नख्खु कारागारको ‘सीआरसी’ ब्लकमा रवि



काठमाडौँ ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार ल्याइएको छ । शनिबार भैरहवा कारागारबाट काठमाडौँ ल्याइएका उनलाई विगतमा रौतहट विस्फोट काण्डका आरोपी पूर्वमन्त्री अफताब आलमलाई राखिएकै ‘सीआरसी’ ब्लकमा राखिएको छ ।

उनलाई अरू कैदीबन्दी राखेकै ब्लकमा राखिएको जेलर भीमराज कोइरालाले जानकारी दिए । ‘उहाँलाई अरू साथीहरू जसरी बसेका छन्, त्यसरी नै राखिएको छ। ढिलो पनि भयो, राति भयो छुट्टै ब्लकमा राखिएको छैन,’ उनले भने, ‘अहिलेलाई मिलेर बस्न भनेका छौँ ।’ उनलाई सिआरसी ब्लकमा राखिएको जेलर कोइरालाले बताए । उनका अनुसार त्यहाँ ४२२ कैदीबन्दी छन् ।

लामिछानेलाई काठमाडौँ ल्याइने खबर पाएलगत्तै शनिबार दिउँसैदेखि रास्वपाका नेता–कार्यकर्ता र समर्थकहरू नख्खु कारागारबाहिर जम्मा भएका थिए । उनलाई कारागारभित्र लगिएपछि उनीहरूले नाराबाजी गरेका थिए । भीडलाई नियन्त्रणमा राख्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले जेठ १४ गते नै कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले अनुमति दिएको करिब ४० दिनपछि मात्र उनलाई स्थानान्तरण गर्ने निर्णय गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १ गते आइतबार