किसानका समस्याबारे माओवादी केन्द्रद्वारा ध्यानाकर्षण



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिकासहित देशभरका किसानले बर्सेनी रासायनिक मलको अभाव झेल्नुपरेको भन्दै नेकपा (माओवादी केन्द्र), नेपालगन्ज उपमहानगरपालिका कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार कमिटीले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीमार्फत कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।

माओवादी केन्द्रले विभिन्न ६ वटा मागहरूसहितको ज्ञापनपत्र बुझाएको हो । जसमा धान रोपाइँको सिजनलाई ध्यानमा राख्दै तत्काल युरिया, डीएपी र पोटासलगायतका मलको सहज आपूर्ति सुनिश्चित गर्न माग गरिएको छ भने मलको दिगो आपूर्तिका लागि दीर्घकालीन योजना निर्माण गर्न, अनुदानको मल वितरण प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन स्थानीयस्तरमा अनुगमन समिति गठन गरी वितरण प्रणाली व्यवस्थित गर्न पनि माग गरिएको छ ।

यसैगरी मलमा हुने कालोबजारीको अन्त्य गर्न, प्राङ्गारिक र जैविक मललाई प्रोत्साहन गर्दै किसानलाई त्यसप्रति आकर्षित गर्ने योजना निर्माण गर्न र मल खरिद प्रक्रिया समयमा सम्पन्न गरी खेती गर्ने सिजनसम्म किसानको खेतबारीसम्म पु¥याउने कुरा सुनिश्चित गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा सिँचाइ र मलको अभावले देशको कुल गार्हस्थ उत्पादन र आयमा समेत नकारात्मक असर परिरहेको भनिएको छ।

अनुदानको मल वितरणमा पारदर्शिताको अभाव र कालोबजारीका कारण वास्तविक किसान चर्को मूल्य तिर्न तयार हुँदा पनि मल अभावको समस्या भोगिरहेको ज्ञापनपत्रमा उल्लेख छ । नेकपा (माओवादी केन्द्र), नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष प्रेम शाह र सचिव धर्मराज न्यौपानेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ज्ञापनपत्रमा उल्लेखित मागहरू समयमै सम्बोधन नभएमा किसानलाई संगठित गर्दै कठोर कदम चाल्न बाध्य हुने भनिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार