लेखक, बुद्धिजीवी र युगको आवाज



चिलीका रोदा रोजा रोखास, चेकोस्लाभाकियाका जुलियस फयूजिक भारतमा पनि फाँसीवादी प्रवृत्तिविरुद्ध कवि, कलाकार र पत्रकारहरूले प्रतिरोधको स्वर बुलन्द गर्दा हत्या गरियो । नरेन्द्र दोभालकर, गणेश पन्सारे, गौरिलंकेसर विश्वविध्यालयका भिसिीप्रो डा को हत्या गरियो । नेपालमै पनि लेख्नका लागि लड र लड्नका लागि लेख भन्ने कवि कृष्णसेन इच्छुकको पनि शाही सत्ताले हत्या ग¥यो । यस्ता लेखक सामाजिक बहिष्कार वा सजायको जोखिम मोल्न तयार हुन्छन् ।

नरेन्द्रजंग पिटर

लेखकः समयका प्रवक्ता, भविष्यका स्वप्नद्रष्टाः लेखक, साहित्यकार, कवि र कलाकार समयका प्रवक्ता र भविष्यका स्वप्नद्रष्टा हुन्छन् । उनीहरू समाजको दर्पण मात्र होइनन्, प्रगतिशील चिन्तक, मानवतावादी दृष्टिकोणका संवाहक, सत्यका पक्षधर र भविष्यका संकेतकर्ता पनि हुन् ।उनीहरूका लेखनीले सत्यलाई युगवाणी बनाउँछ, अहङ्कारलाई चुनौती दिन्छ, मानव अन्तर्निहित क्षमतालाई जागृत गर्दै उत्पीडनविरुद्ध आवाज उठाउँछ । उनीहरूले सिर्जेका बिम्ब र प्रतीकहरूले समाजलाई युगीन बनाउँछन् । यही कारणले उनीहरूका रचनाकालजयी बन्छन् । तर, सबै लेखन साहित्य बन्दैन, न त स्मरणीय हुन्छ । मैले भजन र गीत छुट्याउने गरेको छु, कवि र राजकवि लेखनीबाटै छुट्टिन्छन् । बुद्धिजीवीको भूमिकाः ग्राम्स्कीको दृष्टिकोण इटालियन माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्स्कीले बुद्धिजीवीको भूमिकालाई साँस्कृतिक प्रभुत्वको सन्दर्भमा विश्लेषण गरेका छन् । उनले बुद्धिजीवीहरूलाई दुई प्रकारमा वर्गीकरण गरे, परम्परागत र जैविक । परम्परागत बुद्धिजीवीहरूले आफूलाई स्वायत्त र तटस्थ ठान्छन् वास्तवमा स्वतन्त्र भन्नु नै सत्ताधारी वर्गको हितमा न्यारेटिभ तयार गर्नु हुन्छ । अज्ञानतावस केही लेखकहरू स्वतन्त्र भन्न चाहान्छन् । नजान्नु नहुनु हैन् । योजनामा वा अज्ञानतामा कयौँ लेखक, चिन्तक, बुद्धिजीवी कुनै न कुनै वर्गपक्षधर हुन्छ । वास्तवमा तटस्थ कोही हुँदैन् ।

ग्राम्स्कीको जैविक बुद्धिजीवी अवधारणा महत्वपूर्ण छ । उनीहरू कुनै खास सामाजिक वर्गसँग जोडिन्छन् र त्यसको हितलाई प्रतिनिधित्व गर्छन्। उनीहरू वर्गको वैचारिक र साँस्कृतिक नेतृत्व गर्छन् । उदाहरणका लागि मजदुर वर्गका लागि ट्रेड युनियन नेता, लेखक वा कार्यकर्ताहरूले वर्गीय चेतना र संगठनलाई बलियो बनाउँछन् । समाजमा वर्गीय शक्ति सन्तुलन फेरिएपछि धेरै बुद्धिजीवीहरूले आफ्नो भूमिका र परिचय पनि फेर्ने गर्छन् । यो चिन्तनको सिफ्टले कुनैबेलाको क्रान्तिकारी लेखक सत्ताको मतियार पनि बन्न सक्छ । शीर्षकको चयन नै पक्षधारिता बन्न पुग्छ । ग्राम्स्कीका अनुसार प्रत्येक वर्गले आफ्नै जैविक बुद्धिजीवी उत्पादन गर्छ, जो वर्गको अनुभव, संघर्ष र आंकाक्षालाई बुझेर वैचारिक नेतृत्व प्रदान गर्छ । यिनीहरूले विचार र संस्कृतिमार्फत समाजलाई प्रभावित गर्छन् ।

लेखकका आधारभूत गुणहरूः

सच्चा लेखकमा चार आधारभूत गुण हुन्छन्, जसले उसलाई सर्जक मात्र होइन, समाजको वैचारिक अगुवा पनि बनाउँछ ।

१. निर्भीकताः सच्चा लेखक सत्ता र अन्धविश्वाससँग टकराउँछ । उसको लेखनी सत्यको पक्ष लिन्छ, चाहे सत्य जति कठोर होस् । विश्वास र अन्धविश्वासबीचको द्वन्द्वलाई नियाल्दै उसको सिर्जना दायित्वपूर्ण हुन्छ । उदाहरणका लागि हावर्ड ज्याकवसन, पीटर वेनपार्ट र रज सेगलजस्ता यहुदी लेखकहरूले इजरायली अन्धराष्ट्रवाद र गाजाको नरसंहारविरुद्ध साहसिक आवाज उठाए । चिलीका रोदा रोजा रोखास, चेकोस्लाभाकियाका जुलियस फयूजिक भारतमा पनि फाँसीवादी प्रवृत्तिविरुद्ध कवि, कलाकार र पत्रकारहरूले प्रतिरोधको स्वर बुलन्द गर्दा हत्या गरियो । नरेन्द्र दोभालकर, गणेश पन्सारे, गौरिलंकेसर विश्वविध्यालयका भिसिीप्रो डा को हत्या गरियो । नेपालमै पनि लेख्नका लागि लड र लड्नका लागि लेख भन्ने कवि कृष्णसेन इच्छुकको पनि शाही सत्ताले हत्या ग¥यो । यस्ता लेखक सामाजिक बहिष्कार वा सजायको जोखिम मोल्न तयार हुन्छन् ।

२. प्रगतिशील यथार्थवादः लेखकले समाजको यथार्थ चित्रण गर्छ तर प्रगतिशील यथार्थवादले त्यसलाई परिवर्तनको दिशामा डो¥याउँछ । कुरीति, अन्याय र शोषणलाई छर्लङ्ग्याउँदै समाधानको मार्गदर्शन गर्छ । यो दृष्टिकोणले लेखकलाई समाजको अगुवा बनाउँछ ।

३. मानवतावादी दृष्टिकोणः लेखकको लेखनीको केन्द्रमा मानवता हुन्छ । ऊ अन्धजातिवाद, अन्धधार्मिकता र अन्धराष्ट्रवादबाट मुक्त हुन्छ ।जातीय, धार्मिक, लैङ्गिक, वा आर्थिक उत्पीडनको विरोध गर्छ । युद्धविरोधी लेखकहरूले मानवजीवनको मूल्यलाई सर्वोपरि राख्छन् ।

४. समयको अग्रगामी प्रवक्तापनः लेखकले आफ्नो समयको तितो सत्य बोल्दै भविष्यको मार्गदर्शन गर्छ । ऊ समाजको गतिशीलता र सम्भावनालाई बुझेर नयाँदिशातर्फ प्रेरित गर्छ । यो प्रवक्तापनले लेखकलाई सत्ताको समर्थक होइन, विरोधी बनाउँछ । सुकरात, ग्राम्सी, रोजालक्जमबर्ग, कृष्णसेन र अरुन्धती रोयजस्ता लेखकहरूले सत्ताको डरमा आफ्नो लेखनी रोकेनन् । सत्तासँग सम्झौता, गोगलको उदाहरणः रुसी लेखक निकोलाई गोगल सुरुमा सामाजिक कुरीति र भ्रष्टाचारको व्यंग्यात्मक चित्रणका लागि चर्चित थिए । उनको नाटक द गभर्नमेन्ट इन्स्पेक्टर र कथाहरू डेड सोल्स र द ओभरकोटले सामन्तवाद, भ्रष्ट नोकरशाही र सामाजिक अन्यायमाथि प्रहार गरे ।

तर जीवनको उत्तरार्धमा गोगल जार निकोलास प्रथमको ओत लागे । उनले सेलेक्टेड प्यासेज फ्रममाई करेस्पोन्डेन्स विथफ्रेन्ड्स जस्ता निबन्ध लेख्दै रुसी साम्राज्यवाद, सर्फडम र धार्मिक रूढिवादको पक्ष लिए । यसले उनलाई सत्ताको मतियार बनायो । अलेक्जेण्डर हर्जेनले उनको आलोचना गर्दै भने, ‘गोगल शारीरिकरूपमा बाँचेका छन्, तर लेखक गोगल मरिसके ।’ यो उदाहरणले देखाउँछ कि सत्तासँगको सम्झौताले लेखकको आत्मालाई मार्छ र उसको साहित्यको मूल्य कमजोर बन्छ । हाम्रै देशमा भूतपूर्व क्रान्तिकारी साहित्यकारहरू पनि सत्ताका भजन गाउने कृतिकार बने । सत्तासँग स्वभिमान र विवेक पचाउने कडा ओखती हुन्छ ।‘शरीर’ सत्तासँग सम्झौता गर्न सक्छ तर ‘लेखक’ जिज्ञासा, सत्य र विवेक हो । जब यी दुईबीच दूरी बढ्छ, लेखकको कलम सत्ताको घोषणापत्र लेख्ने औजार बन्छ ।

सत्ता र साहित्यः प्रेम र घृणाको सम्बन्ध

सत्ता र साहित्यबीचको सम्बन्ध प्रायः प्रेम र घृणाको मिश्रण हुन्छ । साहित्यकारले सत्तामाथि प्रहार गर्छ र सत्ता साहित्यकारलाई शङ्का गर्छ । तर कहिलेकाहीँ यो दूरी मेटिन्छ, र लेखक सत्ताको मतियार बन्छ । सत्ताको प्रलोभन, सुविधा वा भयले लेखकलाई आफ्नो स्वाभिमान र विद्रोह गुमाउन बाध्य गर्छ । टागोर र दोस्तोयेभ्स्कीले सत्तासँग संवाद गरे तर आफ्नो आत्मा बेचेनन् । यही भिन्नताले साहित्यकारको स्थान इतिहासमा निर्धारण गर्छ । फ्रान्सेली लेखक अल्बर्ट कामुले साहित्यलाई सधैँ विद्रोहसँग जोडे । उनको पुस्तक द रिवेलमा लेखे, ‘साहित्यकारले सधैँ प्रतिरोधको पक्ष लिनुपर्छ ।’ कामुका लागि सत्ता एउटा विष हो, जसलाई सचेत लेखकले अस्वीकार गर्नुपर्छ । टागोरले पनि देखाए कि लेखकको काम सत्ताको मतियार बन्नु होइन, चेतना जगाउने बीउ छर्नु हो ।

लेखकको प्रकटीकरणः युगको सत्य लेखक ‘निर्मित’ होइन, ‘प्रकट’ हुन्छ । पार्टी, सत्ता वा संस्था लेखक बनाउने कारखाना होइनन् । तिनीहरूले पुरस्कार, प्रचार वा प्रकाशनको अवसर दिन सक्छन् तर असली लेखकत्व युगको सत्य, मानवीय संवेदना र सामाजिक दायित्वबाट जन्मिन्छ । सत्ताले बनाएका लेखक चाकर मात्र हुन्छन् । उनीहरूले यथार्थलाई छोप्दै प्रशंसा लेख्छन् । यस्ता लेखकको आयु प्रचारको सीमासम्म मात्र हुन्छ । तर युगले जन्माएका लेखक फरक हुन्छन् । उनीहरू पीडा, संघर्ष र समाजका अन्तर्विरोधसँग जुधेर प्रकट हुन्छन् । उनीहरूका शब्दले युगको आवाज बोकेर इतिहासमा अमर रहन्छ । सुकरात, ब्रुनो, ग्राम्सी र कृष्ण सेनजस्ता लेखकहरू सत्ताबाट बहिष्कृत भए, पुस्तक जलाइए तर उनीहरूका विचार आज पनि जीवित छन् ।

आजको प्रश्नः चापलुसी कि युगीन आवाज ? लेखकको कलम दुई रूपमा देखिन्छः स्वतन्त्र कलम, जसले समाजलाई प्रश्न गर्छ र उत्पीडितलाई आवाज दिन्छ र चाकर कलम, जसले सत्ताको भजन गाउँछ । जब लेखक चाकर बन्छ, उसको कलम बोझ बन्छ, किनभने उसका शब्द सत्यका होइनन्, चापलुसीका दास हुन्छन् । हामी कस्तो समाज चाहन्छौँ ? चापलुसी गर्नेहरूको कि युगीन आवाजलाई बढाउने ? यदि हामी मौन रह्यौँ भने सत्ता हामीलाई ‘मौन दर्शक’ बनाउनेछ । सामाजिक सरोकारप्रति उदासीन बनाएर आज्ञाकारी भिड तयार गर्छ । भिड सोँच्दैन, विवेकी होइन । लेखक, साहित्यकार र बुद्धिजीवीले मान्छेलाई नागरिक बनाउनुपर्छ, अन्धविश्वासीलाई जागृत गर्नुपर्छ र हरेक घटनाको कारण र सत्य जाँच्न प्रेरित गर्नुपर्छ ।

निष्कर्षः लेखकको दायित्व लेखकत्व समाजको अन्तरात्मा हो । जब पीडा असह्य हुन्छ, जब मौनता अपराध बन्छ, तब लेखक प्रकट हुन्छ । लेखक व्यक्ति मात्र होइन, युगको संवेदना हो, जसले आफ्नो आवाजमार्फत समयलाई अभिलेख गर्छ । साहित्यले सत्ताले चुप गराउन खोजेका आवाजलाई वाणी दिनुपर्छ । सत्य, करुणा र समयप्रति जिम्मेवार लेखकले मात्र कालजयी रचना सिर्जना गर्छ । यही बाटोले लेखकलाई युगको प्रवक्ता बनाउँछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार