महेन्द्र माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त



बुटवल ।

गुल्मी तम्घासको महेन्द्र माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ) प्राप्त गरेको छ । विद्यालय सुधारका विभिन्न ५२ सूचकमध्ये कम्तिमा ५० प्रतिशत सूचकमा काम भएपछि विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रदान गरिएको हो । ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदिप शर्माले रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरको रोहवरमा विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवं रेसुङ्गा नगरपालिका १ का वडाध्यक्ष रामप्रसाद पन्थी र प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीलाई आइएस्ओ चिन्ह प्रदान गरे । काउन्सिलले दिएका ५१ सूचकमध्ये कम्तिमा ८० प्रतिशत सूचकमा काम भएपछि विद्यालयलाई प्रमाणपत्र उपलब्ध गराइनेछ ।

लोगो प्राप्तका लागि विद्यालयको सरसफाइ, अग्नि सुरक्षा, प्राथमिक स्वास्थ्य सामग्री, गेट व्यवस्थापन, कक्षाकोठा व्यवस्थापन, संस्थाको लोगो प्रदर्शन, गुणस्तरको नीति र उद्देश्य, मानव स्रोत व्यवस्थापन नीति, आपतकालीन सम्पर्क नम्बर सार्वजनिक, गुणस्तरीय पाठ योजना तथा सामग्री निर्माणलगायतका सूचकहरू निर्धारण गरिएको छ । त्यसैगरी सफा खानेपानी, कार्यालय व्यवस्थापन, कम्तिमा पाँच सय विद्यार्थी रूपमा, विद्यालय आउनेको अभिलेख, विद्यालयको गुणस्तर नीति, विभागिय नीतिहरू, विद्यालय पोसाक लगायतका सूचकहरूमा काउन्सिलले अनुगमन गर्ने विद्यालयका सूचना अधिकारी शालिकराम पन्थीले जानकारी दिए ।

‘लोगो प्राप्त गरेसँगै विद्यालय गुणस्तर कायम गर्न उन्मुख छ भन्ने बुझिन्छ ।’ प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले भने, ‘विद्यालय अन्तर्राष्ट्रियस्तरको शैक्षिक संस्थाको रूपमा स्थापित हुँदैछ ।’ आइएसओ प्रमाणपत्र प्राप्त गरेपछि विद्यालयको प्रशासनिक पक्ष, नजिता, विद्यालय गतिविधि सञ्चालन, व्यवस्थापकीय पक्षमा सुधार, शिक्षक तथा व्यवस्थापन समितिलाई विद्यालयको गुणस्तर अभिवृद्धिसम्बन्धी तालिम प्रदान लगायतका पक्षमा सहयोग हुने प्रधानाध्यापक मरासिनीले बताए ।

विद्यालयले लोगो प्राप्त गरेको र प्रमाणपत्र प्राप्त गर्ने चरणमा पुगेपछि विद्यार्थी तथा अभिभावक पनि खुसी भएका छन् । ‘हाम्रो विद्यालयले आइएसओ लोगो प्राप्त गरेको छ, अब छिट्टै आइएसओको सर्टिफिकेट प्राप्त गर्ने अपेक्षा गरेका छौँ ।’ कक्षा १२ मा अध्ययनरत छात्रा यशोधा कुँवरले भनिन् । अभिभावक घनश्याम पाण्डेले विद्यालयको गुणस्तर थप वृद्धि हुने भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘अब प्रमाणपत्र प्राप्त गर्नमा पनि हामीले विद्यालयलाई पूर्ण सहयोग गर्छौँ ।’ अर्का अभिभावक ध्रुव पाण्डेले विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह पाउनु नै गर्वको विषय भएको बताए ।

ग्लोबल क्वालिटी काउन्सिलका अनुसार बाँकी सूचकहरू विद्यालयले तीन महिनादेखि एक बर्षसम्म पूरा गर्न सक्छ । उक्त समयमा विद्यालयले विद्यालयको भौतिक पक्षलाई व्यवस्थित गर्ने, पाले रुम बनाउने, शिक्षकलाई तालिम दिने र दक्ष बनाउने, व्यवस्थापन समितिलाई क्षमतावान बनाउने, मानव स्रोत विकास गर्ने, प्रधानाध्यापकलाई प्रशासनिक झन्झटमुक्त गराई विद्यालयको समग्र विकासमा लगाउने लगायतका सूचक पूरा गर्नुपर्ने छ । त्यसका लागि स्थानीय सरकारको पनि महत्वपूर्ण भूमिका हुन्छ । नगरपालिकाकी उपप्रमुख अमृतादेवी कुँवरले महेन्द्र माविलाई आइएसओ प्रमाणपत्र उपलब्ध गराउनका लागि नगरको तर्फबाट सबै सहयोग उपलब्ध गराउने बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रबार