स्मृतिमा दाजु देवराज धिताल



राजेन्द्रप्रसाद धिताल

मङ्सिर १६ गते बिहान म बबई बहुमुखी क्याम्पस गुलरियामा आफ्नो नियमित पठनपाठनको काममा कक्षा कोठामा थिएँ । पहिलो कक्षा सकिँदै थियो, लगभग ७.३० बजे हाम्रो परिवारका अत्यन्तै आत्मीय आफन्त गृह मन्त्रालयका उपसचिव सहृदयी भाइ उमाकान्त आधिकारीको फोन आयो । फोनमार्फत उनले दाजु देवराज धितालले नश्वर देह त्याग गर्नुभएको दुःखद समाचार छोटकरीमा बताए । केही दिन अगाडि दाजु जुम्लामा बिरामी हुनुभएको थियो र उहाँलाई नेपालगन्जस्थित भेरी अस्पतालमा सघन उपचार कक्षमा राखेर उपचार गरिँदै थियो । बिरामी भएर नेपालगन्ज ल्याइएको खबर पाएपछि म उहाँलाई भेट्न अस्पतालमा पुगेको थिए । अस्पतालमा उहाँको हेरविचारमा कुनै कमी थिएन । छोरा विजय धिताल, सालाजी जयराम पाण्डे लगायतले उहाँको प्रत्यक्ष हेरचाह गरिरहेका थिए । भाइ उमाकान्त अधिकारी, डक्ट धिताल, प्रशान्न मिश्रहरुको अप्रत्यक्ष हेरविचारले परिवारलाई ढाडस प्रदान गरिरहेको थियो । मैले भेट गर्दाका समयमा दाजु खतरामुक्त देखिनुहुन्थ्यो ।डाक्टरहरुले समेत उहाँ खतरामुक्त रहेको जानकारी गराएका थिए । तर अहिले अकस्मात उमाकान्त भाइको फोन जानकारीबाट म स्तब्ध भएँ । देवराज दाजु यो संसारमा हुनुहुन्न भन्ने कुरा स्वीकार्न साह्रै मुस्किल भयो । म आफ्नो कार्यक्षेत्रबाट घरतिर नगैकन सरासर नेपालगन्जका लागि सार्वजनिक गाडीमा चढेँ । मनमा स्मृतिका अनेक तरङ्गहरु दौडिन थाले । दाजु देवराज धितालसँग मेरा अनेक अन्तरङ्ग स्मृतिहरु छन् । उहाँ मेरा दाजु, त्यसैले उहाँले मलाई स्वभाविक रूपमा भाइले पाउने स्नेह त दिनुभयो नै, उहाँले साथीका रूपमा समेत प्रेम र आनन्द प्रदान गर्नुभएको थियो । उहाँ मेरो जीवनमा बालापनदेखि आजपर्यन्त जोडिनु भएको थियो ।

म अतीत सम्झन्छु, हाम्रो परिवार म सानै हुँदा जुम्लाबाट बर्दिया बसाइँ सरेको हो, सामान्यबाहेक त्यतिबेला मलाई जुम्लाको खासै स्मृति थिएन । बर्दियाको गोलास्थित गिदरपुर गाउँमा हाम्रो परिवार बस्थ्यो । छिमेकी र विद्यालयमा जुम्लातिरका खासै कोही थिएनन्, आफ्ना दाजुभाइ त हुने कुरा नै भएन । घरमा पनि बालकको रूपमा म एक्लो थिएँ, भाइबहिनीहरु जन्मेका थिएनन् । दैलेख, अछामबाट बसाइँ सर्नुभएका दाजुभाइहरु र स्थानीय थारु सहृदयीहरु नै आफन्तका रूपमा थिए । अरुहरुकै साथमा बालापन बित्यो मेरो । प्रारम्भमा भाषा, पोसाकलगायत थुप्रै कुरामा एक्लोपनको महसुस हुन्थ्यो, अहिले पनि मलाई कैयौँपटक यस्तै एक्लोपनको अनुभूति हुने गर्छ । नितान्त सीमान्तीकृत र अल्पसंख्यक हुँदा कति अपमान सहनु पर्छ त्यसको गहिरो अनुभूति मलाई बाल्यकालदेखि नै हुँदै आएको छ । गोलाको खोनपुरमा केही वर्षपछि अंकल आदिचन्द्र धिताललगायत हाम्रा आफन्तहरुले जग्गा किन्नु भयो । त्यसपछि उहाँको परिवार तराईमा झ¥यो । दाजु देवराज तराई झर्नु भयो । उहाँ मैले पढ्ने विद्यालयमा पढ्न थाल्नु भयो । विद्यालयमा धिताल भनेपछि म एक्लो थिएँ, उहाँ आएपछि मैले दाइ पाएँ । सपरिवार बसाइँ सरेको पहिलो वर्ष चैतपछि उहाँको परिवार जुम्ला गयो । खेत बटैया लगाउने किसानका घरमा उहाँ एक्लै बस्न थाल्नु भयो । दुई भाइको स्कुलमा भेट हुन्थ्यो । दाइ एक्लै छ भनेर कहिलेकाहीँ बुबाले मलाई खोनपुर बस्न भन्नुहुथ्यो, म उहाँसगै सुत्थेँ । कहिलेकाहीँ म राति बिउँझेको बेला उहाँ बसिरहेको देख्थेँ, रोइरहेको देख्थेँ । घरपरिवार कोही नभएर एक्लै बस्नु पर्दा नियास्रो लागेर होला उहाँ रुनुहुन्थ्यो ।

म घरमा गएर यो कुरा भन्थेँ । बुबा खोनपुर आएर उहाँलाई सम्झाउनु हुन्थ्यो र प्रायः जसो हामी गिदरपुरमै बस्थ्यौँ । यसरी बालापनमा मलाई दाजुसँग एकदम नजिक भएर बस्ने मौका मिलेको थियो । कक्षा १० मा पुगेपछि उहाँ जुम्ला जानु भयो र उतै पढ्न थाल्नु भयो, यद्यपि हिउँदमा पढ्न भने यतै आउनु हुन्थ्यो । उहाँ एसएलसीको तैयारी गरिरहेको वर्ष मैले पनि कक्षा १० मा पढ्न जुम्ला जानुपर्ने भयो । २०४४ चैत ३ गते म जुम्ला पुगेँ । घर पुग्दा रात परिसकेको थियो । बिहान उठ्छु त सम्पूर्ण सेरोफेरो सेताम्य छ, रातभरि हिउँ परेछ । हिमालमा जन्मेर पनि मैले हिउँको स्पर्श पाएको थिएनँ । चौतर्फी सेताम्य वातावरण देखेर म प्रफुल्ल थिएँ, तर पनि मन उदास थियो । आफ्नो जन्मभूमि भएर पनि त्यो मेरो धिताललिही गाउँमा मलाई नजिकबाट चिन्ने मेरो साथी कोही थिएन । मैले आत्मीय ठान्ने दुईजना दाइहरु थिए, देवराज धिताल र पूर्ण धिताल । बिहान हुनेबित्तिकै मैले दाजु देवराजलाई सम्झिएँ । साइलोबुबाले मलाई दाइको घरमा पु¥याइदिनु भयो । त्यो घर मेरा लागि आफ्नै घरजस्तो थियो । जेठाबुबा, जेठीआमा, दाजु र बहिनी लाटी सबै पूर्वपरिचित र आत्मीय थिए, नवविवाहिता भाउजू पनि आत्मीय र फरासिली हुनुहुन्थ्यो, म प्रफुल्ल भएँ । दाजुहरुको एसएलसी तयारी कक्षा चलिरहेको थियो ।

पहिलो दिन दाजुसँगै म नराकोट स्कुलमा गएँ । ऋषिराम भट्टराई सरको अँग्रेजी कक्षा थियो । दाइहरुको तैयारी कक्षामा म पनि गएँ । दाजुले तराईबाट आएको आफ्नो भाइको रूपमा मेरो परिचय गराउनु भयो । नराकोटको कोटडाडामा म पनि तैयारी कक्षाको विद्यार्थी भएँ । यो देवराजको भाइ पढाइमा राम्रो रहेछ भनेर ऋषिराम सरले मलाई बिनाशैक्षिक प्रमाणपत्र दोस्रो दिनदेखि भैरव मावि नराकोटको कक्षा १० को औपचारिक विद्यार्थी बनाउनु भयो । दाइ एसएलसी उत्तीर्ण भएर शिक्षण गर्न थाल्नु भयो । पछिल्लो वर्ष मैले एसएलसी पास गरेँ । मैले एसएलसी पास गरे पछि क्याम्पस पढ्न जाने कुरा चल्न थाल्यो । म नेपालगन्ज पढ्न थालेँ, दाइले सुर्खेत पढ्नु भयो । त्यतिबेला हाम्रो परिवार तराईमा ठूलो भैसकेको थियो । हामीहरू सबै पाताभारको उल्टनपुरमा बस्थ्यौँ । बिदाको बेलामा हामी सबैको भेटघाट, खानपीन र रमाइलो हुन्थ्यो । मिठा र रोचक राजनैनिक, सामाजिक, सांस्कृतिक वहसहरु हुन्थे । देवराज दाइ, पूर्ण दाइ वामपन्थी राजनीतिमा विश्वास गर्नुहुन्थ्यो र त्यसमा प्रतिबद्ध हुनुहुन्थ्यो । ममा भने लोकतान्त्रिक रुझान थियो, दाइहरुले मलाई कम्युनिस्ट बनाउन धेरै प्रयत्न गर्नुभएको थियो । पटकपटक म हारेको थिएँ, तर उहाँहरु मलाई गहिरो प्रेम गर्नुहुन्थ्यो, त्यसैले मलाई हार्न दिनुहुन्न्थ्यो । मलाई आफ्नो आस्थामा लागिरहन प्रेरणा दिनुहुन्थ्यो । उहाँसँगका मिठा र रोचक स्मृति र अनुभूतिहरु अनगिन्ती छन्, आजभोलि काम र व्यवहारिक बोझले हुनसक्छ, नजिक बसेर खुलेर हाँस्न पाएका थिएनौँ, अब विस्तारै कामको चाप सकिँदै थियो, जिम्मेवारीको भारी बिसाउने बेला भएको थियो । जीवनको उत्तरार्धमा सँगसँगै बसौँला, रमौँला भन्ने मिठो सपना थियो । कठै ! त्यो मिठो र सुन्दर सपना अधुरै रह्यो ।अब केवल सम्झना मात्र बाँकी रह्यो । दाजु तपाईँको आत्माले शान्ति पाओस्, भावपूर्ण श्रद्धाञ्जली !

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २८ गते आइतबार