बिनायक टोलबासी भन्छन् ‘घर भत्काएर सडक समयमा बनोस्’



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मुख्य सडकदेखि बिनायक टोलसम्मको सडक स्तरोन्नतिको कार्य जारी रहेको छ । तर, सडक चौडाइ गर्ने कार्यमा धनगढी उपमहानगरपालिकाले ध्यान नदिएपछि अहिले स्थानीयहरू आक्रोशित छन् । धनगढीको मुख्य सडकमै रहेको दुष्यान्त बस्नेत र अशोक भट्टले आफ्नो संरचना नभत्काउँदा सडक स्तरोन्नतिमा अवरोध भएको छ ।

शनिबार सो टोलका स्थानीयहरूले टोल भेला गर्दै धनगढी उपमहानगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । टोल विकास समितिका अध्यक्ष खगेन्द्र बोगटीले उपमहानगरपालिकाले चाँसो नदिँदा सडक स्तरोन्नतिको कार्यमा ढिलाइ भइरहेको बताए । उनले भने, ‘दुष्यान्त र अशोकको संरचना भत्काउन नगर प्रमुख गोपाल हमालले सहमति गरेका थिए । सो समयमा तीन जनाबीच भएको सहमतिका आधारमा टोलका अन्य व्यक्तिहरूले सडक संरचना खाली गरे । तर, मुख्य सडकमा रहेका दुई जनाको संरचना अहिलेसम्म भत्काइएको छैन।’

अशोकले सडकको मुख्य भाग खाली नगरी सडकभित्रै थप संरचना बनाएका छन् । उनले आफ्नो घर नभत्काएर फेरी छज्जा पनि बनाएका छन्। तर, धनगढी उपमहानगरपालिकाले बनेको सो संरचना पनि हटाउन नलगाएको उनको भनाइ छ । धनगढीले सो सडक स्तरोन्नति गर्ने भन्दै दुई वर्षअघि दुष्यान्तको घरमा डोजर चलाएको थियो । तर, अहिलेसम्म सडक क्षेत्र पुर्णरूपमा खुल्ला भएको छैन । पूर्वाधार विकास कार्यालयमातहत सो सडक निर्माणाधीन अवस्थामा रहेको छ ।

स्थानीयहरूले सो सडकको कार्य पनि गुणस्तरहीन भएको आरोप लगाएका छन् । नाला नखोलिँदा निर्माणाधीन सडकले घरहरू डुवानमा पर्ने स्थानीय बीरबहादुर साउदले बताए । उनले भने, ‘सडक उच्च छ । वर्षातमा पानी जाने निकास दिएको छैन । सामान्य वर्षा भएपनि घरभित्र पस्ने देखिन्छ ।’ बिनायक टोलमात्र नभइ धनगढीमा सडक स्तरोन्नतिका नाममा निर्माणाधीन सडकहरू मापदण्डअनुसार बन्न सकेका छैनन् । धनगढीको लक्ष्मीनारायणदेखि राष्ट्र बैंक, धनगढीको नैनादेवीदेखि एक्सीस विद्यालय जाने सडक लगायत थुप्रै सडकहरू उपमहानगरपालिकाले तोकेको मापदण्डअनुसार बन्न सकेका छैनन् ।

ती सडकहरू कहीँ साँघुरा छन् भने कतै चौडाइ देखिन्छ । उपमहानगरपालिकाले तोकेको मापदण्ड कार्यान्वयन गर्दा केही व्यक्तिको संरक्षण त केही व्यक्तिहरूको उठिबासनै हुने गरी धनगढीमा निर्माणाधीन सडकमा बसोबास गरिरहेका स्थानीयहरूले भोग्नु परिरहेको छ । सडक समयमानै नबन्नेमात्र नभइ निर्माणाधीन सडकहरूमा डोजरले पाइपहरू काटिदिँदा सो क्षेत्र आसपासका स्थानीयहरू खानेपानीको पहुँचबाट पनि वञ्चित हुनुपर्ने अवस्था रहेको छ । खानेपानीको पहुँच सर्वसाधारणको मौलिक अधिकार हो ।

तर, स्तरोन्नति भइरहेको सडकमा बीचछयाइएका पाइपहरूमा तीन दिनदेखि पानी घरको धारामा नभएको स्थानीयहरू बताउँछन् । एक स्थानीय भन्छन्, ‘पाइपहरू व्यवस्थित हालेको छैन् । जसका कारण अहिले घरका धारामा पानी छैन ।’ उनले सडकहरू निर्माणकार्य जारी रहेकाले डोजरले पाइपमा क्षति पुगेको हुँदा घरमा शुद्ध खानेपानी नआएको बताए ।

यथाशीघ्र सडक विस्तारको माग

धनगढी उपमहानगरपालिका वडा नम्बर १ बिनायक टोलबासीले यथाशीघ्र सडक विस्तार गराउन माग राख्दै धनगढी उपमहानगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । निर्णयमा भनिएको छ, ‘बिनायक टोल विकास समितिसँगको बाटो विस्तार गर्ने क्रममा भएको छलफलमा अगाडि मुखमा रहेको दुष्यान्त बस्नेत र अशोक भट्टको घरको जिम्मेवारी नगर प्रमुख गोपाल हमाल, धनगढी उपमहानगरपालिका र वडा कार्यालयले लिएको थियो ।

तर हालसम्म निर्णयअनुसार काम नभएकाले त्यसको समाधानका लागि नगर प्रमुख हमाललाई ध्यानाकर्षण गराउने र यथाशीघ्र निर्णय अनुसारको सडक विस्तार गराउन माग गर्दछौँ ।’ सो छलफलमा सहभागी वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले सडक विस्तार गराउने कार्यमा आफूले सहयोग गर्ने बताए ।

उनले मुख्य सडकमा रहेको दुष्यान्त र अशोकको घरको संरचना खाली गराउन आफूले उपमहानगरपालिकालाई जानकारी गराउने बताए । उनले भने, ‘यी दुई जनाको घरले सडक विस्तारमा समस्या भइरहेको छ । उपमहानगरपालिकासँगको सहमतिबारे जानकारी छैन । तर, संरचना खाली गराउन उपमहानगरपालिकालाई भन्नेछु ।’

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार