बड्डीचौर–खम्बगाडे सडकको विवाद टुंगियो



सुर्खेत ।

बड्डीचौर–खम्बगाडे सडकको विवाद टुंगिएको छ । सडक निर्माण पूर्व गरिनुपर्ने कानुनी प्रक्रिया नै पूरा नगरी पूवाधार विकास निर्देशनालय सुर्खेतले ठेक्का व्यवस्थापन गर्दा समस्या भएको थियो । संघीय सरकारको स्वामित्वको सडक हुनु र रूख कटानका अल्झन जस्ता कारणले असार २०७९ मै ठेक्का आह्वान गरिएको यस सडक खण्डको निर्माण कार्य कछुवाको गतिमा थियो । विगत तीन वर्षयता अलपत्र जस्तै बनेको यो सडक खण्ड निर्माणले अब गति लिने भएको छ ।

तीन वर्षपछि अन्ततः रूख कटानका लागि वन तथा भू संरक्षण विभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय र पूवाधार विकास निर्देशनालयबीच त्रिपक्षीय सम्झौता भएको हो । बड्डीचौर–खम्बगाडे सडकको दुरी १३ किलोमिटर छ । सडक विस्तारको क्रममा रहेका रूखहरू हटाउन प्रक्रियागत ढिलाइले निर्माण अघि बढ्न सकेको थिएन । सडकमा पर्ने ८६४ वटा विद्युतका पोल र रूख हटाउने अवरोध खुलेको छ ।

रूख कटानको लागि सम्झौता गरिएसँगै सडक निर्माणले गति लिने पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्माणकै चरणदेखि विविध समस्याहरू सिर्जना भएको उल्लेख गर्दै अब प्रक्रियागत रुपमा विवाद सुल्झिएको निर्देशनालयले जनाएको छ । अन्तिम चरणको रूख कटान सम्झौता गरिएकाले अब कम्तिमा एक हप्ताभित्र रूख काट्न सुरु गर्ने तयारी छ । अहिले बड्डीचौर बजारदेखि गिभिनेसम्म झण्डै ६ किलोमिटर र खम्बगाडेतर्फ एक किलोमिटर सडकमा नाला, सपोर्ट वाल र कल्भर्ट निर्माण गरिएको छ ।

ब्यूरेनी क्षेत्रमा रूखका कारण सडक विस्तारको काम रोकिएको थियो । असार २०८१ मै कालोपत्रे सकिसक्नु पर्नेमा निर्माण व्यवसायीले रूख कटानको कारण देखाउँदै निर्माणमा ढिलाइ गरिरहेको थियो । अब रूख कटान लगत्तै निर्माण कार्य तिब्र हुनेछ । भने अल्झनहरू सबै टुंगिएकाले आगामी असारसम्म सडक कालोपत्रे गर्ने तयारी छ । सडक ट्याक खोलेको करिब ३० वर्षपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक कालोपत्रे गर्न तीन खण्डमा काम भइरहेको छ ।

मदन भण्डारी राजमार्ग नामाकरण गरिएको सडकको पहिलो खण्डअन्तरगत बड्डीचौरदेखी कालोपत्रे गर्न ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको हो । जयदेवीका सञ्चालकले अपेक्षाकृत काम गर्न नसकेपछि अनकले निर्माणको पूरै जिम्मेवारी लिएको छ । रूख कटान साउन महिनाभित्रै सकिए असारसम्म काम सक्ने बचन अनकले निर्देशनालयलाई दिएको छ । बड्डीचौरलाई शून्य विन्दु मानेर तीन वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो ।

तर संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्न अपनत्व लिएको हो । खम्बगाडे–बावियाचौर र बावियाचौर–विद्यापुर १० किलोमिटर सडक निर्माणको जिम्मा डिभिजन सडक कार्यालय सुर्खेतले लिएको छ । मदन भण्डारीले सुर्खेतमा मात्रै झण्डै १५८ किलोमिटर पर्छ । योमध्य भेडावारी–बोटेचौर–रैकर–बालुवासंग्रही (छिन्चु–जाजरकोड–डोल्पा) सडक करिव १२, धुलियाविट–बाँगेसिमल (फोरलेन) सडक आठ र बाँगेसिमल–बड्डीचौर (कर्णाली राजमार्ग) सडक ३० किलोमिटर कालोपत्रे भइसकेका छन् ।

बाँकी खण्डमा मदन भण्डारी र कर्णाली सरकारले काम गरिरहेकाले अबको तीन वर्षमा यो राजमार्गले पूर्णता पाउँदैछ । मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले पूर्वमा २८ असार २०७८ बाट काम थालेको हो । २०३२ सालमा ट्याक खोलिएको धुलियाविट–भेडावारी सडक ४६ वर्षमा कालोपत्रेका लागि ठेक्का लागेको हो । ३५ किलोमिटर दुरीको सडकको कालोपत्रे अन्तिम चरणमा छ ।

कालिका केएस भेरासी जेभीले एक अर्ब तीन करोड लागतमा निर्माण गरिरहेको छ । सुर्खेत पश्चिमको बड्डीचौरबाट मदन भण्डारी राजमार्ग लगाम भएर पाल्पाघाट जोडिन्छ । यो खण्डमा राजमार्गको दुरी ८५ किलोमिटर छ । तर यो सडकको ट्याक २०५१ सालमा खोलिएको हो । मदन भण्डारी राजमार्ग योजनाले विद्यापुर–गुटु–विजौरा–बल्दे २२ किलोमिटर सडक निर्माण १७ फागुन २०७९ बाट सुरु गरेको हो ।

एक अर्ब २१ करोड लागतमा रहेको सडकको निर्माण जिम्मा बानियाँ मोतिदान डि.एस.जेभी काठमाडौँले पाएको छ । २०८२ फागुन १६ गतेसम्म कालोपत्रे सक्ने म्याद रहेको छ । मदन भण्डारीले तेस्रो प्याकेज अन्तर्गत चौर खोला–सालकोट–चत्तुरे चोक–दुलालथाई–विद्यापुर १० र बल्दे–लगाम १५ गरी २५ किलोमिटर सडक निर्माण जिम्मा दिवा यती जेभी काठमाडौँले पाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार