बालेनले भने– महानगर प्रहरीको काम हेर्दा हलिउड फिल्म हेरेजस्तै लाग्छ



काठमाडौं ।

मेयर बालेन शाहले महानगर प्रहरीको काम हेर्दा हलिउड फिल्म हेरेजस्तै लाग्ने टिप्पणी गरेका छन् । आज ३३औँ महानगर प्रहरी दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘सानोमा हुँदा एउट रमाइलो कुरा याद आउँछ, हामीले हलिउड फिल्म हेर्दाखेरि त्यसमा न्युयोर्क सिटी पुलिसको काम कारबाहीहरू हेर्दाखेरि लाग्थ्यो काठमाडौंलगायत देशका विभिन्न पालिकाहरूमा सिटी पुलिस कस्तो हुनुपर्छ भन्ने कुराहरू सिनेमामा मात्रै हेर्न पाइन्थ्यो पहिला र अचेलचाहिँ तपाईंहरूको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो पनि लाग्छ । त्योचाहिँ खुसीको कुरा हो ।’

शाहले महानगर प्रहरी काठमाडौंको पहिचानको रुपमा स्थापित भएको बताए । काठमाडौं महानगर प्रहरीको योगदान अरु पालिकाहरूका लागि पनि एउटा सिकाइको रुपमा रहने उनको भनाइ छ ।

त्यस्तै, मेयर शाहले सार्वजनिक सम्पत्ति संरक्षण र अतिक्रमण हटाउनेदेखि लिएर काठमाडौं महानगरपालिकामा सुशासन, सुव्यवस्था र सुअनुगमन गर्ने काममा महानगर प्रहरीको उल्लेखनीय योगदान रहेको बताए । उनले आगामी दिनमा अन्य सुरक्षा निकाय र कर्मचारीसँग सहकार्य गरी नियमलाई थप कडाइ गर्न समेत निर्देशन दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार