करिब १० वर्षको उमेरदेखि नै भारत जान थालेको बताउने १५ वर्षीय दिपेन्द्र सार्कीका साथमा दैलेखकै १७ वर्षीय दशरथ बोगटी र १८ वर्षीय गणेश सुनार पनि स्वदेश फर्केका छन् । यसपटक देश फर्किरहेका दिपेन्द्र र उनका साथीहरूका कुरा सुन्दा उनीहरूमा एउटा उत्साह भने भरिएको थियो । त्यो उत्साह जेनजी आन्दोलनपछि देशमा नै रोजगारी मिल्ला कि भन्ने आशाले जगाएको थियो ।सीमा नाका जमुनाहामा भेटिएका दिपेन्द्रले भने, ‘अहिले हाम्रो उमेरकै साथीहरूले आन्दोलन गरेका छन् । पुराना नेताहरूको सरकार ढलेको छ । अब केही होला कि भन्ने आशा छ ।’
वीरेन्द्र जैसी । नेपालगन्ज ।
भारतको गुजरातमा मजदुरी गर्न गएका दैलेखका १५ वर्षीय दिपेन्द्र सार्की सोमबार नेपालगन्जको जमुनाहा नाका हुँदै स्वदेश फर्किए । करिब १० वर्षको उमेरदेखि नै भारत जान थालेको बताउने दिपेन्द्रका साथमा दैलेखकै १७ वर्षीय दशरथ बोगटी र १८ वर्षीय गणेश सुनार पनि स्वदेश फर्केका छन् । ‘घरको बाध्यता थियो । अलिअलि कमाइ गर्न सकियो भनेपनि घरलाई हल्का होला भनेर काका र दाइहरूसँगै इण्डिया लागियो ।अहिले पनि इण्डिया नगई हामीलाई बाँच्न गाह्रो छ,’ दिपेन्द्रले भने ।
यसपटक देश फर्किरहेका दिपेन्द्र र उनका साथीहरूका कुरा सुन्दा उनीहरूमा एउटा उत्साह भने भरिएको थियो । त्यो उत्साह जेनजी आन्दोलनपछि देशमा नै रोजगारी मिल्ला कि भन्ने आशाले जगाएको थियो । दिपेन्द्रले भने, ‘अहिले हाम्रो उमेरकै साथीहरूले आन्दोलन गरेका छन् । पुराना नेताहरूको सरकार ढलेको छ । अब केही होला कि भन्ने आशा छ ।’ उनले जेनजी आन्दोेलनले भारतमा रहेका नेपाली युवाहरूमा उत्साह जगाएको बताए । ‘हामीले फेसबुकबाटै थाहा पायौँ यहाँ आन्दोलन भएको रहेछ । त्यो एकदम सही भएको छ । भ्रष्टाचारी नेताहरूलाई जे अहिले भएको छ, त्यो ठिक भएको छ,’ दशरथले भने ।
उनीहरूले अब हुने भनिएको चुनावमा युवाहरूलाई जिताउन लागिपर्ने बताए । ‘पुराना पार्टी र नेताहरूको काम छैन । अब बालेन आउनुपर्छ ।सबै युवाहरूले जित्नुपर्छ । म त गाउँमा गएर युवाहरूलाई मात्रै भोट हाल्नुपर्छ भन्ने हो,’ दिपेन्द्रले भने । नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैँ भित्रिएसँगै भारतमा रोजगारी गर्न गएकाहरू स्वदेश फर्किने क्रम तीव्र बनेको छ । बाँकेको जमुनाहा नाका हुँदै स्वदेश फर्किनेहरू दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म हुने गरेका इलाका प्रहरी कार्यालय जमुनाहाले जानकारी दिएको छ ।
नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिका अधिकांश युवाहरूको रोजगारीको प्रमुख गन्तव्यको रूपमा भारत रहेको छ । यसरी भारतका विभिन्न सहरहरूमा गएर विभिन्न प्रकृतिको मजदुरी गर्ने गदर्छन् । उनीहरूमध्ये अधिकांशले होटल, रेष्टुरामा काम गर्ने, चौकीदारी गर्ने, भारतको हिमाञ्चल, उत्तराखण्ड प्रदेशका विभिन्न भूभागमा गएर स्याउ टिप्नेदेखि भारी बोक्नेसम्मको काम गर्ने गर्दछन् । यसरी काम गर्न जानेहरू बालबालिकाहरू समेत छन् । कतिपयले रोजगारीमा सहज हुने भन्दै परिवारसमेत नै लगेर जाने गरेका छन् ।
भारत जाने नेपालीहरूमा प्रायः युवा पुस्ता नै रहेको छ । उनीहरू स्वदेशमा रोजगारीको अवसर नभएकोले भारत जानु बाध्यता रहेको बताउँछन् । भारत फर्केका दाङका गोपाल बुढाथोकी यतिखेर भारतमा रहेका युवाहरूमा सरकारले अब रोजगारीको ग्यारेन्टी गर्नुपर्ने बताइरहेका उल्लेख गरे । बुढाथोकीले भने, ‘देशका रोजागरी भएमा कसैलाई पनि भारत जान मन हुँदैन जस्तो लाग्छ । जेनजी आन्दोलपछि युवाहरूले अब भ्रष्टाचारको अन्त्य हुने आशा गरेका छन् । उनीहरू देशमै रोजगारी होस् भन्ने आशामा बसेका छन् जस्तो मलाई लाग्छ ।’
सल्यानको दार्माका ३० वषीय राजेश विक भारतको केदारनाथ मन्दिरमा दर्शनार्थीहरूलाई पिठ्युँमा बोकेर मन्दिर ल्याउने जैजाने काम गर्दा रहेछन् । करिब एक दशकदेखि उक्त काम गर्दैआएका उनले यस वर्ष राम्रो कमाइ नभएको बताए । ‘मान्छेहरू नै कम आए । कमाइ पनि राम्रो भएन । दसैँ मनाउनका लागि पनि खर्च पुग्ला कि नपुग्ला जस्तो छ । तर दसैँ त मनाउै प¥यो । त्यही भएर स्वदेश फर्किएँ,’ विकले भने । विकले नेपाली राजनीतिको विषयमा आफूलाई धेरै चासो नभएपनि पछिल्लोपटक जेनजीले गरेको आन्दोलनले खुसी लागेको बताए ।
विकको भनाइ छ, ‘कुरा मात्रै गर्ने, काम नगर्ने, युवाहरू सबै विदेश छन् । यस्तो बेला आन्दोलन भयो । ठिकै भयो । तर अब राजनीति सुध्रिनुपर्छ। युवाहरूलाई रोजगरीको ग्यारेन्टी गर्नुपर्छ ।’ विकका विचारमा अहिले युवाहरूले ठूलो रोजगारीको खोजी पनि गरेका छैनन् । ‘थोरै भएपनि नियमित कमाइ हुने रोजगारी स्वदेशमा हुन्थ्यो भने अर्काको देशमा गएर भारी बोक्न कसलाई रहर हुन्छ र ? २०–२५ हजार रूपैयाँ नियमित कमाइ हुने रोजगारी भएको भए म इण्डिया जान्थिनँ,’ उनले भने ।
रोल्पाका निधि थापा पञ्जावको भटिन्डामा होटलमा खाना बनाउने काम गर्छन् । उनले आफू करिब साढे चार वर्षपछि स्वेदेश फर्किएको बताए । यसपटक देशमा राजनीतिक उथलपुथल भएर अब देश सही बाटोमा जान्छ भन्ने आशा पलाएको उनको भनाइ छ । ‘देशमा अब परिवर्तन हुन्छ भन्ने आशा छ । अब जसले काम गर्न सक्छ उसैलाई भोट दिनुपर्छ,’ थापाले भने । तुलसीपुर दाङका सन्तोष श्रेष्ठ केही महिनाअघि भारतमा मजदुरीका लागि गएका थिए ।
उनले पनि नयाँ युवाले देश चलाउनुपर्ने बताए । ‘पुरानाले देश राम्ररी चलाउन सकेनन् । अब नयाँले देश चलाउनुपर्छ । अहिले जे भएको छ, राम्रो भएको छ । अब काम गर्नसक्ने मान्छेलाई भोट हाल्नुपर्छ,’ श्रेष्ठले भने । यसैबीच, प्रहरीले भारतबाट फर्किरहेकाहरू ठगीमा नपरुन् भनेर सीमा कटिसकेपछि चेकजाँच र सोधपुछ गरिरहेको जनाएको छ । जमुनाहा नाकामा सशस्त्र प्रहरीले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ भने नेपाल प्रहरीले पनि आगन्तुकहरूसँग सोधपुछ गर्ने काम गरिरहेको छ ।
कतिपय नेपालीहरूले प्रहरीले सामानहरू अनावश्यक चेकजाँच गर्दा झन्झट व्यहोर्नुपरेको बताए । नाकामा खटिएका एक प्रहरीहरूका अनुसार फाट्टफुट्टरूपमा रिक्सा चालकहरूले ठगेका गुनासा आउने गरेका छन् । केही दिनअघि त्यसो गर्ने केही रिक्सा चालकहरूलाई नियन्त्रणमा लिएर बढी लिएको भाडा फिर्ता गराइएको ती प्रहरीले बताए ।









प्रतिक्रिया दिनुहोस्