बर्दियामा युवा संघको वृक्षारोपण



मधुर पौडेल । बर्दिया ।

जिल्लाका विभिन्न पालिकाहरुमा युवा संघ बर्दियाले वृक्षारोपण गरेको छ । शुक्रवार जिल्लाका तीन पालिकामा छुट्टाछुट्टै कार्यक्रमका बीच युवा संघले वृक्षारोपण गरेको हो । युवा संघका केन्द्रिय महासचिव तथा नेकपा एमालेका नेता रमेश आचार्यको उपस्थितीमा वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको थियो ।

उनले गुलरिया नगरपालिका, ३ मा सगुनको बिरुवा रोपेर जिल्लाभर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै नेता आचार्यले वृक्षारोपणले दैनिक जीविकोपार्जन र वातावरण सन्तुलनका साथै खाद्यान्न आपूर्तिको समेत आवश्यकता पूरा गर्दै आएको दाबी गरेका थिए । ‘औषधी प्राकृतिक सम्पदा तथा वन्यजन्तुको संरक्षण गर्नु असल व्यक्तिको कर्तव्य हो’ उनले भने, ‘मुलुकका पर्यटकीय तथा विद्यालय आसपास, खुल्ला क्षेत्रमा उदाहरणीय तवरले सबैले देख्ने र भोग्ने गरी काम गर्नुपर्छ ।’

उक्त अवसरमा बोल्दै युवा संघका केन्द्रिय सदस्य रविन्द्र लम्सालले मुलुकभर रहेका वन उपभोक्ता समितिहरुसँग सहकार्य गरी फलफूल तथा औषधीजन्य जडीबुटीको संरक्षण गर्दै उज्यालो शहर बनाउने कामको थालनी संघले गरेको बताए । ‘वन तथा जैविक विविधता जोगाउनु असल मानवको दायित्व हो’ उनले भने, ‘प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न रुख बिरुवाले निकै सहयोग गर्ने गर्दछ ।’

शुक्रवार जिल्लाका गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकामा एकैसाथ बिरुवाहरु रोपिएको थियो । बढैयातालमा मात्र ५ हजार बढी भूगोल सुहाउँदा फलफूल तथा औषधीजन्य जडीबुटी रोपिनने युवा संघ नेपाल बर्दियाले जनाएको छ । शुक्रवारदेखि सुरु गरिएको यो अभियानलाई साउन ८ गतेसम्म जारी राखिने बताइएको छ ।

सो अवधिका जिल्लाभर ५० हजार बढी विभिन्न प्रजातीका बिरुवाहरु रोपिनेछ । गुलरियामा ६ हजार भन्दा बढी बिरुवाहरु रोपिने युवा संघ बर्दियाका संयोजक राजु पहारीले जानकारी दिए । बाँसगढी नगरपालिकामा भने १० हजार बढी बिरुवाहरु रोप्ने लक्ष्य राखिएको बताइएको छ । जिल्लाका अन्य पालिकाहरुमा समेत स्थानीय वनसँग समन्वय गरेर वृक्षारोपण गर्ने युवा संघ बर्दियाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २६ गते शनिबार