रुपन्देहीको सालझण्डीबाट झण्डै ९ किलोमिटर उत्तरमा पर्ने झरना पर्यटकीयस्थल आन्तरिक र बाह्य पर्यटकका लागि रोजाइको ठाउँ बनेको छ । झरना हेर्न र पौडी खेल्न दैनिकजसो सयौँको सङ्ख्यामा रुपन्देहीको विभिन्न ठाउँ, पाल्पा, अर्घाखाँची, नवलपरासीदेखि दाङ, प्युठानबाट समेत मानिसहरू अवलोकन गर्न आउने गरेका छन् । झरना पर्यटकीयस्थल विशेष गरी भारतीय नागरिकका लागि रोजाइको केन्द्र बनेको छ । दूरीका हिसाबले पनि सुनौली नाकाबाट नजिक पर्ने भएकाले अहिले झरना पर्यटकीय स्थल भारतीय नागरिकका लागि रोजाइको केन्द्र बनेको हो ।
श्यामलाल पोखरेल । बुटवल ।
पाल्पाको रैनादेवी मिनीचौर पर्यटकीय स्थलका रूपमा विकास हुँदैछ । रैनादेवी छहरा गाउँपालिका ८ मिनीचौरमा कञ्चन खोलाको झरना आन्तरिक र बाह्य पर्यटकका लागि पर्यटकीय गन्तव्यस्थल बनेको छ । रैनादेवी छहराको ज्यामिरेबाट बगेको कञ्चन खोला मिनीचौर भन्ने ठाउँमा झरेको झरना प्रकृतिप्रेमी छ । जुन झरनाका कारण अहिले मिनीचौर पर्यटकीयस्थल बनेको छ ।
तीनतिरबाट जंगलले घेरेको प्रकृतिले भरिपूर्ण मानिने झरना साँच्चिकै मनमोहक र हेर्नलायक छ । २०७६–०७७ सालबाट झरना खसेको ठाउँ मिनीचौरलाई झरना पर्यटकीय स्थलका रूपमा अगाडी बढाइएको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष रेमबहादुर रानाले बताए ।
पहाडबाट बगेको कञ्चन खोलाको सेताम्मे भएर छ्वाङ छ्वाङजस्तै पानीको आवाजमा झरना झरेको ठाउँमा बनेको गहिरो देखिने रह साँच्चिकै हेर्नलायक छ । ढोरपाटन सडक खुलेपछि जंगलले घेरेको विकट मानिने उक्त मिनीचौर झरनाका कारण अहिले पर्यटकीय स्थलका रूपमा विकास भैरहेको छ । झरना पर्यटकीय स्थलका नामले प्रसिद्ध भएपछि मिनीचौर भन्ने नाम हराउँदै गएको छ । झरना पर्यटकीयस्थल पर्यटकका लागि नयाँ विश्रामस्थल बन्ने हरि पोखरेलले बताए ।
ढोरपाटन सडकसँगै जोडिएको झरना हेर्न र झरनाले बनाएको रहमा पौडी खेल्नेहरूको समय लर्को लाग्ने गर्दछ । रुपन्देहीको सालझण्डीबाट झण्डै ९ किलोमिटर उत्तरमा पर्ने झरना पर्यटकीयस्थल आन्तरिक र बाह्य पर्यटकका लागि रोजाइको ठाउँ बनेको छ । झरना हेर्न र पौडी खेल्न दैनिकजसो सयौँको सङ्ख्यामा रुपन्देहीको विभिन्न ठाउँ, पाल्पा, अर्घाखाँची, नवलपरासीदेखि दाङ, प्युठानबाट समेत मानिसहरू अवलोकन गर्न आउने गरेका छन् ।
झरना पर्यटकीयस्थल विशेष गरी भारतीय नागरिकका लागि रोजाइको केन्द्र बनेको छ । दूरीका हिसाबले पनि सुनौली नाकाबाट नजिक पर्ने भएकाले अहिले झरना पर्यटकीय स्थल भारतीय नागरिकका लागि रोजाइको केन्द्र बनेको हो । व्यवस्थित रूपमा विकास गर्न सकिए ठूलोे सङ्ख्यामा भारतीय नागरिकलाई भित्राउन सकिने र आर्थिक उपार्जन गर्न सकिने सम्भावना बलियो देखिन्छ ।

झरना पर्यटकीय स्थलको विकास गर्न वडामा ठूलोे रकम नहुने र अहिले पालिकाले बजेट नछुट्टाएको रैनादेवी छहरा ८ का वडाध्यक्ष रानाले बताए । वडाध्यक्ष रानाका अनुसार पालिकाले बजेट नदिएपनि लुम्बिनी प्रदेश पर्यटन मन्त्रालयले रु १५ लाख बजेट दिएकाले यो वर्ष केही व्यवस्थित गरेर आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । प्रकृतिको धनी झरना पर्यटकीय स्थललाई पर्यटकीय विश्राम स्थल बनाउन सकिने आन्तरिक पर्यटक प्युठानका बालाराम घर्ती मगरले बताए ।
झरना पर्यटकीयस्थल रेखदेख, सरसफाइ र व्यवस्थापन गर्ने जिम्मा स्थानीय मिनीचौर झरना कञ्चन युवा क्लबले पाएपछि केही व्यवस्थित गरिएको छ । झरना तथा रहमा जानेबाटो केही व्यवस्थित गरिएको छ । अहिले प्रतिव्यक्ति रु ३० रूपैयाँँका टिकट काट्ने व्यवस्था गरेपछि सडक व्यवस्थित गरिएको छ । बस्ने स्थानहरू बनाइएको छ, भने पौडी खेल्ने सामाग्रीको व्यवस्था गरिएको छ । जसका कारण दैनिक रूपमा सयौँ जना पौडी खेल्न आउने गरेको बताउँछन् क्लबका अध्यक्ष ज्ञानबहादुर राना ।
मिनीचौरमा झरना पर्यटकीयस्थल बनेपछि केही ठाउँमा सानातिना होटलहरू खोलिएका छन् । झरनाको नजिकै झरना रिसोर्टसमेत सञ्चालन गरिएको छ । कञ्चन खोला र ढोरपाटन सडक किनारमा सञ्चालन गरिएको झरना रिसोर्टमा बनेको भ्यूटावरमा आन्तरिक र बाह्य पर्यटक झुम्ने गरेको दृश्य देखिन्छ । गर्मी छल्न र चिसो हावापानीका लागि पनि पाल्पाको रैनादेवी मिनीचौरको झरना पर्यटकीयस्थल सबैका लागि रोजाइको थलो बनेको छ । टिकटक बनाउनेहरूका लागि र स्थानीय उत्पादनका खाना मन पराउनेहरूका लागि पनि झरना पर्यटकको रोजाइको थलो मानिन्छ ।









प्रतिक्रिया दिनुहोस्