उत्तराखण्ड बाढीमा हराइरहेका १३ नेपालीको उद्धार



बाँके ।

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको शीरगंगा नदीमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय अधिकारीहरूले १३ जना नेपालीको उद्धार भएको जानकारी गराएका हुन् ।

उद्धार गरिएकाहरूमा बीरेन्द्र कामु, प्रशंसा शाह, कोमल शाह, रमन शाह (श्रीमान्, श्रीमती र छोरा), दिनेश र गंगा (श्रीमान् र श्रीमती), सूर्य शाही, प्रविण सिंह, नवराज बोहोरा, गणेशबहादुर शाही, राज बहादुर शाही, दिपेन्द्र शाही र नरेन्द्र शाही रहेका छन् ।

उद्धार भएकाहरूमध्ये तीन जना हिरद्वार जाँदै गरेको र अन्य उतै बस्ने गरेका थिए । गत बुधबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन्, ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

सो बाढीमा परेर कम्तीमा २२ नेपाली सम्पर्कविहीन भएका थिए । त्यहाँ खोजी कार्य जारी रहेको भारतीय मिडियाहरूले जनाएका छन् । सम्पर्कविहीन हुने नेपाली मजदुरहरूमा बर्दिया, जाजरकोट, जुम्ला लगायतका जिल्लाका रहेका छन् । तीमध्ये बर्दिया मधुवन नगरपालिकाका एकै परिवारका तीन सदस्यसहित पाँचजना सम्पर्कविहीन भएको बताएको छ ।

जाजरकोट कुशे गाउँपालिकाका अध्यध्यक्ष हरिश्चद्र बस्नेतले आफ्नो पालिकाका १३ बढी नागरिक सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको जानकारी दिए । उनीहरूको अवस्था हालसम्म पनि पत्ता नलागेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले जिल्लाका विभिन्न क्षेत्रबाट बाढीपहिरोमा परी सम्पर्कविहीन भएको भन्ने सूचना प्राप्त भएको बताएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत समिर गौतमले हालसम्म कुशेसहित जुनीचाँदे गाउँपालिकाका समेत केही नागरिक सम्पर्कविहीन भएको भन्ने खबर आएको जानकारी दिए । उनका अनुसार कार्यालयले जिल्लाभरका स्थानीय तहहरूलाई पत्र नै लेखेर वितरण पठाउन माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हालसम्म मधुवनका पाँचजना सम्पर्कविहीन भएको जानकारी आएको जानकारी दिए । जिल्लाका अन्य पालिकाका नागरिकसमेत सम्पर्कविहीन भएको भए खबर गर्न र वितरण दिन आग्रह गरिएको उनको भनाइ छ ।

उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो । यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूपश्चिम र कर्णाली प्रदेशका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २५ गते आइतबार