नेपालगन्ज ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव (विप्लव सी) ले चन्दा असुलेर पार्टी चलाउनु घिनलाग्दो काम भएको बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले उत्पादनमूलक व्यवसायका विषयमा आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले कुनैपनि पार्टी चन्दा मागेर चल्नु र भ्रष्टाचार गर्नु उस्तै प्रवृत्ति भएको बताए ।
‘आफू काम नगर्ने, व्यापारीसँग गएर चन्दा असुल्ने । यस्तो प्रवृत्ति ठिक होइन भन्ने लागेपछि हामीले उत्पादनमूलक काममा पार्टीलाई जोडेका हौँ । अहिले कमसेकम पार्टी चलाउन हामीलाई पैसाको समस्या छैन ।’
विप्लवले सबैजसो राजनीतिक दलका सबैजसो नेताहरू दलाली र भ्रष्टाचारमा मुछिएको भन्दै त्यसको पछाडि उत्पादनमूलक संस्कृतिलाई राजनीतिक दलहरूले अपनाउन नसक्नु कारण रहेको बताए । उनले नेकपाले अहिले देशका विभिन्न स्थानमा कृषिमा आधारित उत्पादमूलक कर्ममा कार्यकर्ताहरूलाई जोडिरहेको र अर्काे चरणमा कृषिमा आधारित उद्योग सञ्चालनको तयारीमा रहेको बताए । पहिले पार्टीको माध्यमबाट उदाहरण दिएर त्यसपछि जनताहरूलाई पनि उत्पादनमा जोडिन आह्वान गरिने उनको भनाइ छ । उनले नेतृत्व गर्छु भन्नेहरूले उदाहरण दिएमात्रै जनताले त्यसलाई अवलम्वन गर्ने बताए ।
विप्लवले अबको राजनीतिको मुख्य लक्ष्य आर्थिक समस्या समाधान हुनुपर्ने बताएका छन् । राजनीतिक परिवर्तनले आर्थिक परिवर्तन गर्ला भन्ने आशा गरिएपनि निराशामा परिणत हुँदै गएको उनको भनाइ छ । युवाहरूको उदेकलाग्दो विदेश पलायलनले देशमा सबै क्षेत्रमा निराशा पैदा गरिरहेको बताउँदै युवाहरूलाई देशमा टिकाउन भाषण मात्रै गरेर नहुने पनि विप्लवले बताए ।
अहिले देशको सबै समस्याको जड आर्थिक समस्याका जोडिएको बताउँदै विप्लवले सबै राजनीतिक दलहरूबीच आर्थिक एजेण्डामा एकमत हुनुपर्ने बताए । ‘जनताले एकातिर सोच्ने, पार्टीले अर्कैतिर सोच्ने, कार्यकर्ताले अर्कैतिर सोच्ने, सरकारले अर्काेतिर सोच्ने गरेर अहिलेको समस्याको समाधान हुँदैन । कमसेकम उत्पादनमूलक संस्कृतिका विषयमा साझा बुझाइ हुनुपर्छ । हामी त्यसमा लागिरहेका छौँ,’ विप्लवले भने ।









प्रतिक्रिया दिनुहोस्