सहरमा सबै कुराहरू महंगो र पैसा मात्रै चाहिने । पढ्छु भनेर आएको तर, सफल भइएन के । त्यतिखेर आफूसँग पैसा नहुँदा कतिदिन चाउचाउ खाएर सुतेको छु । कहिले भोकभोकै पनि सुतेँ । कसैलाई चिनेको थिइनँ त्यसैले माग्न पनि सकिएन ।
म जनक जैशी । २२ वर्षको भएँ । मेरो घर अछाम जिल्ला तुर्माखाँद गाउँपालिका–५ हो । मैले तेस्रो सन्तानको रूपमा जन्म लिएँ। अछाम जिल्लाको विकट गाउँमा मेरो बाल्यकाल बित्यो । परिवारको अवस्था एकदमै नाजुक थियो । आमा र बाबा कृषि पेशा गर्नुहुन्थ्यो । वर्षभर खेतीपाती गरेपनि खान लगाउन परिवारमा समस्या हुने गथ्र्याे । गाउँमा हाम्रो बाल्यकाल पनि खासै राम्रो थिएन । विद्यालय जान र किताब कापी किन्ने पैसा हुन्थेन ।
त्यतिखेर साह्रै गाह्रो थियो । गाई, बाख्रा र भँैसीहरू पालेका थियौँ । उनीहरूको लागि घाँस काट्न जानुपथ्र्याे । घाँस काटेर आउँदा स्कुल जान ढिलो हुन्थ्यो । घरमा धेरै समस्या हुँदा मैले कक्षा–८ पढ्दापढ्दै पढ्न छाड्नु प¥यो । कहिले पैसा नहुने । कहिले घाँस दाउरा काट्न जंगल जानु पर्ने । त्यतिबेला स्कुल जान भ्याउँदैन थिएँ । गाउँको एक जना भतिजोले मलाई फोन ग¥यो । मलाई काकु म इन्डिया जान लाछु जाने हो ? भनेर सोध्यो । मलाई इन्डिया गएर पैसा कमाइ हुन्छ त्यसले खर्चपर्च चल्छ भन्यो । मसँग गाडीभाडा पैसा पनि छैन् मलाई थाहा छैन् भनेर भनेँ । मलाई गाडीभाडा उसैले हालिदियो उसँगै भागेर इन्डिया गएँ ।
दुईचार महिना इन्डिया गएर कमाइ ल्याएर पढ्ने सोँचले गएको थिएँ । एक महिना मात्र बसेँ । पछि काम गरेर उसले मलाई हाल्दिएको भाडा फिर्ता गरेँ । त्यहाँ जाँदा नयाँ ठाउँ । बिराना मान्छे । हिन्दी बोल्न नआउने र बोलेको पनि नबुझिने गर्दा समस्या भयो । काम चाहिँ राम्रो नै पाएको थिएँ । मेडिकलको औषधि सप्लाइ गर्थेँ । त्यो काम नछाडेको भए हुन्थ्यो भन्ने अहिले महसुस भइरहेको छ । त्यतिखेर महिनाको ५ हजार आइसी तलब थियो । एक महिना पुगेपछि ५ हजार पाउँदा एकदम खुसी लाग्यो । मेरो जीवनको पहिलो कमाइ थियो ।
कहिले त्यत्रो पैसा खेलाउन नपाएको मान्छे एक्कासि ५ हजार पाउँदाखेरी म त धेरै कमाएँ जस्तो लाग्यो । म त धेरै के भनुँ खुसीको सीमा नै थिएन। गाउँमा १ सय रूपैयाँँसम्म देखेको मान्छे । ५ हजार पैसा नै कहिले नदेखेको म त । ५ हजार भारु ८ हुन्छ भन्ने अहिले थाहा छ । तर, त्यो समयमा मलाई केही थाह थिए । १३ वर्षको उमेरमा म त्यहाँ काम गर्न गएको थिएँ । मलाई भाषा बोल्न आउँदैन थियो । ‐इदर आजा) भनेको यता आइजा भनेको रहेछ । मलाई केही पनि बोल्न नआउने । पछि बिस्तारै बुझ्न थालेँ तर, बोल्न सक्दिनथेँ । मेरो भाषा काम गर्ने साउले नबुझ्ने म उसको भाषा नबुझ्ने समस्या थियो ।
एक हप्तापछि मैले अलिअलि बुझ्न थालेँ । गाउँमा हुँदा तमीले खाना खाएकी नाईँ । काँ जाँदा भया लगायत हाम्रो अछामको भाषा । उता कहिले नसुनेको भाषा बुझ्न सिक्न केही दिन गाह्रो भयो । एक महिना जसोतसो काम गरेर भाषा नबुझेर काम छाडँे । त्यसपछि त्यतै काम खोजेँ । होटलमा काम गर्न थालेँ । त्यहाँ सुरुमा वेटरको रूपमा काम गर्दै कुकको काम पनि सिक्ने अवसर पाएँ । तीन महिना काम गरेर म नेपाल फर्किँए । गाउँको एउटा दाई कपिलवस्तु थिए ।
मलाई त्यतै स्टिल उद्योगमा काम गर्न बोलाउनु भयो । महिनाको खाना खर्च र बस्ने व्यवस्था मिलाएर ४ हजार दिन्छु भन्नु भो । मसँग यताबाट त्यहाँ जान भाडा दिने पैसा समेत पनि थिएन । उतै दाइले दिनुहुन्छ भनेर गाडी चढेर गएँ । मैले त्यता केही दिन काम गरेँ । तर लास्टै गाह्रो काम थियो । त्यसैले मैले काम छाडेँ । त्यतै अर्को काम खोजेँ । होटलमा १० हजार दिएपछि त्यहाँ काम गर्न थालेँ । मैले पहिला इन्डियामा हुँदा कुक हल्काफुल्का सिकेको थिएँ । त्यसैले त्यहाँ कुकको रूपमा तीन महिना काम गरेँ । पैसा भए पढ्छु भनेर काम गर्दै जाँदा पढ्न पाइएन । त्यस पश्चात २०७३ सालमा काम गर्दै पढ्ने भनेर नेपालगन्ज आएँ । दुई दिन त्यतै बसेपछि कोहलपुर आएँ ।
साझा चोकमा नाता पर्ने नजिकै दाइको कोठा थियो । त्यहाँ बसेँ । दाई दुई महिनापछि इन्डिया जानु भयो । सुरुवाती दिनहरूमा निकै गाह्रो भयो । आजभोली जस्तो बुझेको भए सहज हुने थियो । त्यतिखेर आफू हिँडेको बाटो बिराउने गर्थेँ । यहाँ भाषा बुझ्न अलि कठिनाइ भयो । गाउँमा अछामी भाषा बोल्ने मान्छे । कोहलपुर आउँदा गाह्रो भयो । गाउँ जस्तो नहुँदो रहेछ । धेरै पैसा लाग्ने रैछ । सबै कुराहरू महंगो र पैसा मात्रै चाहिने । पढ्छु भनेर आएको तर, सफल भइएन के । त्यतिखेर आफूसँग पैसा नहुँदा कतिदिन चाउचाउ खाएर सुतेको छु । कहिले भोकभोकै पनि सुतेँ । कसैलाई चिनेको थिइनँ त्यसैले माग्न पनि सकिएन । गाउँमा भए माग्न सहज हुन्थ्यो ।
सुरुवाती दिनहरूमा धेरै कष्ट र दुःख भोगेको छु । पछि बिस्तारै बुझ्दै जाँदा मलाई आँट आउन थाल्यो ।अब केही गर्नपर्छ भन्ने भयो । पेप्सीको डिलरमा काम गर्न थालेँ । त्यहाँ १५ हजार तलब दिन्थ्यो । २ वर्ष काम गरेँ । पछि यहाँको सबै वातावरण बुझेँ । घरमा फोन गर्दा मैले अफिसमा काम गर्छु भनेको थिएँ । दुःख भयो भनेर कहिले भनिन् । दुःख पाएको आमा बाबाले देख्न सक्थेनन् । डिलरमा पनि काम रातिसम्म गर्नुपर्ने र कठिनाइ भयो । काम छाडेर आफैँ केही गर्ने सोच बनाएँ । अंकलले पनि चिया बेच्न सुझाए । अंकल पनि बिहारमा चिया बेच्ने काम गर्नु हुन्थ्यो ।
मसँग पैसा थिएन । घरमा आमाले १० हजार सहकारीबाट ऋण निकालेर मलाई दिनुभएको थियो । पछि मैले चियाका सामाग्री किनेँ र इन्डियाबाट पनि सामान अंकलले पनि पठाइदिनु भयो । सुरुसुरुमा चिया बिक्री हुन्थेन । म फ्रीमा चिया दिने गर्थेँ । दिनमा २ सय रूपैयाँँ मात्र कारोबार हुने गथ्र्याे । बिस्तारै खानु बरु पैसा दिनु पर्दैन भन्दै बानी पारेँ । कतिपयले चिया बेच्ने भनेर नराम्रो व्यवहार गर्थे । थर्मसमा बोकेको चिया कस्ले खान्छ भन्थे । कस्तो मन दुख्थ्यो त्यतिखेर । जसले जेसुकै भनेपनि मैले चिया बेच्न छाडेन । पछि फोन गरेर चिया मगाउन थाले । अहिले चिया बेच्न थालेको ८ वर्ष भयो । गाउँको भन्दा यहाँको बोली भाषा धेरै फरक पाएँ ।
अहिले धेरै कुरा सिकेँ र चिन्ने अवसर पाएँ । पहिला म बसपार्क र चोकहरूमा बेच्ने गर्थेँ । सुरु सुरुमा लाज मानेर टाउको लुकाएर बेच्ने गरेँ । घरको समस्या त्यस्तै भएकाले विदेश जान परिवारले कर गरे । तर, मैले नेपालमा केही गर्ने आँट लिएर अहिलेसम्म यहाँ बसेको छु । अहिले सबैले चिया मन पराएर फोन गरेर बोलाउनु हुन्छ । बैंकदेखि सरकारी कार्यालयसम्म चिया बिक्री गर्ने गर्छु । चिया बेच्दा कतिपय राम्रा व्यक्ति पनि भेटाएको छु । कतिपय समयमा खुद्रा पैसा नहुँदा उनीहरूले अन्य बाँकी रकम भेट भए पुनः चिया खाउँला भनेर छाडेर राम्रो गर्नु भन्छन् । अहिले चिया बिक्री हुँदैन भन्ने चान्सै छैन् ।
चिया बेच्दै बिहे गरेँ । श्रीमतीलाई बिएड पनि पढाएँ । अहिले परिवार कैलालीमा बसाइँसराइ गरेर आएका छौँ । म र भाइ यतै बसिरहेका छौँ । भाइ त्रिभुवन माविमा १२ पढिरहेको छ । घरपरिवारको अवस्था पनि अहिले ठिकै छ । दाइहरूले पनि हेरिरहनु भएको छ । अब चिया घुमेर नभइ चिया पसल खोलौँ कि भन्ने सोँचिरहेको छु । जति पैसा कमाए पनि मान्छेलाई पुग्दैन के दाई । अहिले खान लगाउन पुगिरहेको छ । दिनमा ४ सय रूपैयाँँ बचत गरिहेको छु । म यसैमा खुसी छु । भगवानले मलाई यति नै दिएका रहेछन् । धेरै र कम भयो भन्ने पनि छैन् । जति भयो ठिक छ । आफ्नो गोजीमा आएको छ । आफ्नै काम हो । कसैको गाली खानु परेको छैन् ।
हिजोको दिनहरूमा मेरा कुरा काट्ने र खिसिट्युरी गर्नेहरू अहिले राम्रोसँग बोल्छन् । कतिपय पार्टनरसीप बनाउन आग्रह गर्छन् । अहिले मेरो जीवनयापन चिया बचेर राम्रो नै चलिरहेको छ । आगामी दिनहरूमा पनि दिनप्रतिदिन ग्राहकहरू बढ्दै जान थालेका छन् । कतिपय पार्टीका कार्यक्रम र मिटिङ लगायतका ठाउँहरूमा कल गरेर बोलाउँछन् । प्रतिगिलास १५ रूपैयाँँमा बिक्री गर्छु । बिहान ४ बजेदेखि ९ र दिनमा १२ बजेदेखि साँझसम्म चिया बेच्छु । बाह्रैमास चिया बेच्छु । गर्मी महिनामा भन्दा जाडो महिनामा धेरै बिक्री हुन्छ । नगर प्रहरीले पनि बेच तर फोहोर नगर भन्छन् । पहिला एक पटक सामान लगेदेखि डर लाग्ने गथ्र्याे । अहिले उहाँहरूले चिया खाएर राम्रोसँग बेच्नु भन्दा खुसी लाग्छ ।
प्रस्तुतीः गणेश रावत









प्रतिक्रिया दिनुहोस्