सेङलेङ चिया बगानमा गोडमेल



गोपालप्रसाद भट्टराई । अर्घाखाँची ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चियाबगानमा गोडमेल गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । दिवसको अवसरमा भूमिकास्थान नगरपालिकास्तरीय युवा सञ्जालको आयोजनामा सेङलेङमा रहेको अर्घाखाँचीकै एकमात्र चिया बगैँचा गोडमेल गरिएको हो ।

देउराली–लालिगुराँस सामुदायिक वनको करिब २० रोपनी क्षेत्रफलमा लगाइएका २१ हजार थान चियाको बोट रहेको बगैँचामा उम्रिएका झारपात गोडमेल र बिरुवामा उकेरा लगाउने कार्य गरिएको युवा सञ्जालका अध्यक्ष टेकराज भुसालले जानकारी दिए । सो अवसरमा भूमिकास्थान नगर प्रमुख झविलाल थापाले भूमिकास्थानलाई कृषि पर्यटन क्षेत्रका रूपमा विकास गर्न सकिने बताए ।

प्राकृतिक र धार्मिक पर्यटकसँगै कृषि पर्यटनको प्रचुर सम्भावना रहेको समेत उनको भनाइ थियो । व्यवसायिक कृषि, पर्यटन, उत्पादन र व्यापार नै भूमिकास्थानको समृद्धिका आधार भएकाले कृषि पर्यटनको सुनौलो अवसर रहेको नगर प्रमुख थापाले बताए ।

भूमिकास्थानले युवाहरूलाई रोजगारी र सबै नागरिकलाई उत्पादनमा जोड्न कर्मशील जनशक्ति परिचालन कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताउँदै उनले युवाहरू सकारात्मक सोचका साथ उत्पादन र श्रममा लागे मात्रै भूमिकास्थानको समृद्धि हुने उनले बताए ।

प्रसिद्ध सुपा देउराली मन्दिर आउने पर्यटकलाई सेङलेङ ल्याएर होमस्टेमा बास बसाल्न, मसिनाको लेक, पाथिभरा मन्दिर, सेङलेङ दह र चिया बगान अवलोकन गराउने, अर्काे दिन मृगस्थली झरना, शिद्धगुफा अवलोकन गराउँदै भूमिकास्थान मन्दिरसम्म पु¥याएर स्वर्गद्वारी पठाउने योजना रहेको उनले सुनाए । युवा दिवसका अवसरमा रचनात्मक र परिणाममुखी काम गर्न आफ्नो वडालाई रोजेको भन्दै वडा नम्बर १० का अध्यक्ष खगिश्वर पन्थीले धन्यवादसमेत दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार