बाह्य जिल्लाबाट कामदार ल्याउनुपर्ने बाध्यता



हुम्ला ।

जिल्लाका युुवाहरू बेरोजगार बस्ने तर विकास निर्माणका काममा मजदुरी गर्न लाजमान्ने चलनले बाह्य जिल्लाबाट कामदार ल्याउनुपर्ने बाध्यता बढेको छ । पछिल्लो समय हुम्लामा विकास निर्माणका कामका लागि जिल्ला बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्था आएको हो । काम नपाएर बेरोजगार छुु भन्ने युवाहरू नै जिल्लामा हुने विकास निर्माण कार्यमा काम गर्न लाज मान्ने गर्दछन् भने काम गरिहालेको खण्डमा पनि काम ठग्ने प्रवृत्तिका कारण निर्माण व्यवसायीले बाह्य जिल्लाबाट कामदार ल्याउन थालेका छन् ।

कामदार खोज्दा नपाउने र पाएपनि इमान्दारीपूर्वक काम नगर्ने पाएपछि बर्दिया जिल्लाबाट ३५ जना कामदार ल्याउनुपरेको पानस निर्माण सेवाका सरोज रावतले बताए । उनका अनुसार सडक निर्माणका लागि नाला, प्लम्व वाल, कल्भर्ट र सडक सम्याउने, ग्याविन निर्माण गर्ने कार्यका लागि सबै कामदार बाहिर जिल्लाबाट ल्याइएको हो । च्याछरादेखि आँसीकान्नासम्मको सडक निर्माण गर्दै आएका ओसिस इन्जिनीयरिङ एण्ड ब्वील्डर प्रालिका प्रतिनिधि हरि बोगटीले चाहाना हुँदैहुँदै पनि स्थानीयलाई काम दिनसक्ने अवस्था नरहेको बताए ।

सल्यान, दैलेख, कालिकोट र जुम्लाबाट ७० जना कामदार ल्याएर काम गरिरहेको उनको भनाइ छ । उनका अनुसार बरु स्थानीयवासी चीनको ताक्लाकोट गएर काम गर्न चाहान्छन् । तर आफ्नै जिल्लामा पाएको काममा रुचि देखाउँदैनन् । जसले गर्दा विकास निर्माणका कामका लागि कामदार बाहिर जिल्लाबाट ल्याउनुुपर्ने बाध्यता रहेको उनी बताउँछन् । कामको गुणस्तर कायम गर्नका लागि पनि स्थानीय दक्ष कामदार पाउन मुुस्किल छ ।

उनले भने, ‘दक्ष कामदारहरू पाल्पा, गुल्मी लगायतका जिल्लाबाट पनि खोजेर ल्याएका छौँ । यहाँको बोक्चे र भिगौडा सडक स्तरोन्नति गर्ने कार्यमा चट्टान विष्फोट गर्न मुगु, कालिकोट र बाजुराका कामदार लागिपरेका छन् ।’ सबै काम स्थानीयले गरेर रोजगार बनुन् भन्ने उद्देशय भएपनि स्थानीयले काममा रुचि नदेखाएको सडक निर्माण गरीरहेको नेपाली सेनाले जनाएको छ । निर्माण व्यवसायी संघका सचिव ओपेन लामाले जिल्ला बाहिरबाट कामदार ल्याएर काम गराउनुपरेको बताए ।

उनका अनुसार हाल हुुम्लामा सबै किसिमका विकास निर्माणका काममा करिब ५०० जनाभन्दा बढी कामदार बाह्य जिल्लाबाट आएर काम गरीरहेका छन् । ‘यी कामदारहरूले आफ्नो कामको सीप हेरेर एक हजारदेखि दुई हजार रूपैयाँँ दैनिक पारिश्रमिक पाइरहेका छन्,’ उनले भने, ‘स्थानीय युवाहरूले काम गरेको भए रोजगारी पनि जिल्लामै हुन्थ्यो । पैसा कमाइ पनि हुुन्थ्यो । जिल्लाबाहिरबाट आएका कामदारले लिमीको लाप्चा, हिल्सा, सिमकोट लगायतका स्थानमा गएर काम गर्न पनि नाइनास्ती गर्नु भएको छैन् ।’

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार