मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै



शेरबहादुर ऐर । कैलाली ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन । २० असारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आज (बिहीबार) बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् । बिहीबार आह्वान गरिएको छैटौँ अधिवेशनको २०औँ बैठक साँझ ५ बजे बोलाइएको छ । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

नेपाली काँग्रेस संसदीय दलको सोमबार बसेको दलको बैठकमा काँग्रेस प्रदेश सभा सदस्यहरुलाई पक्षमा मत हाल्न ‘ह्विप’ जारी गरिसकिएको छ । बुधबार नेकपा एमाले संसदीय दलको बैठकले पनि मुख्यमन्त्री कमलबहादुर शाहकै पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ । नेकपा एमालेका प्रमुख सचेतक चक्र मल्लले बुधबार बसेको दलको बैठकले मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्ने निर्णय भएको बताए । उनले भने, ‘बिहीबार साँझ ५ बजे बस्ने सभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको प्रस्तावमा एमालेका ११ जना प्रदेश सभा सदस्यहरुलाई पक्षमा मतदान गर्नेछौँ ।’

पार्टीको संसदीय दलको बैठकले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्ना मन्त्रीलाई बिनाकारण बर्खास्त गरेको भन्दै उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरु पार्टीको निर्णय नआएसम्म पक्ष वा विपक्षीमा जाने भन्नेमा अहिलेसम्म धारणा बनाउन सकेको छैन । उन्मुक्तिका एक प्रदेश सभा सदस्यले भने, ‘मलाई पार्टीबाट कुनै जानकारी आएको छैन । पार्टीले जे निर्णय गर्छ सोहीअनुसार अघि बढ्छौँ ।’

सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्नेछ,’ संविधानको धारा १८८ को उपधारा २ मा व्यवस्था छ ।

प्रदेश सभामा सात जना सांसद भएको उन्मुक्तिले सरकारबाट समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाहलाई सांख्यिक रूपमा बलियो छन् । तर, बागमती प्रदेशमा सत्ता गठबन्धनभित्रैको द्वन्द्वको भयले बहुमत पाउनेमा अझै मुख्यमन्त्री शाह विश्वस्त छैनन् । अहिले सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व मुख्यमन्त्री शाहले स्वयम् लिएका छन् । उनले सो मन्त्रालय उन्मुक्तिलाई समर्थनमा ल्याउन सोही पार्टीलाई दिने गरि पार्टीका संरक्षक रेशमलाल चौधरीसँग आन्तरिक छलफल गरिसकेका छन् ।

तर, अहिले काँग्रेसका केही प्रदेश सभा सदस्यहरुले सो मन्त्रालयको मन्त्री काँग्रेसले पाउनुपर्ने अडान लिइरहेका छन् । सोही विषयलाई लिएर काँग्रेसका केही प्रदेश सभा सदस्यले काठमाडौँ प्रस्थान गरि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवा लगायत शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् ।

उनी मुख्यमन्त्री पद टिकाउन २७ जनाको समर्थन आवश्यक रहेको छ । प्रदेश सभामा काँग्रेसका १८ र एमालेका ११ गरी २९ जना पुग्छन् । नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएर एक मन्त्रालयको नेतृत्व गर्दै आएको थियो । ४ जेठमा नाउपाबाट उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका रामेश्वर चौधरीलाई १९ असारमा मुख्यमन्त्री शाहले पदमुक्त गरेका थिए । सोही निर्णयपछि नागरिक उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार