क्षमताभन्दा बढी सिट राख्ने सवारीसाधन कारबाहीमा



नेपालगन्ज (बाँके) ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सञ्चालन गरेको ‘ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीउपर कारबाही अभियान’लाई तीव्रता दिएको छ । अभियानलाई साप्ताहिरुपमा सञ्चालन गरिरहेको बाँके ट्राफिकले यस हप्ता मात्रै तीन सय विभिन्न यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई कारबाही गरेको छ ।

बाँकेका विभिन्न स्थानहरुमा ट्राफिक नियम उल्लङ्घन गर्दै सञ्चालन भइरहेका छोटो दूरीका सवारी र जिल्ला बाहिर चल्ने लामो दूरीका गरी तीन सय यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई यस हप्ता कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

‘साप्ताहिकरुपमा सञ्चालन गरिएको अभियानअन्र्तगत यस हप्ता तीन सय वटा विभिन्न सवारीसाधनलाई कारबाही गरेका छौँ, ती सवारीले आफूखुसी सिट थपी क्षमताभन्दा बढी यात्रु ओसारपसार गरिरहेका थिए, तीन सय सवारीसाधनबाट ४६७ वटा विभिन्न मुढा, ग्याप सिटहरु, काठका सिटहरु निकालेका छौँ ।” प्रनि शाहीले भने, ‘पहिलोपटकका लागि सिट मात्रै निकालेर सम्झाइबुझाइ सचेत गराएर छाडेका छौँ, फेरि पनि ट्राफिक नियम उल्लङ्घन गरेको पाइएमा कानुनअनुसार कारबाही गर्छौँ ।’

उनले रातको समयमा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्नका लागि ११ सय ३२ वटा साइकल, इ–रिक्सा लगायतका अन्य विभिन्न सवारीसाधनहरुमा रातको समयमा टल्कने रिफ्लेक्टिभ स्टिकरसमेत टाँस गरिएको जानकारी दिए । बाँके ट्राफिकले सवारीसाधनलाई कारबाही मात्र नगरेर सरोकारवालाहरुलाई विभिन्न सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।

जिल्लाका विभिन्न विद्यालयहरुमा ‘ट्राफिक प्रहरीसँग विद्यार्थी, सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कार्यक्रम’मार्फत शिक्षक तथा विद्यार्थीहरुलाई ट्राफिक नियम, सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सैद्धान्तिक, व्यवहारिक अभ्याससहितका सचेतनाका अभियान पनि सञ्चालन गरिरहेको ट्राफिक प्रमुख प्रनि शाहीले बताए ।

त्यसैगरी यसअघि ‘सार्वजनिक तथा निजी सवारीसाधनहरुमा अस्पष्ट नम्बर प्लेटलाई पुनर्लेखन गर्ने विशेष कार्यक्रम’मार्फत कात्तिक महिनामा जिल्लाका विभिन्न सडकहरुमा सञ्चालनमा आएका विभिन्न १०५ वटा सवारीसाधनको नम्बर प्लेट पुनर्लेखन गराएको थियो । बाँके ट्राफिकले सवारीसाधन कारबाही अभियानसँगै दुर्घटना न्यूनीकरणका लागि विभिन्न सरोकारवालासँग विभिन्न समयमा जिल्लाभर सचेतना तथा जनचेतना कार्यक्रमहरु नियमित सञ्चालन गरिरहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार