वीरेन्द्रनगर ।
वीरेन्द्रनगर–१ त्रिपुरेश्वर शिव मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । ५२औँ भूसंरक्षण दिवसको अवसर पारेर दशनामी समाजको आयोजनामा वृक्षारोपण गरिएको हो । सधि, धुपी, कल्ली, सनिसान, रजवृक्ष, रिठ्ठा, पारीजातलगायतका करिब ८० प्रजातिका बिरुवाहरू रोपण गरिएको दशनामी समाज अध्यक्ष वेलभद्र पुरीले जानकारी दिए ।
मन्दिर परिसरमा हुने भक्तजनको भिडलाई मध्यनजर गरी वृक्षले कार्वन भण्डारणदेखि भूसंरक्षणसम्मका कार्यहरू गर्ने भएकाले वृक्षारोपण गरिएको उनले बताए । त्रिपुरेश्वर धाम शिव मन्दीर व्यवस्थापन समिति वीरेन्द्रनगर–१ का अध्यक्ष वेलमाया गिरीले वृक्षारोपण कार्यले प्रकृति र मानव दुुवैलाई सेवा हुने बताइन् । वृक्षारोपण गर्नुु भनेको प्रकृतिबाट मानवमा हुने क्षति कम गर्नुु रहेको उनको भनाइ छ ।
मानव र वृक्षबीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ रहेको उद्योग पर्यटन, वन तथा मन्त्रालयका निमित्त सचिव रमेशकुमार गिरीले बताए । प्राचीनकालदेखि नै वृक्षले मानव र मानवले वृक्षको संरक्षण गर्दै आएको उनले उल्लेख गरे । जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष अनिवार्य चाहिने उनको भनाइ छ ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले पछिल्लो समय वन संरक्षण कार्य तीव्र पारिएपनि आगलागी जस्ता घटनाले समस्या पारेको बताए । वन संरक्षण र वृक्षारोपण कार्यलाई व्यापक पार्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लास जलाउन यही दाउराको आवश्यकता पर्छ । त्यसैले पनि मानवले वृक्षको संरक्षण गर्नुुपर्छ भने बाँचुन्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्ने भएकाले वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।’
पर्यावरण संरक्षणका लागि दिवसका दिन मात्र नभएर अन्य जुनसुकै समयमा पनि वृक्षारोपण गर्नुपर्नेमा उनले जोड दिए । पछिल्लो समय मानव जातिको महत्वकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण मुुख्य चुनौती बन्दै गएको विज्ञहरू बताउँछन् ।
स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन पनि वन संरक्षण र वृक्षारोपण जरुरी छ । जलवायुजन्यको समस्या र हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण आवश्यक छ भने सबै निकायले वनजंगलको संरक्षण, संवद्र्धन र वन विकासमा जोड दिन जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्