कुटपिटमा संग्लन नगर प्रमुखका स्वकीय सचिव पक्राउ परेनन्



शेरबहादुर ऐर । कैलाली ।

गत बिहीबार कैलालीको गौरीगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीमाथि अभद्र व्यवहार तथा कुटपिट गर्ने नगर प्रमुख देविदत्त कडेलका स्वकीय सचिव उमेश जोशी अझैसम्म पक्राउ परेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत जोशीले गत शुक्रबारनै इलाका प्रहरी कार्यालय मालाखेतिमा जाहेरी दर्ता गराएको भएपनि घटना भएको एक हप्तासम्म पनि प्रहरीले उमेशलाई पक्राउ नगरेको हो ।

नगर प्रमुख कडेलले नियमविपरित गर्दै आइरहेका कार्यहरूमा प्रमुख प्रशासकीय अधिकृत जोशीले रोक लगाउन थालेपछि स्वकीय सचिव उमेश कुटपिटमा उत्रिएका थिए । अहिले उमेशको प्रहरीले खोजी कार्य जारी रहेको भन्दै पक्राउ गर्नबाट पन्छिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतिका प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले उमेशविरुद्ध जाहेरी दर्ता भइसकेको र खोजी कार्य जारी रहेको दाबी गरे ।

उनले भने, ‘उमेश आफ्नो घरमा पनि छैनन् । कार्यालय पनि जाँदैनन् । चौमाला प्रहरी खटिएको छ । भेटेलगत्तै पक्राउ गर्छौँ ।’ प्रहरीकै संरक्षणमा उमेश सो घटना घटाएको दिनदेखिनै फरार रहेका छन् । बिहीबार र शुक्रबार उनी गौरीगंगामा नै थिए । तर, जाहेरी परेपछि फरार छन् । डीएसपी चन्दले भने, ‘अहिले जाहेरीकर्ता प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द पनि उपचारका लागि भारतमा छन् । कुटपिट गर्ने उमेश सम्पर्कविहिन छ ।’

स्रोतका अनुसार उमेश अहिले काठमाडौँमा घुमफिर गरिरहेका छन् । तर, प्रहरीले पक्राउ गर्न सकेको छैन । उमेशले कार्यकक्षमा उनीमाथि हातपात गरेर नगर प्रमुख कक्षमा प्रवेश गरेका थिए । त्यसलगत्तै नगर प्रमुखले कार्यालयमै माओवादी कार्यकर्ता बोलाएका थिए । कार्यालय प्रमुखमाथि असुरक्षा बढेपछि इलाका प्रहरी कार्यालय चौमालाबाट सुरक्षाकर्मी खटिएका थिए । प्रहरीले कार्यालय प्रमुखमाथि कुटपिट गर्ने उमेशलाई पक्राउ गरेन । विवादलाई सोही ठाउँमा संवाद गरेर समाधान गराउनतर्फ लाग्यो ।

कार्यालय प्रमुख धर्मानन्दमाथि कुटपिट गरेका उमेशले सो छलफलमा कार्यालय प्रमुखले क्षमायाचना माग्नुपर्ने धम्कीसमेत दिए ।
बिहीबार बिहान नगर प्रमुख कडेलले प्रमुख प्रशासकीय अधिकृत धर्मानन्दलाई आफ्नो कार्यकक्षमा बोलाए । प्रमुख प्रशासकीय अधिकृतले काममा रहेको केही मिनेटमा आउने प्रतिक्रिया दिए । दोस्रो पटक बोलाउँदा समेत धर्मानन्दले सोही प्रतिक्रिया दिए । धर्मानन्द कार्यकक्षबाट नआएपछि नगर प्रमुख कडेल उनको कार्यकक्षमा प्रवेश गरेका थिए ।

उनीहरूबीच एकअर्काप्रति आरोपप्रत्यारोप चल्यो । सो क्रममा दुवैले एक अर्कामाथि अमर्यादित र अपशब्द प्रयोग गरेका थिए । नगर प्रमुख कार्यकक्षबाट बाहिर निस्केको केही समयमा उनका ज्वाई उमेशले अपशब्द प्रयोग गर्दै कुटपिट गरेर निस्केका थिए । नगर प्रमुख कडेलका ज्वाईसमेत रहेका सहयोगी उमेशलाई प्रहरीले खोजीकार्य जारी रहेकोभन्दै पक्राउ गर्न आनाकानी गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार