नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा मलखादको माग गर्दै सडक प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी नेपालको समाजवादी किसान महासंघ नेपाल लुम्बिनी प्रदेश कार्यसमितिको आयोजनामा मलखादको व्यवस्थापनको लागि विरोध तथा धर्ना कार्यक्रम गरिएको हो । नेपालगन्जको विपी चोकबाट सुरु भएको प्रदर्शन त्रिभुवन चोक हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्नामा परिणत भएको थियो ।
त्यसक्रममा प्रदर्शनमा सहभागिहरूले किसानहरूको समस्या समाधन गर, मलखादको तस्करी बन्द गर, ओली सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए । जिल्ला प्रशासन कार्यालयको गेटमा बसेर प्रदर्शनकारीहरूले धर्नासमेत दिएका थिए । प्रदर्शनकारीहरूले सरकारले किसानलाई रहेक वर्ष मलखाद समयमै दिने भनेर आश्वासन दिने तर धोका दिने गरेको भन्दै आक्रोश पोखेका थिए ।
समाजवादी किसान महासंघ नेपाल लुम्बिनी प्रदेशले किसानहरूलाई मलको व्यवस्था गर्नुपर्ने मागसहित जिल्ला प्रशाशन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा जसपाका नेता, कार्यकर्ता, जनप्रतिनिधिले जिल्ला प्रशाशन कार्यालयको गेटमा बसेर धर्ना दिएका थिए । उनीहरूले किसानलाई समयमै मल बीउ उपलब्ध गराउन नसक्ने लाचार सरकार बताउँदै नाराबाजी पनि गरेका थिए ।
किसानहरूले यसवर्ष पनि युरिया मल समयमा नपाइएको, बोर्डरमा बस्ने किसानहरूले छिमेकी देश भारतबाट ल्याएको २, ४ किलो मल पनि प्रशासनले नेपाल भित्राउन नदिने गरेको किसानहरूले गुनासो पोखेका थिए ।
स्थानीयस्तरमा आइपुगेको मल पनि आफ्ना मानिसहरू, पहुँचमा भएकालाई वितरण भइरहेको धर्नापछि बोल्ने वक्ताहरूले आरोप लगाए । उक्त प्रदर्शन तथा धर्नामा सहभागी लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले भारतबाट मल ल्याउने किसानलाई नरोक्न चेतावनी दिइन् । उनले सरकारले समयमा मल पनि नदिने र भारतबाट किसानले आफैँ जोहो गरेर ल्याउँदा पनि रोक्नु अन्याय भएको तर्क गरिन् ।
प्रदर्शनमा सहभागी किसानहरूले बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद धवलसम्शेर राणाले बाँकेमै मल कारखाना खोल्ने भनेर आश्वासन दिएको तर किसानलाई समस्या पर्दा मौन बसेको आरोप पनि लगाएका थिए ।









प्रतिक्रिया दिनुहोस्