श्यामलाल पोखरेल । बुटवल ।
नेपाललाई २०६६ सालमा कुष्ठरोग निवारण देश घोषणा गरिएको थियो । सरकारले कुष्ठरोग निवारण देश घोषणा गरेपनि अझै पूणरूपमा कुष्ठरोग निवारण तथा उन्मुलन भएको छैन् । जनचेतनाको कमी र रोग लुकाउने मानिसको प्रवृत्तिमा परिवर्तन आउन नसकेकाले नेपालबाट कुष्ठरोग निवारण हुन नसकेको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।
२०८०–०८१ को अन्त्यतिर नेपालका १८ वटा जिल्ला कुष्ठरोग निवारण हुन बाँकी रहेको र अहिले नयाँ तथ्यांक नआएकाले कति जिल्ला घटे भन्ने यसै भन्न नसकिने स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकारम अधिकारीले मिसन टुडेलाई जानकारी दिए । क्षयकुष्ठ अधिकृत अधिकारीका अनुसार २०८१–०८२ मा कति कुष्ठरोगी घटे वा कति जिल्ला उन्मुलन भयो भन्ने विषयमा केही महिनापछि तथ्यांक सार्वजनिक हुनेछ । रुपन्देही पनि कुष्ठरोगबाट मुक्त हुन सकेको छैन ।
सरकारले कुष्ठरोगीहरूलाई निःशुल्क औषधिको व्यवस्था गरेपनि रुपन्देही जस्तो जिल्ला कुष्ठरोग मुक्त हुन नसक्नु दुःखदायी विषय बनेको भन्दै चिन्ता गरेका छन् । रुपन्देहीमा अहिले १७० जना कुष्ठरोगीको सङ्ख्या रहेको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकले देखाएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले मंगलबार कुष्ठरोगको विषयमा आयोजना गरेको अन्तरक्रियामा स्वास्थ्य अधिकृतहरूले बिरामीहरूलाई खोज्दै समुदायमा पुग्दा पनि निवारण गर्न नसकिएको बताएका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा २६ जना, शुद्धोदन गाउँपालिकामा १८ जना, तिलोत्तमा नगरपालिकामा १६ जना, रोहिणी गाउँपालिकामा १६ जना, सिद्धार्थनगर नगरपालिकामा १५ जना, ओमसोतिया गाउँपालिकामा १५ जना, देवदह नगरपालिकामा १० जना, गैडहवा गाउँपालिकामा ८ जना, मायाँदेवी गाउँपालिकामा ८ जना, मर्चवारी गाउँपालिकामा ७ जना, सियारी गाउँपालिका ७ जना, सैनामैना नगरपालिकामा ७ जना, कञ्चन गाउँपालिकामा ६ जना, कोटहीमाई गाउँपालिकामा २ जना र समहीमाई गाउँपालिकामा १ जना गरी रुपन्देहीमा कुष्ठरोगीका बिरामीको १७० रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार तिलोत्तमा नगरपालिकामा कुष्ठरोगीको सङ्ख्या १६ भएपनि तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी केशव अर्यालले १९ जना भएको बताएका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकभन्दा तिलोत्तमामा कुष्ठरोगीको सङ्ख्या ३ जना बढी भएकाले रुपन्देहीमा यो सङ्ख्या बढेर १७३ हुन आउँछ । रुपन्देहीलाई कुष्ठरोग निवारण जिल्ला बनाउनका लागि अहोरात्र खटेर समुदायमा पुगेर काम गर्दा पनि बिरामीहरूले रोग लुकाउने र खुल्न नमान्दा समस्या भएको स्वास्थ्य कार्यालयका प्रमुख उमादेवी थापाले बताइन् ।
कुष्ठरोग लागेको पुष्टि भएपछि एक डोज औषधि खाँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने र बिरामीमा बढी किटाणु भेटिएमा १२ महिना र कम किटाणु भेटिए ६ महिना औषधि खाएपछि कुष्ठरोग पूर्णरूपमा निको हुने क्षयकुष्ठ अधिकृत अधिकारीले बताए । कुष्ठरोगको जोखिम अझै स्थानीय तहहरूमा रहेको र कुष्ठरोगका कारण अपांगता हुने दर कायमै रहनुका साथै कुष्ठरोगप्रति सामाजिक भेदभाव कायमै रहेको स्वास्थ्य अधिकृतहरूले बताएका छन् । कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार, समुदायमा रोगबारे सचेतना जगाउनुपर्ने स्वास्थ्य अधिकृत रामप्रसाद भट्टराईले बताए ।
कुष्ठरोगको फैलावटलाई रोकथाम गरेर जिल्ला र स्थानीय तहमा कुष्ठरोग निवारण गर्नेगरी कार्यक्रम अगाडी सारिएको स्वास्थ्य कार्यालयले जनाएको छ । आगामी वर्षसम्म जिल्लालाई कुष्ठरोग निवारण गर्ने योजना रहेकोसमेत बताइएको छ । स्वास्थ्य कार्यालयको आयोजना र ल्याप्रोसी नेपालको सहयोगमा रुपन्देहीमा मंगलबार कुष्ठरोगसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया एवं अभिमुखीकरण कार्यक्रम गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्