नेपालगन्ज ।
साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई ‘प्रेमप्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान गरिएको छ । साहित्यकार, गीतकार तथा सङ्गीतकार स्वर्गीय प्रेमप्रकाश मल्ल मधुकरको सम्झनास्वरूप परिवारका सदस्यको सहयोगमा भेरी साहित्य समाज केन्द्रीय समितिले प्रदान गर्दै आएको उक्त पुरस्कार यसवर्ष तिमिल्सिनालाई प्रदान गरिएको हो ।
स्वर्गीय मल्लको ९०औँ जन्मजयन्तीको अवसरमा नेपालगन्जमा शनिबार आयोजित एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मी, प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकाल, प्राध्यापक डा. कृष्णप्रसाद घिमिरे लगायतले प्रदान गरेका हुन् । पुरस्कारको राशी ५१ हजार एक सय ११ रूपैयाँँ र सम्मानपत्रसमेत रहेको छ ।
विसं १९९३ साउन ११ गते जन्मेका बहुप्रतिभाका धनी प्रेमप्रकाशको २०७२ वैशाख ११ गते निधन भएको थियो । मल्लका चर्चित गीत ‘पोखरा त साँच्चिकै पोखरा नै रैछ…’, ‘वनकी म चरी…’ लगायत थुप्रै गीत तथा साहित्यिक कृतिहरू लोकप्रिय रहेका छन् । स्वर्गीय प्रेम प्रकाशकी छोरी वाणीश्री मल्लले नेपाली साहित्यिक क्षेत्रमा पिताले गरेको योगदानलाई जीवन्त बनाइराख्न पुरस्कार कोष स्थापना गरेकी थिइन् ।
मल्लले कोषमा पाँच लाख एक सय ४७ रूपैयाँँ रहेकोमा शनिबार थप एक लाख रूपैयाँँ प्रदान गरेसँगै कोषको राशि ६ लाख एक सय ४७ रूपैयाँँ पुगेको समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् । पुरस्कार वितरण कार्यक्रममा बोल्ने वक्ताहरूले स्वर्गीय मल्लको योगदानको चर्चा गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्