कोहलपुर (बाँके) ।
आज नागपञ्चमी । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । उक्त दिन नागको पूजा गरिन्छ । नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो । यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजाआराधना पनि गरिन्छ ।
नागपञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ । ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ ।
नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो । यस्ता विशेष पर्वहरूमध्ये नागपञ्चमी पनि एउटा पर्व मानिन्छ । हरेक श्रावण शुक्लपक्ष पञ्चमीलाई हिन्दू धर्मालम्बीहरूले नागपञ्चमीको रूपमा मनाउँछन् । नागलाई सहकालको देवताको रूपमा मानिन्छ । नाग प्रसन्न भएमा पानी पर्छ भनिन्छ । त्यसैले पानीको मूल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन् ।
ज्योतिष शिवराज रेग्मीका अनुसार कुण्डलीमा राहु, केतुको दोष भएकाहरूले पनि नाग पञ्चमीका दिन नाग देवताको पूजा गरी विशेष मन्त्रको जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने धार्मिक विश्वास छ । साउन महिनाभरी धेरै पर्व रहेका छन् ।
साउन १५ गते खिर खाने दिन रहेको छ । साउन २० गते पुत्रदा एकादशी हो । २४ गते जनैपूर्णिमा, रक्षाबन्धन र विश्व आदिवासी दिवस रहेको छ। २५ गते गाईजात्रा रहेको छ । साउन महिनाको अन्तिम दिन ३१ गते श्रीकृष्ण जन्माष्टमी रहेको छ ।









प्रतिक्रिया दिनुहोस्