हुम्ला ।
जिल्लाको चंखेली गाउँपालिकाको लोतीखोलास्थित कर्णाली नदीमाथि बेलिब्रिज निर्माण भएपछि मुगु र हुम्ला जोडिएका छन् । चार करोड ९८ लाखमा बेलिब्रिज जडान गर्ने काम सम्पन्न भएपछि हुम्ला अब मुगु जिल्लासँग पनि सडक सञ्जालमा जोडिएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैैसीले ४२ मिटर लम्बाइको उक्त बेलिब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको बताए ।
उनकाअनुसार यसअघि लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा परेका थिए । हिउँदयाममा नदीमा पानी घटेपछि लोतीखोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारीसाधनका लागि काठको पुल बनाइएको थियो । वर्षामा आएको खोलाले पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य थिए ।
हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर रहेका थिए। बेलिब्रिज बनेपछि चंखेली गाउँपालिकाका तीन वटा वडा तुइन तरेर गाउँपालिका केन्द्रमा आउनुपर्ने समस्या अन्त्य भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताए । उनका अनुसार निरन्तरको पहलपश्चात् बेलिब्रिज छोटो समयमा निर्माण सम्पन्न भएको हो ।
बेलिब्रिज पुलले मुगु, जुम्ला लगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई राराताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यता अन्त्य भएको छ । बेलिब्रिज बनेपछि अब जिल्ला सदरमुकामसँग सिधा आवतजावत हुने भएको छ । बेलिब्रिज यही साउन १३ गतेका दिन औपचारिक रूपमा उद्धघाटन गरी हुम्ला मुगु लिङ्क गरिने भएको छ ।
चंखेलीका सलीसल्लाबाट मुगु जिल्लाको भट्याचौरसम्म ग्रामीण पहुँच कार्यक्रम (¥याप थ्री)ले निर्माण सम्पन्न गरेको करिब चार वर्ष पूरा भएपश्चात् यो बेलिब्रिज निर्माण भएको हो । बेलिब्रिजको काम कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत जिल्लास्थित पूर्वाधार विकास कार्यालयसँग २०८१ साल मंसिर २३ गते सम्झौता भई असार २२ गते सम्पन्न भएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्