भेरी अस्पतालले आज १३५औँ वार्षिकोत्सव मनाउँदै



गजेन्द्र गुरुङ । नेपालगन्ज (बाँके) ।

पश्चिम नेपालकै रेफरल अस्पतालका रूपमा छुट्टै पहिचान बनाएको नेपालगन्जस्थित भेरी अस्पतालले सोमबार आज आफ्नो १३५औँ वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवका अवसरमा अस्पतालले साप्ताहिक रूपमा विभिन्न खेलकुद प्रतियोगिता, सरसफाइ कार्यक्रम तथा रक्तदान कार्यक्रमको आयोजना ग¥यो । आज एक विशेष कार्यक्रमको आयोजना गरेर अस्पतालले आफ्नौ ऐतिहासिक १३५औँ वार्षिकोत्सव मनाउन लागेको हो ।

भेरी अस्पालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले अस्पतालको ऐतिहासिक १३५औँ वर्ष प्रवेशका अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको जानकारी दिए । उनले खेलकुद प्रतियोगिता, सरसफाइ तथा रक्तदानजस्ता कार्यक्रम सम्पन्न गरिएको तथा आज बिहान म्याराथन कार्यक्रम सम्पन्न हुने बताए । उनका अनुसार आज बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य किशोरसिंह राठोरको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम हुनेछ ।

मेसु सुवेदीले यस वर्षदेखि पूर्वमेसुहरूलाई समेत सम्मान गर्ने कार्यक्रम राखिएको बताए । उनका अनुसार खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडी कर्मचारीहरूलाई पुरस्कार वितरण, विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम हुनुका साथै अस्पतालमा विगत २५ वर्षदेखि सेवा प्रदान गर्दै आएका कर्मचारीहरूलाई सम्मानसमेत गरिने कार्यक्रम रहेको छ । भेरी अस्पताल आजको दिनसम्म आइपुग्दा विभिन्न आरोहअवरोह पार गरेको छ । विसं १९४७ साल साउन १२ मा ‘पृथ्वी–वीर डिस्पेन्सरी’का नाममा ७ वटा शय्याबाट अस्पतालले स्वास्थ्य सेवा सुरु गरेको हो । एक सय ३४ वर्ष लामो इतिहास बोकेको यस अस्पताल हाल ३ सय शय्याको क्षमतामा चलिरहेको छ । यति लामो इतिहास बोकेको अस्पतालका थुप्रै आरोहअवरोह रहेका छन् ।

संघीय राजधानी काठमाडौँमा रहेको वीर अस्पताल सँगसँगै स्थापना भएपनि सुरुका चरणमा भेरी अस्पताल सरकारको प्राथमिकतामा खासै पर्न सकेन । सायद, मोफसलको स्वास्थ्य संस्था भएर होला, संघीय सरकारको नजरबाट भेरी अस्पताल प्रायःजसो टाढा नै रह्यो । राणाकालीन त्यो समयमा सर्वसाधारण नागरिकले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवा पाउनु त दिवा सपनाजस्तै हुन्थ्यो ।

राणा शासन अन्त्य भएको लामो समयपछि यस अस्पताललाई विसं २०१६ सालदेखि २०२१ सम्म रत्नराज्य लक्ष्मीदेवी प्रसूति गृहका रूपमा नामाकरण गरियो । जसलाई तत्कालीन राजा महेन्द्रले २०२० साल फागुन १८ मा उद्घाटन गरेका थिए । राजाले तत्कालीन प्रसूति गृहको उद्घाटन गरेपछि भने यहाँ केन्द्रको नजर केही प¥यो । त्यसपछि विसं २०२२ सालमा ‘भेरी अञ्चल अस्पताल’ नामाकरण गरी ५० शय्यामा पु¥याइयो । प्रसूति गृहबाट अस्पतालमा परिणत भएपछि यसको कार्यक्षेत्र केही फराकिलो भयो । अस्पतालमा शय्या थपिएसँगै जनशक्ति पनि थपेर काम थालियो । पश्चिम क्षेत्रका मानिसहरू उपचारका लागि भेरी अञ्चल अस्पतालमा आउने क्रम बढ्न थाल्यो ।

जनताको आवश्यकता र सरकारको योजनाअनुसार अस्पताललाई विसं २०४३ सालमा स्तरोन्नति गरेर एक सय शय्यामा पु¥याइयो । अस्पताल विकास समितिको तर्फबाट थप ५० शय्या गरी कूल एक सय ५० शय्या कायम गरियो । लामो समयसम्म सोही क्षमतामा अस्पतालले नागरिकको उपचार ग¥यो । विसं २०६१ भदौ २९ मा सरकारले उक्त अस्पताललाई २ सय शय्याको अनुमति दिएपनि त्यो कार्यान्वयनमा भने आउन सकेन ।

२०७२ सालमा संविधान जारी भएसँगै तत्कालीन विकास क्षेत्र र अञ्चलको अस्तित्व मेटियो । ‘भेरी अञ्चल’ अस्पतालको नामले चिनिएको यसको अस्तित्व भने कायमै रह्यो । संघीयता कार्यान्वनसँगै मुलुकलाई ७ प्रदेशमा विभाजित गरियो । भेरी अस्पताललाई पनि केही समयसम्म प्रादेशिक संरचनामा लगियो । सरकारले विसं २०७५ पुसमा ‘भेरी प्रादेशिक अस्पताल’ घोषणा ग¥यो । तर, त्यो घोषणा दुई महिना पनि टिक्न सकेन । सरकारले भेरीलाई २०७५ साल फागुनमा पुनः संघीय अस्पतालका रूपमा घोषणा ग¥यो । २०७५ सालदेखि उक्त अस्पताल संघीय सरकारको मातहतमा रहेको छ ।

आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रममा सरकारले भेरीलाई ५ सय शय्यामा स्तरोन्नति गरेर विशिष्टकृत सेवाको अस्पताल घोषणा ग¥यो, तर त्यो कार्यान्वयनमा आउन सकेन । यो बीचमा अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्न थुप्रै प्रयासहरू भए । तर, ति प्रयासले सार्थकता पाउन सकेनन् । अस्पतालले २०७७–०७८ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्नमा खेलेको भूमिका प्रशंसनीय रह्यो । विसं २०८० सालमा अस्पतालको शय्या २ सय ७० पु¥याइएकोमा त्यसलाई निरन्तरता दिँदै २०८१ को अन्तिमतिर संघीय सरकारको स्वीकृत र अस्पताल विकास समितिको समेत गरेर अहिले ३ सय शय्यामा पु¥याइएको छ । अस्पतालको पुरानो भवन र नयाँ भवन दुवै ठाउँबाट बराबर सेवा दिइएको छ ।

कुनै समयमा अञ्चल अस्पताल मात्रै रहेकोमा अहिले आएर यो संघीय अस्पताल हुँदा यसले आफ्नो सेवा धेरै नै फैलाइसकेको छ । पहिले स्पेशलिष्ट सर्भिस मात्रै दिइरहेको अवस्थामा पछिल्लो समयमा सुपरस्पेशलिष्ट सर्भिसहरू अस्पतालले प्रदान गरिरहेको छ । यसवर्षदेखि यस अस्पतालमा एमडी-एमएसको पढाइ हुन थालेको छ ।

अस्पतालले केही वर्षदेखि विशिष्टकृत सेवा प्रदान गर्दै आएको छ । अस्पतालले हाल एमआरआई, मुटुरोग(क्याथल्याब),नेफ्रोलोजी,मृगौलाप्रत्यारोपण, डायलाइसिस, जलन, सिकलसेल÷थालेसिमिया, स्पाइन सर्जरी, यूरोलोजी, ग्याष्ट्रो सर्जरीलगायत विशिष्टकृत सेवा सञ्चालन गर्दै आएको छ । दैनिक रूपमा हजार बढी नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको अस्पतालबाट नेपालका मात्रै नभएर छिमेकी देश भारतका विभिन्न जिल्लाका नागरिकहरूलाई समेत सेवा प्रदान गर्दै आएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले अस्पतालका लागि आवश्यक थप भौतिक पूर्वाधार, आवश्यक जनशक्ति तथा उपकरणका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले उपलब्ध न्यून जनशक्ति, स्रोत तथा साधनबाट पनि अस्पताले उच्चस्तरको सेवा प्रदान गरिरहेको बताए । आज अस्पतालले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रकाशन गर्दै आइरहेको ‘अक्सिजन’ नामक स्मारिकाको विमोचनसमेत गरिने अस्पतालले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार