‘जनताले सही राजनीतिक दल नचिने देश झनै संकटमा’



बुटवल ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले सही प्रकारको राजनीतिक दल रोज्न नसके देश झनै संकटमा पर्ने बताएका छन् । उनले जनताले गलत राजनीतिक दल रोजेका कारण अहिले देश यो अवस्थामा पुगेको बताए । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा शनिबार आयोजना गरेको जिल्लास्तरीय सभामा बोल्दै जनताले नबुझेसम्म देशले निकास नपाउने बताउँदै बुझेर मात्रै मत दिन जनतालाई आग्रह गरे ।

मुलुकको अवस्था यस्तो विकराल हुनुमा एमाले, काँगे्रस र माओवादी जिम्मेवार रहेको उल्लेख गर्दै उनले आफूलाई ठूलो दल बताउने तीनै दलले देश र जनताको हितमा काम नगरेको आरोप लगाए । जनमतको दुरुपयोग गरेर राजनीतिलाई उद्योग बनाउने एमाले, काँगे्रस र माओवादीका कारण जेनजी आन्दोलन भएको उनको तर्क छ । उनले जेनजी आन्दोलनका मागहरु ठिक भएपनि जेनजी आन्दोलनमा घुसपैठ हुँदा देशमा विध्वंस भएको बताए ।

देशमा भारतीय र अमेरिकी साम्राज्यवाद नेपालमा हाबी भएको बताउँदै उनले साम्राज्यवाद नेपालका लागि खतरनाक भएको दाबी गरे ।
भ्रष्टाचार र संघीयताविरुद्ध आन्दोलनलाई निरन्तरता दिइएको र राष्ट्रियताको पक्षमा सम्झौताहिन संघर्ष गर्दै आएको एक मात्रै पार्टी राष्ट्रिय जनमोर्चा भएको उनले दाबी गरे ।

कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार तथा तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, कम्युनिस्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल किसान महासंघका नेता चन्द्रबहादुर केसी, नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, लोकराज भुसाल, गणेश गौतम, गंगालाल सापकोटा, इन्दिरा ज्ञवाली लगायतले सम्बोधन गरेका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २८ गते आइतबार