धनगढी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । गत साउन २० गते मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए । नेकपा एमाले, नेपाली काँग्रेस र नागरिक उन्मुक्तिबाट बहुमत प्राप्त गर्दै विश्वासको मत पाएका थिए । तर, एक वर्ष नपुग्दै नागरिक उन्मुक्ति पार्टी सत्ताबाहिर गएपछि बिहीबार मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।
५३ सदस्यीय प्रदेश सभाको बिहीबारको बैठकमा जम्मा ४५ जना मात्रै उपस्थित रहेका थिए । मुख्यमन्त्री शाहले ३० मत प्राप्त गरेका छन् । नेकपा एमाले र नेपाली काँग्रेसको समर्थन पाएका शाहलाई प्रतिपक्षी दलहरूबाट पनि मत मिलेको छ । मुख्यमन्त्री शाहको पक्षमा नागरिक उन्मुक्ति पार्टीका नेता कैलाश चौधरीले पनि पक्षमा मत दिएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्री शाहले दुईतिहाइ बहुमत प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए भने नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू माथिको आदेश कुरिरहेका थिए । तर, मुख्यमन्त्री शाहले विश्वासको मत प्रस्ताव पेश गर्दै गर्दा नाउपामा कुनै निर्णय आएको थिएन ।
प्रदेश सभा बैठकमा छ जना अनुपस्थित रहेका थिए । बैठकमा छ जना प्रतिपक्षी दलहरूको अनुपस्थित रहेको थियो । छ जनामध्ये नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता दिर्घबहादुर सोडारीको पद बर्खास्त गरिएको थियो ।
सभामुख भीमबहादुर भण्डारीले मत विभाजन गर्दा विश्वासको मतमा ‘हुन्छ’ भन्ने पक्षमा ३० जना र ‘हुन्न’ भन्ने पक्षमा १५ जनाले मत दिएको घोषणा गरे । दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुँदा शाहले पक्षमा ३६ मत प्राप्त गरेका थिए । विश्वासको मत माग्दै गर्दा मुख्यमन्त्री शाहले प्रदेशको समृद्धिका लागि स्थिर राजनीति आवश्यक रहेको बताए । उनले भने, ‘प्रदेशमा सुशासन कायम गरी प्रदेशको सामाजिक, भौतिक र आर्थिक स्थितिमा सुधार ल्याउने गरी काम गरिरहेको छु ।’
उनले संघीयतालाई बलियो बनाउन प्रदेश राजधानीका विषयमा सबैले सोच्न जरुरी रहेको बताए । नेपाली काँग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले समृद्धिका लागि स्थिर सरकार अहिलेको आवश्यक रहेको बताए । उनले एकतावद्ध भएर जाने वातावरण सिर्जना हुन जरुरी रहेको बताए । नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल)ले कर्म निर्वाह नगरेको र जनताको भावनाअनुसार अहिले सरकारले काम गर्न नसकेको बताए ।
उनले राजधानी धनगढी सार्न नहुने बताए । भ्रम छर्न र भ्रममा राख्ने कार्य भइरहेको बताउँदै उनले भने, ‘कानुनी र प्राविधिक जटिलता पहिचान गरी समस्याको समाधान गर्न जरुरी रहेको छ ।’ उनले सरकारको काम कारबाहीमा सत्तापक्षनै असन्तुष्ट रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्