विधेयकमा रहेका विभिन्न त्रुटि सच्याउने माग गर्दै निजी विद्यालय सञ्चालकहरूका संगठन प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सोही केन्द्रीय कार्यक्रमअन्तर्गत बिहीबार बाँकेसहित देशभरका स्थानीय तहहरूलाई प्याब्सन र एन प्याब्सनले ज्ञापनपत्र बुझाएका थिए ।
कोहलपुर (बाँके) ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकमा देशभरका निजी विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन् । शिक्षा विधेयकमा निजी विद्यालयको प्रतिकूल हुनेगरी व्यवस्था गरिएको भन्दै निजी विद्यालयहरूले असन्तुष्टि जनाएका हुन् । विधेयकमा रहेका विभिन्न त्रुटि सच्याउने माग गर्दै निजी विद्यालय सञ्चालकहरूका संगठन प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
साउन २७ गते बसेको प्याब्सन र एन प्याब्सन र सरोकारवालाहरूको संयुक्त बैठकले केन्द्रीय प्याब्सनमातहत प्रदेश÷जिल्ला तथा पालिकास्तरसम्मै सरोकारवाला निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारी र एन प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा बैठकद्वारा हप्ताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरिएको उल्लेख छ । निजी विद्यालयले विधेयकमा समावेश चारवटा विषय सच्याउनुपर्ने आफूहरूको माग भएको बताएका छन् ।
विधेयकमा समावेश गरिएको ‘निजी विद्यालयहरूलाई क्रमशः गैरनाफामूलक बनाइनेछ भन्ने वाक्यांश हटाइनुपर्ने, पूर्णछात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने,’ उनीहरूको माग छ । यस्तै, हालसम्म अभ्यासमा रहेको विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने र छात्रवृत्तिअन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्क कायम हुनुपर्ने संगठनको मुख्य माग रहेको रहेको छ ।
प्रतिनिधि सभाबाट पारित हुन बाँकी रहेको विधयेकमा आफूहरूले वर्षौँदेखि शिक्षा ऐन संशोधन, निजी लगानीमा सञ्चालन गरिएका शैक्षिक संस्थाहरूलाई व्यवस्थित, मर्यादित र लगानीको सुरक्षाको बारेमा आवाज उठाउँदै सुझावहरूलाई बेवास्ता गरिएको भन्दै विधेयक सोहीअनुसार अघि बढेमा निजी विद्यालय धरासायी हुने अवस्था रहेको बताइएको छ । यस्तो व्यवस्थाले देशको शैक्षिक क्षेत्र मात्रै नभएर देशकै अर्थतन्त्रमा समेत गम्भीर धक्का पुग्ने प्याब्सनका अध्यक्ष अधिकारीले बताए ।
उनले निजी विद्यालयहरूलाई राष्ट्रियकरण गर्ने बाटो खुला हुँदाहुँदै राज्यका कानुन निर्माण गर्ने व्यक्तिहरूबाट संविधानको सम्पूर्ण कार्यान्वयन निजी क्षेत्रले गर्ने हो भन्ने गलत भाष्य निर्माण गरी, राज्यले गर्न नसक्ने काम निजी क्षेत्रबाट प्रवाह गर्न लगाउन खोज्नु अव्यवहारिक र राज्यलाई अनुत्तरदायी बनाउने प्रयास मात्रै भएको उनको भनाइ छ । असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका हुन ।
यस्तै केन्द्रीय कार्यक्रमअन्तर्गत बिहीबार बाँकेसहित देशभरका स्थानीय तहहरूलाई प्याब्सन र एन प्याब्सनले ज्ञापनपत्र बुझाएका छन् । प्याब्सन र एन प्याब्सनले कुनै पालिकामा एकल र कुनै पालिकामा संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।
आन्दोलनका चरणबद्ध कार्यक्रम बिहीबार पालिकास्तरका प्रमुख÷शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । सोहीअनुसार प्याब्सन कोहलपुरले कोहलपुर नगरपालिकाका कार्यबाहक नगरप्रमुख संगीता सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ । कोहलपुर नगरका अध्यक्ष रमेश खत्री र सचिव मित्रलाल ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षा विधेयकमा रहेका त्रुटि नसच्याए सशक्त आन्दोलन गरिने चेतावनी दिइएको छ । प्याब्सन कोहलपुरका अध्यक्ष खत्रीले संगठनको केन्द्रीय कार्यक्रमअन्तर्गत कोहलपुर नगरपालिकामा ज्ञापनपत्र बुझाइएको जानकारी दिए । यस्तै बैजनाथ गाउँपालिकामा समेत प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।
प्याब्सन बैजनाथका संयोजक ठगीराम दमाई र एन प्याब्सन बैजनाथका संयोजक कमानसिंह थापाद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्ति गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीलाई बुझाइएको हो । यस्तै संगठनहरूले जिल्लाका ६ वटा स्थानीय तहलाई ज्ञापनपत्र बुझाएका हुन् । बाँकेका राप्ती सोनारी र नरैनापुर र प्याब्सन र एन प्याब्सनका संगठन छैनन् । केन्द्रीय कार्यक्रमअन्तर्गत शुक्रबार जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई पनि ज्ञापनपत्र बुझाइने कार्यक्रम तय छ ।
यस्तै, भदौ २ गते आफ्नो क्षेत्रका सांसदहरूलाई ज्ञापनपत्र बुझाउने र सुझाव संकलनका लिग राष्ट्रिय परिषद्को भर्चुअल बैठक गर्ने निर्णय प्याब्सन र एन प्याब्सनले गरेका छन् । भदौ ३ गते पालिका, ४ गते जिल्ला, ५ गते प्रदेशस्तरीय आन्दोलन तयारी बैठक गर्ने र ६–७ गते केन्द्र र प्रदेशस्तरमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम राखिएको छ ।









प्रतिक्रिया दिनुहोस्