गणेश रावत । कोहलपुर ।
कोहलपुर नगरपालिका पुरानो बसपार्क दायाँ र बायाँ सडक छेउमा रहेका सार्वजनिक शौचालय करिब ३ महिनायता ताल्चा लगाएर बन्द अवस्थामा रहँदै आएका छन् । शौचायल सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएका व्यक्तिले विविध कारण देखाउँदै पन्छिएपछि कोहलपुर नगर विकास समितिले अहिले शौचालयमा ताल्चा लगाएर बन्द गरेको हो ।
गत वैशाख ४ गते मिसन टुडे राष्ट्रिय दैनिकमा ‘कोहलपुरका सार्वजनिक शौचालयको हरिबिजोग’ भन्ने शीर्षकमा समाचार प्रकाशन ग¥यो । त्यसको केही दिनमा नगर विकास समितिले शौचालय मर्मत गर्न शौचालय सञ्चालनको जिम्मा पाएका फुड बाटिकाका सञ्चालक निशान भण्डारीलाई जानकारी गराएको थियो ।

तर, भण्डारीले विद्युत् र पानीको अभावको कारण देखाउँदै मर्मत तथा सञ्चालन गर्न नसक्ने बताएका थिए । पछि नगर विकास समिति बाध्य भएर आफैँले मर्मत गर्ने भन्दै ताल्चा लगाएर शौचालय बन्द ग¥यो । तर, अहिलेसम्म शौचायल मर्मत गरेपनि पुनः प्रयोगमा ल्याउन सकेको छैन।
अहिले शौचालय मर्मत भइसकेको र केही दिनमा सञ्चालनमा ल्याउने नगर विकास समितिका इन्जिनियर अम्मरबहादुर बुढाथोकीले मिसन टुडेलाई बताए ।
शौचालयका बिग्रेका १० वटा आल्मोनियमका ढोका, सेफ्टी ट्याङकी, कलर र ट्वाइलेट सिट टायलहरू मर्मत गरेर नयाँ हालिएको उनको भनाइ छ । करिब ९ लाख लागतमा दुई वटै शौचालय मर्मत गरिएको उनले बताए । ‘शौचालय मर्मत भइसकेका छन्,’ उनले भने, ‘अहिले सिधै सञ्चालनमा ल्याउँदा फोहोर गर्देलान् भनेर ल्याएका छैनौँ । अब कसरी सञ्चालनमा ल्याउने भनेर छलफल भइरहेको छ ।
छिट्टै सञ्चालनमा आउँछन् ।’ यता लामो समयदेखि शौचालय बन्द हुँदा नागरिकहरूले शौच गर्न नजिकका होटल धाउनुपर्ने बाध्यता छ । सार्वजनिक शौचालय बन्द हुँदा नागरिकहरूले शौच गर्न अहिले सास्ती खेप्नु व्यवसायी बताउँछन् । न्यूरोड र पुरानो बसपार्क कोहलपुरको धेरै भिडभाड र मानिसहरूको आवतजावत हुने सार्वजनिक स्थानमध्ये पर्दछन्।
करिब ३ महिनादेखि शौचायल बन्दा हुँदा नागरिकहरू सार्वजनिक शौचालयमा शौच गर्नबाट बञ्चित बनेका छन् । कतिपय व्यक्तिहरू शौचालय बन्द हुँदा खुला ठाउँहरूमा शौच गर्नसमेत बाध्य भएका छन् । तर, शौचालयको संरचना मर्मत भएपनि सञ्चालनमा आउन भने ढिलाइ हुने देखिन्छ । शौचालय कहिलेसम्म र कसलाई सञ्चालनको जिम्मा दिने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्