खजुरा (बाँके) ।
नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस बाँकेको खजुरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । रेडक्रसको खजुरा उपशाखाको आयोजनामा विचार विमर्श र कुर्सी दौड प्रतियोगिता गरिएको हो । खजुरा उपशाखाका कार्यवाहक सभापति योगमाया खनालको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसको इतिहासलाई सम्झना गरिएको थियो । रेडक्रस स्थापनाको उद्देश्य, मानवीय सेवामा खेलेको भूमिका र नेपालमा यसको सुरुवातलाई सम्झदै उपस्थितहरूले यसको सक्रियता थप बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै युवा रेडक्रस सर्कल खजुराका अध्यक्ष खगेन्द्र दाहालले रेडक्रसको स्थापना आपतकालीन उद्धार, रक्तदान, विपद् व्यवस्थापनमा सक्रिय हुने र स्वयंसेवाको भावना विकास गर्नु रहेको बताए । शिक्षाविद् माधव शर्माले रेडक्रसले सधैँ सकारात्मक सन्देश प्रवाह गर्ने गरी काम गर्न आवश्यक रहेको बताए । शर्माले ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने सन्देशसहित अघि बढ्न शुभकामना दिए । समाजसेवी भक्तबहादुर केसीले आफ्नो प्रतिबद्धता नवीकरण गरिरहन आवश्यक रहेको बताए ।
केसीले मानवीय सेवामा आफैँ पनि प्रतिबद्ध भएर सानो तर उपलब्धिमूलक योगदान गर्ने इच्छा जाहेर गरे । खजुरा उपशाखाका सल्लाहकार झगबहादुर पौडेलले रेडक्रसको मूल्य र मान्यताभित्र रहेर सबैले योगदान दिनुपर्नेमा जोड दिए । खानेपानी महासङ्घ खजुरा गाउँपालिकाका अध्यक्ष श्रावण धिर केसीले रेडक्रसको योगदानप्रति चर्चा गरेका थिए । केसीले रेडक्रसले मानवताको सेवामा उल्लेख्य काम गरेको भन्दै यसको निरन्तरताका लागि शुभकामना दिए ।
विचार विमर्श कार्यक्रमपछि भएको कुर्सी दौड प्रतियोगितामा शिक्षाविद् समाजसेवी भक्तबहादुर केसी प्रथम भए । यस्तै द्वितीय स्थान युवा रेडक्रस सर्कलका अध्यक्ष खगेन्द्र दाहालले प्राप्त गरे । विजयी केसीले नगद ५०० पुरस्कार प्राप्त गरे भने उपविजेता दाहालले २५० नगद प्राप्त गरे । दिवसकै अवसरमा युवा सर्कलले उपशाखा गेटमा रहेको पुरानो नेपालको झण्डा फेरेर नयाँ राखेको थियो । कार्यक्रमको सञ्चालन भने उपशाखाका सचिव विकास हरि कोइरालाले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्