रघुजी पन्त, लालबाबु पण्डित, राजेन्द्र गौतम, भीमप्रसाद आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । १९ सदस्यीय पदाधिकारीमा ओलीको सूचीलाई नै चुनौती दिँदै उनीहरूले उम्मेदवारी दिएका हुन् । ओलीलाई वर्षौँ साथ दिएका गोकुल बाँस्कोटाले त पहिले नै उनको साथ छोडिसकेका थिए । उनले अहिले पोखरेलको प्यानलबाट उम्मेदवारी दिएका छन् । कृष्णगोपाल श्रेष्ठले अहिले असहमति जनाउँदै पोखरेल प्यानलबाट उम्मेदवारी दिएका छन् ।

नेता पन्त प्रधानमन्त्री ओलीको गत मन्त्रीपरिषद्मा शिक्षामन्त्री थिए । उनी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । प्यानलमा नपरेपछि उनले स्वतन्त्र ढंगले उम्मेदवारी दिएका हुन् । ओली समूहबाट टिममा राखेकाहरूले तोकिएको भन्दा फरक पदमा उम्मेदवारी दर्ता गराएपछि संस्थापन पक्ष समस्यामा परेको छ ।

संस्थापन इतर पक्षले भने पदाधिकारीमा सोमबार राति १० बजेसम्म उम्मेवारहरूको टुङ्गो लगाइसकेको थियो । इतर पक्षले चार वटा पदमा कुनै उम्मेदवार नहुने भएको बताएको छ । रातिसम्म फाइनल गरेको टिममा अध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष बिन्दा पाण्डे, परशुराममेघी गुरूङ, गोकर्ण विष्ट, अरूण नेपाल महासचिव सुरेन्द्र पाण्डे उपमहासचिव योगेश भट्टराई, वैजनाथ भट्टराई सचिव गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरूषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठ लगभग टुङ्गो लागेका छन् ।

८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन मतदानका लागि प्रयोग गर्ने भएको छ ।
महाधिवेशनमा १०० वटा मेसिन ल्याइएपनि ८० वटा मेसिन मतदानका लागि प्रयोग गरिने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताएका छन् ।

उनका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन् । रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमुना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको जानकारी दिए ।

एमाले पार्टीको नयाँ नेतृत्वका लागि परिमार्जित निर्वाचन कार्यतालिकाअनुसार आज अपरान्ह १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानपश्चात् मतगणनाको समय तोकिएको छ । त्यसपछि निर्वाचन परिणाम घोषणा गरिनेछ । प्रमाणपत्र वितरण कार्यक्रम भने निर्वाचन समितिले तोकेअनुसार हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार