अनन्द भोगाइहरु



चरित्र शाह

त्यस दिन शशीराम धेरै हतारमा थिए । उनलाई नौ बजेभित्र काममा पुग्नु थियो । उनी छोरीहरूलाई फकाउँदै थिए । ‘नानी तिमीहरू मिलेर घरमा बस । म बेलुका फर्किँदा बिस्कुट ल्याइदिन्छु । ल, अब बाबा जानुस् भनेर बाई गर । माथि पुग्न एक घण्टा लाग्छ ।’  ‘नाइँ बाबा नाइँ । हामी एक्लै बस्दिनम् । हामी पनि सँगै जान्छम् ।’ छोरीहरूले रुँदै भने ।  ‘अब धेरै जिद्दी नगर । मलाई अबेर हुन लाग्यो ।’ शशीराम झर्किए जस्तो गरे ।
‘नाइँ हामी पनि सँगै जान्छम् ।’ छोरीहरू जिद्दी गरेर रुँदै पछि लागे ।  सधै आफ्नैे धुनमा खेल्थे, खान्थे तर आज के भयो ? शशीराम सोच्न थाले ।
‘आमा भित्र लिनुस् त यिनीहरूलाई ।’ शशीरामले आमालाई बोलाए ।    वैंश उमेर छउञ्जेल बाआमा चाहिएन घर पनि चाहिएन । सानैदेखि घर ल्याउने, बाजे बज्यै चिनाउने गरेको भए पो हुन्छ ।  कमाइ गर्न जहाँ गए पनि सके वर्षदिनमा नसके दुई तीन वर्षमा भए पनि बुढा बाआमा र घर सम्झेको भए ! म¥यो ज्यूँदो थाहा नदिएर बसिस् १५÷१६ वर्ष ।

म कसरी बाँचेहुँला त्यत्रा वर्ष ! कस्तो हुने रै’छ सन्तानको माया बाआमालाई । अहिले त बुझिस् ? आमा भनेर नजिकिने गरे पो माया लाग्छ । हामीलाई देखे भने टाढा टाढा भाग्छन् । जन्मेदेखि नै एउटै कोठामा थुनिएका वनकरहरूलाई कसले सम्हाल्न सक्छ १ यस्तै यस्तै भनेर कराउँदै थिइन् आमाले । शशीरामले चुपचाप शिर निहुराए, बोलून् पनि के ? बोल्ने पनि कुनै ठाउँ थिएन बरू आफ्नो अतीततिर फर्किए ।  समय र परिस्थितिले घर पुग्न नसके पनि हुलाकबाट एक दुईटा चिठी त पठाएको थिएँ । सञ्चै र’ैछस् भन्ने खबर पाइयो । खुसी लाग्यो भन्ने आमाको प्रतिउत्तर पनि आएकै हो ।  एक सालको कुरा, यसपालिको दशैंमा म घर जान्छु । बाआमा नभेटेको पनि वर्षाैं भइसक्यो । दशैं तिहार मानेर आउँछु । मैले अनुरोध गरेको थिएँ ।

‘हामीलाई पनि लिएर जाऊ ।’ तन्द्राले पनि घर जाने इच्छा देखाएकी थिई । पाँच दिन पैदल हिड्नुपर्छ । यहाँदेखि तीन दिन गाडीमा लाग्छ । तिमीहरू जान सक्दैनौ । मैले  अस्वीकार गरेको थिएँ । ‘त्यसो भए तिमी पनि नजाऊ ।’ तन्द्राले नजान जोड गरी ।  ‘आफ्नो घर जान पनि रोक्न खोज्ने ? के मलाई याद आउँदैन आफ्ना बाआमाको ?’ म रिसाए झैं गरें । ‘यदी फर्केनौं भने ? के भर लोग्ने मान्छेको ? एक त भमराको जात त्यसैमा यो बिरानो देशको अनौंठो सम्बन्ध ।’ उसले शङ्का ओकली, विश्वासमा औंला उठाई र प्रश्न गरी ।

‘केको छोरामान्छे र भमराको जात ? मेरी आमा पनि त छट्पटिएकी होलिन् मेरो सम्झनामा । म त नगई छोड्दैन । मेरो बाटो छेक्न नखोज ।’ यस्तै वादविवाद र जिद्दी गरेर एकपटक घर पुगेथें । महिना दिनमा पुनः फर्किएँ । छिटै सपरिवार फर्किन्छु भन्ने बाचा गरेर म हिडेँ । आमाले रुँदै भन्नु भएको थियो, नजा । तर मैले बिर्सिन सकिन हाम्रो प्रेमका मुनाहरू जो धर्तीमा झरेको भर्खर ५ महिना मात्र भएको थियो । राम्रो शिक्षाको आशामा, सन्तानको सुन्दर भविष्यको कल्पनामा हराएर मैले मातृभूमि बिर्सिएँ र मातृकाख पनि । बा बेलाबेला भन्नुहुन्छ, ‘तेरै कारण आमालाई चिन्ता रोग भएको ।’ मलाई पनि त्यस्तै लाग्छ । बाले भनेको साँचो नै हो । हेर्दा ठिकै हुनुहुन्छ । हट्टाकट्टा छ शरीर । दुख्नेसुख्ने छैन कुनै अङ्गमा । रिस भनेको के हो थाहा नभएकी मेरी आमा आजकाल शान्त हुनै नजान्ने र मिठो बोल्नै नसक्ने हुनुभएको छ । आमाको मनको शीतल झरना मसँगै कालापार पुगेछ  सायद । यस्तै यस्तै अतीतलाई सम्झिँदा सम्झिँदै शशीरामको मनमा ग्लानी छायो ।

आमाले बच्चीहरूलाई तान्दै भित्र लगिन् । शशीराम चुपचाप बाटो लागे ।  तर उनको मनमा स्मृतिका छालहरु उर्लिरहेका थिए ।  पन्ध्र वर्षको उमेरमा घर छोडेर कालापार गएँँँँ । सोह्र सत्र वर्ष कालापार मै बिताएँँ । सोह्र सत्र वर्षको अन्तरालमा एक पटक मात्र घर पुगेको हुँ । त्यतै रमाउन थालेँ । घरदेश बिर्सें । बाआमा बिर्सें ।  एक दिन तन्द्रा एकाएक बिरामी परिन् । अस्पतालमा भर्ना गरें । तर उनी फर्केर आइनन् । एउटी छोरी पाँच र एउटी सात वर्षकी छोरी छोडेर चीर निद्रामा परिन् । अस्पतालको डाक्टर दम्पती निसन्तान थिए । यी सन्तान मलाई देऊ म छोरी बनाउँछु । म जस्तै डाक्टर बनाउँछु भने । दिनदिनै आएर धेरै कर गर्न थाले । गरिब भएँ भनेर आफ्नो सन्तान बाँड्न कुन पिताको मनले मान्थ्यो ? मेरो गरिबी देखेर मेरा सन्तान नै माग्न खोज्ने यो शहर कस्तो हो ? म यस्तै सोच्न थालें । मैले मेरा पहाडका खेत र पाखा सम्झिएँ । बिस मुरी धान फल्ने खेत थियो । खाएर नसकिने मकै र गहुँ फल्थे । म जुन सपना देखेर यहाँ आएँ त्यो सपना मात्र भयो ।

घरदेश छोडें तर उपलब्धी एक गास भात र एकसरो लुगा । त्योभन्दा बढी केही छैन । अर्काको घरको नोक्कर भएर हड्डी घोटें, पसिना बगाएँ । उपलब्धी शून्य । जबसम्म तन्द्राको साथ थियो बाँच्ने र सङ्घर्ष गर्ने एउटा बलियो आधार थियो । म बाहिर मजदुरी गर्थें । ऊ घर र बच्चा सम्हाल्थी । म पनि निष्ठुरी त निष्ठुरी नै हो । तन्द्रा मेरो जीवनमा जोडिएदेखि मैले मेरो घर परिवार सबै बिर्से झैं गरेको थिएँ । तन्द्राले छोडेर गएदेखि छोरीलाई विद्यालय पठाउन सकिन । पेट पाल्नु मात्रै जीवनको उद्देश्य हो भनेँ । आमा कहिल्यै नउठ्ने गरी निदाई । मैले मेरी आमालाई सम्झिएँ। केही हदसम्म भए पनि आमाको माया पाउलान् भन्ने सोचेँ । मैले फर्किने निर्णय गरेँ ।

आमाले बिहानै उठेर बनाइदिएको खाजा । खाजा खाँदै किताब निकालेर पढ्न बसेको, आमाले बाटिदिएको दुई चुल्ठी, ती बच्चीहरू सम्झिन्छन् कि बिर्से ? कहिले काहीँ लाग्छ सम्झनालाई आँखामा नचाउँदै आँसु बनाएर बगाए झैं पनि । साना चिल्ला खुट्टा फाटेर चिराचिरा परेका, कपाल एउटै लटो बनेको, मैलो फ्रक लगाएका, यिनीहरूको रूपरङ हेर्दै मन भरिएर आउँछ ।  घर ल्याएको छ महिना मात्र भयो । आमाले छोडेको पनि सोह्र महिना भयो । समय र परिस्थितिले सबै परिवर्तन गरिदिँदो रहेछ सायद । म यहाँ आइपुग्दा शैक्षिक सत्र आधा भइसकेको थियो । छ महिना धूलो माटो र गाई बाख्रासँग खेलेरै बिताएँ । यहाँको परिवेशसँग भिज्न पनि सिक्दैछन् । समयले मान्छेलाई केके बनाउँछ ? केके खान दिन्छ ? थाहा छैन । समयले ती बच्चीलाई आमाको न्यानो काखबाट खोस्यो ।

माया ममता र स्नेहले भरिएको न्यानो मातृवात्सल्यबाट बञ्चित ग¥यो । केही समय किताब, कापी र विद्यालय खोसेर जङ्गल, भीरपाखा र गाईबाख्रा हात पारिदियो । जे भए पनि जसरी भए पनि रोएर पनि हाँसेर पनि ती बच्ची समयले दिएको कुरा स्वीकारी रहेका थिए र सबैले स्वीकार्नु पर्छ नै । स्वीकार्दैन भनेर कहाँ सुख छ र समयले भागमा परिसकेपछि । छोटो जीवनमा नचाहँदा नचाहँदै पनि निरन्तर भोगिरहे अनन्त भोगाइहरू । सायद नमरूञ्जेल भोगिरहनु पर्छ सबैलाई । त्यसरी नै भोगिरहने छन् उनीहरूले पनि । भोग्नुको अर्काे विकल्प भाग्नु त हो तर भाग्नु भनेको ज्यूँदै मर्नु हो । भाग्नु भन्दा भोग्नु नै राम्रो सोचेर जसरी तसरी टार्न खोजेका हुन् सययका परिकारहरूलाई । महाभारतको भीष्मको जस्तो इच्छा मृत्यु त अहिलेको मानवलाई कहाँ छ र ? जीवनमा कहिले प्रेम पाए त कहिले घृणा । कहिले आशीर्वाद त कहिले गाली ।

जे भए पनि जे खाए पनि जस्तो परे पनि बाँचेकै छन् । अझै बाँच्ने छन् । सबैलाई बाँच्नै पर्छ । अझै केके खानु पर्ने हो ? कसरी बाँच्नु पर्ने हो नमरूञ्जेल । भविष्य अनिश्चित छ । तर ती बच्चाहरूले दिमागमा भविष्यलाई भन्दा पनि अहिलेलाई राखेर हिडिरहेका छन् । यो समयले हिडाउँछ कुनकुन बाटो, कहाँकहाँ हिडाउँछ ? समयले जता हिडाउँछ ? यो जीवनको अनन्त यात्रामा कहिले उकाली कहिले ओराली गर्दै अनवरत पाइला त चालिरहनु पर्छ  नै । सोच्दा सोच्दै समय धेरै बितिसकेको थियो । शशीराम हिड्दा हिड्दा बाटो थाकिसक्यो । तलमाथि गर्दागर्दै त्यो परिवेश थाकिसक्यो तर उनी थाकेनन् । उनलाई बच्चाहरूसँग दिनभरि बस्न त मन नभएको कहाँ हो र ? तर जीवन जिउने क्रममा सोचेजस्तो र रोजेजस्तो भोगाइ त कहाँ हुन्छ र ? हातमुख जोर्नको लागि भए पनि हिडिरहनु त पर्छ नै ।

पापिनीले मलाई पासोमा पार्न जन्माएकी । यता मुन्टेऊ अलक्षिनाहा, हजुरआमाले हातबाट लतारिन् । हजुरआमाको रुखो बोलीले कटक्क बिझाउँछ उनीहरूलाई । बुझ्न? त सबै बुझे तर बोलेनन् ।  हातबाट फुत्किएर बाबाको बाटो पछ्याउँदै हिडे । शशीराम फर्किए । घर अगाडिको बेलौतीको रुखमा बाँधेर आफ्नो बाटो लागे । माथि डाँडामा पुगुञ्जेल रोदन सुनिन्थ्यो । शशीरामलाई ग्लानी छायो । मान्छेले जन्माएको भए मान्छे जस्ता हुन्थे । चुपलाग लठ्ठीले सोट्याम्ला भन्दै हजुरआमाले भीमलको घसेट्टो तानिन् ।

हजुरआमाले पनि कहिल्यै मिठो बोल्न नजान्ने । भन्न त भन्छन् साउँको भन्दा ब्याजको माया तर मेरी आमा यसको अपवाद हुनुभयो । सँगै नबसेर होला कि के होला ? शशीराम आफैलाई प्रश्न गर्छन् । आमाको ठाउँ पाउलान् भनेर त्यो शहरको सुख सुबिधा छोडेर आएँ । आई पासो भयो । विद्यालय जान एक घण्टा लाग्छ । कसले पु¥याउँछ दिनदिनै । समयमा खानपिन कसले गराउँछ ? पहाडको ठाउँ । आमालाई के भयो भयो ? पहिलेकी जस्ती आमा अहिले पटक्कैैे हुनुहुन्न । गोरु बुढो भयो भने भीर खोज्छ मान्छे बुढो भयो भने निहुँ खोज्छ भन्छन् । आमाको यस्तो ब्यवहार त्यही बुढ्यौलीको सङ्केत पनि हुन सक्छ ! या त उही बाले भने जस्तै चिन्तारोग !?

रुँदा रुँदा उनीहरूको घाँटी सुकिसकेको थियो । दिदी, नरो भन् न बहिनीले घिक्क घिक्क गर्दै भनी ।  किन नरो भन्ने ? दिदीले आँसु पुछ्दै सोधी। धौ भयो रुन । धेरै बेर त रुन पनि कति धौ हुनेरै’छ भन्दै सानीले फ्रक माथि फर्काएर आँसु पुछी । अँ बहिनी ठिकै भनिस् । नरो । रोएर के फाइदा ? जति रोए पनि बाबासँग जान पाएनम् क्यारे । भो अब नरुम् । हाम्री हजुरआमा त जति रोयो उति रिसाउनुहुन्छ भन्दै ठूलीले बहिनीका आँसु पुछिदिई ।

बिस्तारै उनीहरूको घिक्कघिक्क हरायो । आमा भोक लाग्यो डोरी खोल्दिनू । ठूलीले हजुरआमाको मुखतिर ताकी । अघि कस्तो गरेथ्यौ ? जति माया ग¥यो उति टाउको टेक्ने । खोलम्ला डोरी र खान दिम्ला तिमीहरूलाई भन्दै बुढीआमा डोको बोकेर बारीतिर लागिन् ।  बैशाख महिनाको चर्काे घाम । पानी प्यासले आकुलब्याकुल परेका साना नानीहरू गालामा टल्किने आँसुका थोपा चाट्दै दिन गुजार्न विवश थिए । दिउँसो एक बजेतिर हजुरआमा घाँसको डोको बोकेर घर आइन् । रुदारुँदै थाकेर निदाइसकेका थिए बच्चाहरू । डोको भुइँमा राखेर छिटोछिटो नातिनीहरूको डोरी फुकाइन् र भित्र ल्याएर सुताइन् । उनीहरूको लठ्ठ परी निदाएको निर्दाेष अनुहार हेरिन् । बच्चाको आमा नखोसेस्, बुढेकालको जोरा नखोसेस् भन्थे, साँच्चै रहेछ । अभागीहरू ! मनमनै भनिन् र लामो सुस्केरा हालिन् ।

आधा एक घण्टापछि उनीहरू ब्युँझिए । आमा भोक लाग्यो भने । मकैको आटो र गुन्द्रुकको झोल थालमा हालिदिइन् । टन्न पेटभरि खाए र खेल्न थाले । साँझ पर्दै गयो । बाबा आउने बाटोतिर हेरेर बस्न थाले । माथिबाट कोही छोरा मान्छे झर्दा पनि बाबा जस्तै मानेर बाबा भन्दै कराउँथे । जाऊ पँधेरामा गएर पानी ल्याएर आऊ । धेरै नकराऊ । हजुरआमाले दुईवटा होत्तर  हात लगाइन् । पधेरातिर गए र केही क्षणमा पानी ल्याएर आए । फेरि बाबा आउने बाटोतिर हेर्दै चिच्याइ रहे । वातावरण निस्तब्ध बन्दै गयो । चराचुरुङ्गी सबै आआफ्नो गुडमा बस्न थाले । कालरात्रीले डाँडापाखा छोप्दै थियो । दिदी हिँड बाबालाई खोज्न जाऔं । बहिनीले भनी ।

रात पर्न थाल्यो । डर लाग्छ, भयो जान हुन्न । दिदीले बहिनीलाई सम्झाई । ममीले जस्तै गरी बाबाले पनि छोडे पछि हामीलाई कसले माया गर्छ ? हिड जाउँ खोज्न ? दिदीबहिनी सुटुक्क घरबाट निस्किए र बाटोतिर लागे । पाँच दस मिनेटको बाटो हिडेर अलि पर पुगेका थिए । राँके भूत सम्झिए, हेरे भुत सम्झिए । बाघ सम्झिए । बहिनीले भनी, दिदी हेर उताबाट राँके भूत आउँदैछ । खोई ? कहाँबाट ? दिदी तर्सिदै सोधी ।
उ त । देखिनिस् ? उताबाट पहेलो बत्ती बालेर यतै आउँदैछ । सल्लाको दियालो बालेर हिड्दै गरेको बटुवातिर देखाई । दिदीले पनि देखी । दुबैको सातो गयो । बहिनीको हात समातेर दौडाई ।स्याँ स्या ँगर्दै घर पुगे  । छिटोछिटो घरभित्र पसे र कुनातिर गएर लुके ।

ए के गरेको त्यो ? किन लुक्यौ ? हजुरआमाले सोधिन् । बाबालाई खोज्न जान ला’को राँके भूत देखेर फर्र्र्किइम्, दिदीले भनी । बहिनी केही नबोलेर आँखा चिम्लेर कुनामा बसिरहेकी थिई । केको काल आउँछ अभागीलाई । अझै कति हण्डर ठक्कर खान लेखेको छ  । कति बाँच्नेस् लाग्ने रै’छ काल अघाएकालाई । हजुरआमाले आफ्नै शैलीमा भनिन् ।  कुनामा लुकिरहेकी बहिनी हजुरआमातिर आई र भनी, हजुरआमा काल भनेको के हो ? ह्या ! कति चाहिएको नानाबिखन्न । काल आएपछि मान्छे मर्छन् भन्ने बुझ । अनि आमा त्यसो भए हामीलाई बाघ भालुले र भूतले  खाँदैन हैन ? म भात खाएर अघाए जस्तै काल पनि हामीलाई देखेर अघायो ?

अँ अँ धेरै नबोल् । खाना खाऊ भन्दै आटोको थाल अगाडि सारिन् । हजुरआमाले बोल्न मन नभएको भाव देखाइन् ।  दिदीले मनमनै भनी, हामी बोलेपछि हजुरआमालाई किन झर्काे लाग्छ ? हामीलाई मन नै नपरेर हो कि ? यस्तै सोच्दै आटो खान थाले । त्यसैबेला बाहिर ढोकामा खत्र्याक्क ग¥यो । सानी बाबा भन्दै ढोकातिर गई । ढोकाबाट बिरालो घरभित्र पस्यो । यो ढाडे पो रै’छ बाबा आउनु भयो भनेको त । सानी निराश हुँदै फर्की र पुनः खान थाली ।

म पनि बाबा आउनु भयो भनेर आस्सेको । आश गर्न मात्र भयो । दिदीले पनि उतै हेरी । दुबैले आटो खाइसके । जाम चुठ्न भन्दै जुठेल्नातिर  लागे । हातमुख चुठेर दौड्दै आफ्नो ओछ्यानतिर गए । दिदी एउटा कुरा सोधम् ? बहिनीले भनी । सोध । दिदीले बहिनीलाई भनी । बिहान बाबा जाँदा किन रोयौ ? हिजो आमाले भनेको भुल्यौ र ? कस्तो भन्नु भाको ! के कुरा ? त्यही के जन्माउने एउटा ताप मलाई । पाल्न नसक्नेले त नजन्माए पनि त हुने । यस्तै के के भन्दै रिसाउनु भा’थ्यो त । आमाले भनेको मलाई पनि ठिकै लाग्यो । बैनी मलाई त हिजो ममीको बहुत याद आयो । ममीले बिहानै उठेर खाजा बनाइदिनु हुन्थ्यो । हामी खाजा खाएर किताब कपी समाएर पढ्न बस्थिम् । दुई चुल्ठी बाटेर स्कुलको ड्रेस लगाएर स्कुल जान्थिम् । हेर त बहिनी अहिले त हाम्रो कपाल एउटै लटो भएको छ । खान्नम् भन्दा पनि कर गरीगरी खाना खुवाउनु हुन्थ्यो । अब त को भन्छ खाऊ ? खाए पनि आफै नखाए पनि आफै । स्कुल पनि टाढा छ रे । जान एक घण्टा लाग्छ रे ।

अब अर्काे वर्षबाट पढ्न जाने भन्नु भा’को । अब त दुई महिना मात्र बाँकी छ रे नयाँ भर्ना हुने । मलाई  त छिटै बैशाख आए हुन्थ्यो जस्तो भा’छ  ।
अँ दिदी मलाई पनि त्यस्तै लाग्छ । बाबाभन्दा त ममीले नै माया गर्नु हुँदोरहेछ । दिनभर जहाँ गए पनि साँझ नपर्दै घर आइपुग्नु हुन्थ्यो तर बाबा त अझैसम्म आउनु भएन । हिजो अस्ति त  राति भए पनि आइहाल्नु हुन्थ्यो । काँ जानु भयो  होला आज ? मलाई त बहुत चिन्ता पनि लाइरा’छ । कतै राँके भूतले त भेटेन ? दिदीले चिन्तित स्वरमा भनी । दिदी भूतको कुरा नगर न, मलाई डर लाग्छ । बहिनी दिदीतिर टाँसिदै बिस्तारै बोली ।
त्यतिबेलासम्म रात धेरै बितिसकेको थियो । बाहिर आँटीमा कोही टकटक गर्दै हिडेको आवाज आयो । भूतभूत भन्दै  दिदीबहिनी गुजुल्टिएर घोप्टो परे र केही क्षणमा  निदाए ।

कुखुरी काँ गर्दै भाले बास्यो । भालेको डाँकोले दिदीलाई ब्यँुझायो । दिदीले बहिनीलाई हेरी । बहिनी निदाइरहेकी थिई । झ्यालबाट बाहिर हेरी। रात सकिएको थिएन । बाबाको ओछ्यानतिर हेरी ।  ओछ्यान खाली थियो ।  बहिनी उठ्  भन्दै बहिनीलाई हल्लाई । बहिनीले आँखा मिच्दै उज्याले भयो र भन्दै उठी । उज्यालो त भा’छैन तर हजुरआमाले भन्नु हुन्थ्यो त भाले बासेपछि भूतप्रेत भाग्छन् भनेर । भाले बासेपछि छिटै उज्यालो पनि भइहाल्छ । हजुरआमा पनि उठिसक्नु भयो । उठ् जाम् बाबालाई खोज्न । ल ल भन्दै बहिनी पनि जान तयार भई । दुबै दिदीबहिनी मिर्मिरे नहुँदै बाहिर निस्किए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ४ गते शनिबार