निबन्धः ओरलिदो समय र बदलिएको व्यवहार



सुनिता राई (संगम)

समय पनि ओरालो लाग्दो रहेछ नि ! ओरालो त केवल गोरेटोहरु हुन्छन् भन्ने लाग्थ्यो । भ्रम रहेछ ! जिवनमा हार आईरहदा आउने त्यो समय चकले मानिसको जिवननै उथलपुथल पार्दो रहेछ । समयकाल संगै सम्मान र अपमानले मान्छेको मनस्थितिमा नराम्रो धक्का पुर्याउने रहेछ । सहि समय वा भनौ राम्रा दिनहरु ब्यक्तीका लागि एक मिठो पल अनि क्षणिक समय झै हो । यस समयमा मान्छेहरु बेमतलव, बेअर्थ र स्वार्थहिन भएर साथ र सहयोग गर्न रुचाउँछन् । भो पर्दैन … पर्दैन भन्दा भन्दै ! केही हुन्न भइहाल्छ नि भन्छन् । राम्रा दिन हाम्रा दिन भने झै बेहिसाब सम्मान र सहयोग लुटाउछन् । कास तेहि सम्मान र सहयोग बिग्रेको समयमा पाए ? मान्छे किन भौतारिन्थ्यो ? किन एक्लो महसुस गथ्र्यो ? समयले गलाउदा मानिस बढी अपेक्षित हुन्छ त्यो बेला साथ दिने कोहि हुन्न । समय – समयको कुरा भनेझैँ हिजो बिना स्वार्थ साथ दिने मान्छे नि आज स्वार्थ छ भने मात्रै हितका कुरा गर्दो रहेछन् । पर्ख एकदिन यी सबै कुराको अर्थ लाग्नेछ । हिजो राम्रा दिनमा अघिपछि हुने मान्छेहरूले पनि समय संगै आफ्ना वास्तविक रंग देखाउने रहेछन् । समय मान्छेको बस भन्दा बहिर रहेछ ।

सम्हालिन खोज्दा खोज्दै पनि भताभुङ हुनुपर्ने दिन बेहोर्नु पर्ने । मान्छे त्यसै कहाँ बिथोलिन्थ्यो समयले, परिस्थितिले र कहिले स्वयम आफ्नो व्यबहारले पनि हार खुवाउने रहेछ । भन्छन् नि फलामलाई उसकै खियाले सिध्याउछ त्यस्तै रहेछ कहिले आफ्ना नजिकका र विस्वासीलो पात्रहरुले नि घात गर्दा रहेछन् । सहनु पर्ने सबै हास्दै हास्दै भोलि त ठिक होला नि भनी। खराब समयमा भोगिरहेका पिडा पनि बेग्लै हुँदा रहेछ । मान्छेहरुले राम्रै गर्दा पनि असहज अनुभुती हुने । केही अप्रिय शब्द बोलिरहेको छ भने पनि त्यो आफैलाई सुनाए झै हुने। साच्चै केही अलग खालको पिडा दिने रहेछ । पिडाले मान्छेलाई शान्त तरिकाले बदल्ने रहेछ । खराब समयमा भोगिएका अपहेलित व्यबहार, आलोचना र बोलिएका शब्दहरु समय संगै निको होला तर सम्झनाहरुमा रहिरहन्छ । कतिपय पिडाहरु त झन् व्याख्या गरि सकिदैन । हिजो समय साथ हुँदा गल्ती नै गर्दा पनि वाह वाही हुन्थ्यो। अहिले समय कहि कतै चुक्यो, खराब भयो हौसला बढाउने भन्दा पनि दुरि बढाउने धेरै देखिए । सबै ब्यक्ति संग नजिकता हुन्न र जो ब्यक्ति संग बढी आशावादी भइन्छ ती ब्यक्तिहरु बाट पनि सहयोग नहुदा पिडा हुन्छ ।

यस्ता व्यबहार भोग्दा शब्दहरु हैन चोट मात्रै बाकी हुदा रहेछन् । राम्रा समयमा लिसो टासिंएको झै नजिक हुने र खराब समयमा चार कोष टाढा भाग्नेहरु संग अपेक्षित हुनु नै गलत हो । खराव समय त सहि समय हो। यस समयमा साथिभाई चिनियो, आफन्त चिनियो, नजिकता रहेका हर कोहि चिनियो । सबैभन्दा बढी त झन् आफ्नो औकात र महत्त्व चिनियो । आफू कुन स्थानमा रहेछु त्यो धरातल चिनियो । समय सधै एकनासले चल्दो रहेनछ । परिस्थिति र भोगाई पनि बदल्नु अतिआवश्यक रहेछ । समयले त्यतिबेला चोट दिदो रहेछ जुन बेला हामी तयार भएका हुदैनौ । अन्धकारमा रमलिए जस्तै हराएको हुन्छौ । अगाडी नै हुन्छ्यौ तर देखिदैनौ । सहयोगको अपेक्षा गर्छन् कि भनी मान्छेहरू पहिल्यै पछि हटि दिन्छन् । खराब समय भनौं वा अन्धकार । अन्धकारले नै साचो मान्छे देखाउदो रहेछ । को थिए आफ्ना साथमा ? को छैनन् भनी ?? आखिर सबैलाई उज्यालो त मनपर्दो रहेछ ।

भन्छन् नि राम्रो समयको लागि सबैभन्दा नराम्रो समय संग सामाना गर्नुपर्छ । सबै आधी हामीलाई नष्ट गर्न होईन, बदल्न पनि आउदो रहेछ । सुखका दिनमा नसिकिएको आफुप्रती मान्छेहरुको सोच र व्यबहार दुखका दिनमा सिकियो, बुझियो । सदा पुरानै समय त नरहला तर खराब समय बिर्सने चेष्टा पनि गरिने छैन। जिवनलाई तालमेल गराउन सिकायो ओरालिदो समयले । पिडाले सिकाउछ जुन त्यो सजिलोले कहिल्यै सिकाउदैन । मान्छेको जिवनमा पिडा पनि अपिहार्य छ । अनुभव त्यो शिक्षक रहेछ जो समयले दिन्छ । सुखमा भन्दा पनि बढी दुखमा सम्हालिनु सक्नु पर्ने रहेछ । मनलाई थाम्नु पर्ने, केही नभएको झै हिड्नु पर्ने। कहिलेकाहीँ परिस्थिति यस्तो हुदो रहेछ मान्छे मौनता मै बिलिन हुनुपर्ने । चाहादा पनि मनको भार अरुसामु भन्नै नसकिने । भिडमा पनि एक्लो महसुस हुने । भित्रभित्रै दुखिरहदा पनि मुस्कुराउनु पर्ने। मौनता मै धेरै नबोलिएका शब्दहरु थाती रहेझै। गार्हो हुदोरहेछ । मौनता नै साथी रहेछ ।

बलियो आत्मा हरेक पतनपछि उठ्छ भनेझै मनमा ठुलो आशाका साथ आफ्नो कर्ममा तल्लीन हुनुपर्ने । मान्छेका अनेकौं आलोचना भन्दा काममा बिश्वास गर्नुपर्ने। निरन्तर लागिरहनु पर्ने । आफू माथी बिश्वास गरेर अगाडी बढ्नु नै बिग्रेको समयको ओखती रैछ । आफ्ना गल्तिहरु बाटै सिक्नु पर्दो रहेछ । हरेक कथाको अन्त खुशिका साथ हुदैन भनेझै केही कुराहरुमा जीवन अल्झिरहन्छ । तनाव भई रहन्छ । भन्छन् नि, सत्य तितो हुन्छ तर निको पार्छ । हामी सबैलाई कहिलेकाहीँ अरुको अगाडि कमजोर छु भन्न र व्यबहार ठिक छैन भन्न डर लाग्छ । धेरै कुरा मनमै रखिन्छ, धेरै पिडा लुकाएरै मुस्कुराउनु पर्छ । कर्मले हारेको मान्छेलाई साथ, सहयोग त परको कुरा गिराउन, निन्दा गर्नु मात्रै सिपालु हुन्छन् मान्छे । तर जिवनले एक कुरा पक्कै सिकाउछ राम्रो समयमा त सबैले साथ दिन्छन् तर जब समय खराब हुन्छ त्यतिबेला तिमिलाई सम्हाल्ने, तिमिलाई उभ्याउने मान्छे आवश्यक हुदो रहेछ ।

हात समाईदिनु ठुलो कुरा होईन तर मन बुझीदिनु भने साच्चै अमुल्य हुदो रहेछ अप्ठ्यारो समयमा । जिवनले कतिपटक लडायो भने पनि यदि एक, दुई जना मान्छेले फेरि उठाउनु खोज्छ वा उठाएर अघि बढ्न साथ दिए भने त्यो नै तिम्रो सबैभन्दा ठुलो सम्पत्ति हो रहेछ । तर कसले, कहिले, कती साथ दियो भन्ने कुरा समयले कहिल्यै बिर्सिदैन । सम्मान कमाईन्छ, मागिदैन । माया र ध्यान माग्ने होईन, कामाउने हो थाहा छ तर कहिलेकाहीँ कसैलाई राम्रो ठानेर वा उसको दुखलाई बुझेर नजिक ल्याउछौ तर त्यहीँ निकटताले हामीलाई भित्रभित्रै कमजोर बनाईरहेको हुदो रैछ । थाहै नहुने । गलत मान्छेहरुले तपाईलाई तुरुन्तै बर्बाद गर्दो रहेनछन् । बिस्तारै तपाईको आत्मविश्वास, शान्ति र भविष्यलाई सिध्याउने रहेछन् । दुख भन्दा ठुलो अनुभव अनि अभाव भन्दा ठुलो पिडा जिन्दगीमा केही हुदैन । अहिलेको समयमा मान्छे त धेरै भेटिन्छन् तर, मानवीयता भेटिन गाह्रो छ। सबै स्वार्थयुक्त छन् । नहुनेले सहयोग गर्नु आँट गर्छन् सक्दैनन् तर हुने पर–पर भाग्छन । सधै समय एकनासको कसो होला र ! परिवर्तन जरुरी छ अवश्य परिवर्तन होला । बस् भोग्दा समय लम्बिदो रहेछ । हर प्रयास असफल हुन्छ भन्ने होईन कहिलेकाहीँ सफलता ढिलो आईरहेको हुन्छ बस् धैर्य राख्ने र मेहनत गर्ने परिणामको प्रतीक्षा गर्नु बाहेक अरु विकल्प हुदैन रहेछ । समयले दिएको घाउ, समयले नै मिलाएर लाउदो रहेछ ।

तपाईको मन, समय र उर्जा सबैभन्दा ठुलो सम्पती हो । यसलाई जसलाई पायो उसलाई दिनु हुदैन । सबैले यसको कदर गर्दैन । गतल मान्छेले तल तान्दै जान्छ, जहाँ बाट तपाई उठ्न सक्नु हुन्न । सम्बन्ध आत्माले मिल्छ, व्यबहारले टुट्छ अनि गलत संगतले बिग्रन्छ । त्यसैले, जिवनमा सधै दुई कुरा याद गर्नुहोस् कि; तपाई को संग बस्नुहुन्छ र कसलाई मन पराउनुहुन्छ । किनभने यो दुई कुराले तपाईको बाटो तय गर्दो रहेछ । सहि मान्छेले माथी उठाउँछ र गलत मान्छले गलाउँछ । त्यसैले आफ्नो वरिपरि कस्ता मान्छे राख्ने भनेर पटक–पटक सोच्नु आवश्यक हुदो रहेछ ।खराब समय एउटा यस्तो यात्रा रहेछ जो जिवनकाल सम्म अविस्मरणीय हुन्छ र यस समयमा भोगिएका अनेकौं उतारचढाव, मर्नु र बाच्नुको दोधार, अपहेलना, तिरस्कार, बदलिँदो व्यबहार, नदेखिएको तनाव, दबिएको पिडा, मन बिचलित, गुमेको सम्मान र हेर्न दृष्टिकोणहरुलाई सम्हालेर हिड्नु मरे तुल्य नै रहेछ । लाग्छ “मन मर्दैमा मानिस नमर्दो रहेछ “ । कठोर बनेर प्रस्तुत हुनै पर्ने, पग्लिए पछि अस्तित्व हराउँछ भनेर ।

कतिपय समय यस्तो पनि आउने रहेछ कसैले के भो ? भनेर प्रश्न गर्दा बेलिबिस्तार व्याख्या गर्नु भन्दा “म ठिक छु “ भन्न सजिलो हुने । पिडाले मान्छेलाई यति बुद्धिमान पनि बनाउदो रहेछ सबै कुरा सहजै लिन सक्ने । यद्यपि मन पिडाको भवसागरमा डुबुल्की खेल्दै छ भित्रभित्रै । यो खराब समयको यात्रा यसरी नै बित्यो । कोहि मानिसहरू बदलिए र कोहीले मलाई बदलदिए । सधै सबै संग सहयोग माग्दिन तर जसले मनले साथ दिए उनीहरुलाई म कहिल्यै बिर्सिन्न । समय फेरिन्छ, परिस्थिति बदलिन्छ तर अप्ठ्यारोमा साथ दिने र अप्ठ्यारोमा साथ छोड्नेहरुको मुल्य कहिल्यै बिर्सिदैन । गलत र बैमान मान्छहरुले साथ छोडि घात गरे । निष्ठावान मान्छेहरु दुर्लभहुन्छन्, जसले पुनः पलाउने साथ र साहास दिए । यो एउटा यात्रा हो, कसैले साथ दिन्छन् । कसैले पाठ दिन्छन् । दुवै उत्तिकै महत्त्वपूर्ण छन् र बहुमुल्य छन् । खराब समय नचाहेर आउने रहेछ । थाहै हुदैन कसले के–के बेहोर्नु पर्छ जिवनकालमा । सक्छौ साथ दिउ, हौसला दिउ । सक्दैनौं भने, समयले लतारेको मान्छेलाई निन्दा र गिराउने नगरौ । तपाईं हामी सबै “मन्दिर “ त जानू भएको छ होला नि !! कहिले ध्यान दिनुभएको छ ? मन्दिर बाहिर बस्ने भिखारीहरुले भगवान संग होईन, मानिसहरु संग माग्छन् ……. यसको अर्थ के हो ? खराब समयमा मान्छेको साथ मान्छेलाई चाहिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार