नेपालगन्ज ।
गत वर्ष जेनजी आन्दोलनपछिको अवस्थालाई ध्यानमा राख्दै हुन नसकेको नेपालगन्जमा मञ्चन हुने रामलीला यस वर्ष भने आयोजना हुने भएको छ । बडादशैँको अवसर पारी एक सय ५८ वर्ष अघिदेखि निरन्तर मञ्चन हुँदै आएको ऐतिहासिक रामलीला मञ्चन कार्यक्रमको लागि तयारी सुरु गरिएको आयोजक रामलीला सञ्चालक समितिले जानकारी दिएको छ ।गत वर्ष प्रतिकूल परिस्थितिका कारण नाटक मञ्चन हुन नसके पनि रावण दहन कार्यक्रम भने गरिएको थियो । यस पटक दसै दिन रामलीला मञ्चनको कार्यक्रम गरिने रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिएका छन् ।
नेपालगन्जको एक पहिचानकै रूपमा स्थापित भइसकेको रामलीलाको यस वर्ष मञ्चन हुने श्रृंखला १५९औँ शृंखला हुने कनोडियाले जानकारी दिए । नेपालगन्जस्थित रामलीला मैदानमा असोज २५ गते घटस्थापनाका दिनदेखि सुरु हुने मञ्चनको कार्यक्रम दस दिनसम्म सञ्चालनको व्यवस्थाका लागि तयारी सुरु गरिएको उनले बताए । रामलीला मञ्चनअघि शोभायात्रासहित रामलीलाको विधिवत् शुभारम्भ गर्ने तयारी गरिएको समितिले जानकारी दिएको छ । रामलीला मञ्चनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न उपसमिति समेत गठन लगायतका निर्णय गरिएको पनि समितिले जानकारी दिएको छ ।
यस वर्ष भारतको वृन्दावनबाट राधारमणको नेतृत्वमा कलाकार टोली ल्याएर रामलीला मञ्चन गरिने समितिले जनाएको छ । भगवान् राम र सीताको जीवनीसँग सम्बन्धित विभिन्न कथालाई नाटकीय शैलीमा प्रस्तुत गरिने मञ्चनको कार्यक्रम हरेक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म आयोजना गरिनेछ ।समितिका अध्यक्ष कनोडिया नेपालगन्जको पहिचान, संस्कृतिको एक हिस्साजस्तै भइसकेको रामलीला मञ्चनका कार्यक्रमको निरन्तरताका लागि सबैको सहयोग आवश्यक रहेको बताउँछन् । नेपालगन्ज रामलीला मञ्चनको मनोरन्जन लिन हिन्दु धर्मावलम्वीहरू मात्रै नभई सबै धर्मावलम्बीहरू रामलीला मैदान पुग्ने गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्