श्यामलाल पोखरेल । बुटवल ।
रुपन्देहीको बुटवलमा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ । रुपन्देही उद्योग संघको आयोजनामा आगामी पुस ३ गतेदेखि ‘१६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२’ आयोजना हुन लागेको हो । बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुने राष्ट्रिय औद्योगिक प्रदर्शनी पुस १७ गतेसम्म सञ्चालन हुने रुपन्देही उद्योग संघले जनाएको छ ।
अर्थतन्त्रलाई चलायमान गराउने, स्थानीय उत्पादन प्रवद्र्धन र कला,संस्कृतिको प्रचार प्रसार गराउने उद्देश्यले महोत्सव सञ्चालन गर्न लागिएको संघका अध्यक्ष कृष्ण पराजुलीले बताए । उनका अनुसार महोत्सव सफल बनाउन ६५ सदस्य रहेको मूल समिति गठन गरिएको छ । यस्तै, १ सय ६१ सदस्य विशेष सल्लाहकार समिति, २ सय ५१ सल्लाहकार समिति र विभिन्न ३२ वटा उपसमिति गठन गरिएको छ ।
महोत्सव अवलोकन गर्न आउने दर्शकलाई उद्योग, व्यवसाय लाग्न प्रेरित गराउनको लागि महोत्सव आयोजना गरिएकाले अहिलेको महोत्सव आम दर्शकका लागि विशेष हुने अध्यक्ष पराजुलीले बताए । उत्पादक र उपभोक्ताई एक आपसमा जोडेर हरेक प्रकारका स्वदेशी उत्पादनहरूको बजारीकरण गर्ने राष्ट्रिय औद्योगिक प्रदर्शनी गरिने उनको भनाइ छ । ‘अहिले आर्थिक मन्दीको अवस्थालाई चलायमान बनाउने हाम्रो अर्को प्रमुख उद्देश्य हो । यसमा सबै क्षेत्रको साथ सहयोग र समर्थन आवश्यक छ ।
सबै क्षेत्रलाई समेटेर महोत्सव आयोजना गरिएको छ । उद्योग, कृषि, पर्यटन र प्रविधिलाई विशेष महत्व दिइएको छ ’ उनले भने । १५ दिनसम्म चल्ने उक्त महोत्सवमा ३ सय ५० वटा स्टल राखिने छ । उक्त स्टलहरूमा स्वदेशी उत्पादनलाई मात्र प्राथकिमता दिएर त्यही अनुसारका स्टलहरू राखिएको छ । नेपाली उद्योगहरूबाट उत्पादन भएका समानहरू र कृषि उत्पादनहरू स्टलहरूमा राखिने छ ।
त्यस्तै २१औँ सताब्दीको युग अनुसार प्रविधिलाई प्राथमिकता राखिनुका साथै पर्यटनलाई पनि महोत्सवले महत्व दिएको छ । आर्थिक सम्वृद्धिको आधार नै कृषि र पर्यटन भएकाले लुम्बिनी र मुक्तिनाथलाई जोड्ने गरी गेट निर्माण गरिने आयोजकहरूले बताएका छन् । सम्बृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने मुख्य नारासहित आयोजना गरिएको महोत्सवमा ४ सय ५० स्टल राखिने र आइतबारसम्म ३ सय ५० वटा स्टल बुकिङ भएको संघका कार्यालय प्रमुख यादव भण्डारीले जानकारी गराएका छन् ।
नेपाल उत्पादन भएका तर अन्तर्राष्ट्रिय बजारमा विक्री हुन सक्ने स्वदेशी ठूला ब्राण्डका समान, विभिन्न बेकरिज, कृषि पेवोलियन, गार्बेन पेवोलियन, हाउसवल्र्ड पेबोलियन र कृषिका स्टलहरू राखिने छ । पराजुलीका अनुसार महोत्सवको पूर्व सन्ध्यामा पुस २ गते विभिन्न भेषभूषा र झाँकीसहित औद्योगिक ¥याली निकालीले र ३ गते दिउँसो २ बजेर ठिक १६ मिनेटमा अर्थमन्त्री रामेश्वर खनालको हातबाट उद्घाटन गरिने कार्यक्रम तय भएको छ । लुम्बिनी प्रदेशमा आयोजना हुने मेला महोत्सवमध्ये सबैभन्दा ठूलो महोत्सव मानिन्छ ।
राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवले बजारलाई चलायमान बनाउन सहयोग पुग्ने उद्योगी व्यवसायीहरूले बताएका छन् । उक्त महोत्सवमा १८ वटा होटलहरू राखिने आयोजक रुपन्देही उद्योग संघले बताएको छ । आर्थिक चलायमान बनाउने उद्देश्य बोकेको महोत्सवमा नेपाल पत्रकार महासंघको सहयोगमा फोटो प्रदर्शन गरिने छ । रुपन्देही क्षेत्रका पर्यटकीयस्थल, पुराना उद्योगहरू, पुरातात्विक महत्वका स्थलहरूका फोटाहरू प्रदर्शन गरिने आयोजक संस्था रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले जानकारी दिए ।
तयारी अन्तिम भैसकेको महोत्सवस्थलमा अहिले धमाधम स्टलहरू निर्माण गर्ने काम भैरहेको छ । मञ्च, बाल उद्यान र प्रवेशद्वारमा मूलगेट बनाउने काम भैरहेको छ । बुटवलमा औद्योगिक तथा व्यापार मेला २०५५ सालदेखि आयोजना गर्न थालिएको हो । २०४५ सालदेखि बुटवल उद्योग वाणिज्य संघ र रुपन्देही उद्योग संघले आलोपालो मेला महोत्सवहरू आयोजना गर्दै आएका छन् । पछिल्ला वर्षमा महोत्सवहरू सञ्चालनमा रुपन्देही व्यापार संघ र उद्योग व्यापार संघले पनि आलोपालो सञ्चालन गर्दै आएका छन् ।








प्रतिक्रिया दिनुहोस्