सरकारले खरिद गरेर सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप प्रायः अस्पतालहरूले मागको आधाजति मात्रै पाउँछन् । उक्त औषधि केही दिन पुगेपनि फेरि अभाव भइरहन्छ । जसले नागरिकहरू सरकारले दिने भनेको निःशुल्क खोपको सेवा पाउनबाट बन्चित हुँदै आएका छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा लगभग आधा वर्ष रेबिजविरुद्धको खोपको अभाव भइरहन्छ । अहिले पनि अस्पतालमा उक्त खोप उपलब्ध छैन । यस्तो अभाव गएको चैत्र महिनाबाट सुरु भएको हो । सरकारले खरिद गरेर सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध गराउँदै आएको उक्त खोप प्रायः अस्पतालहरूले मागको आधाजति मात्रै पाउँछन् । उक्त औषधि केही दिन पुगेपनि फेरि अभाव भइरहन्छ ।
जसले नागरिकहरू सरकारले दिने भनेको निःशुल्क खोपको सेवा पाउनबाट बन्चित हुँदै आएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार महिनामा कम्तिमा आठ सय भाइल रेबिजको खोप आवश्यक पर्छ । अस्पतालले हरेक पटक एक हजार भाइलको माग गरी लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाएपनि प्राप्त भने दुईदेखि तीन सय भाइल मात्रै हुने गरेको उनले बताए ।
डा. सुवेदीका अनुसार एक दिनमा ५० देखि ८० जनासम्म कुकुरले टोकेका बिरामीहरू अस्पतालमा आएका छन् । ‘तर मागको निकै कम मात्रै भ्याक्सिन अस्पतालले पाउँने हुँदा चाडै भ्याक्सिन सकिएर बिरामीलाई बाहिर किन्नुस् भन्नुपर्ने अवस्था आउँछ,’ डा. सुवेदीले भने, ‘मागभन्दा निकै कम खोप पाइँदा त्यो खोप लिन जाँदा लाग्ने ढुवानी खर्च नै जटिफाई नहुने जस्तो हुन्छ ।’
लुम्बिनी प्रदेशमा वार्षिक ७० हजार भाइल खोप आवश्यक रहेकोमा गत आर्थिक वर्षमा ३३ हजार भाइल मात्रै प्राप्त भयो । अर्थात् आवश्यकताको आधा मात्रै खोप प्राप्त हुँदा प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा खोप पु¥याउन हम्मे–हम्मे पर्ने गरेको लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलको कोल्ड चेन शाखामा कार्यरत मोहन जोशीले जानकारी दिए । यस्तै अवस्था मधेश प्रदेशको पनि छ ।
मधेश प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा कार्यरत ललेन्द्र रजकका अनुसार माग उच्च भएपनि पर्याप्त आपूर्ति नहुँदा पटक–पटक रेबिज खोप उपलब्ध गराउन नसकिने अवस्था दोहोरिइरहन्छ । रजकले मिसन टुडेसँग भने, ‘प्रदेशमा प्रतिमहिना सात हजार पाँच सय भाइल खोप आवश्यक पर्छ । तर कहिले २५ सय, कहिले तीन हजार भाइल खोप आएको छ । यसले गर्दा हामीलाई खोप पु¥याउनै समस्या पर्ने गरेको छ ।’
खोप कम हुँदा सहरी क्षेत्रभन्दा दुर्गम र ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर वितरण गर्ने गरिएको लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलको कोल्ड चेन शाखामा कार्यरत जोशीको भनाइ छ । ‘ग्रामीण क्षेत्रका नागरिकलाई खोप आवश्यक भएमा त्यहाँको बजारमा पनि नपाइने हुनसक्छ । त्यस्तो अवस्थामा सहरमै पुग्नुपर्ने अवस्था नरहोस् भनेर हामीले ग्रामीण क्षेत्रमा चाहीँ सकेसम्म खोप अभाव हुन नदिने प्रयास गरिरहेका हुन्छौँ । सहरी क्षेत्रका अस्पतालमा बरु बाहिर किन्ने विकल्प त हुन्छ भनेर,’ जोशीले मिसन टुडेसँग भने ।
नेपाल सरकार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा निर्देशक डा. पवनजंग रायमाझी रेबिजको भ्याक्सिन खरिदका लागि बजेट नै कम हुनु मुख्य समस्या भएको तर्क गर्छन् । उनी भन्छन्, ‘रेबिजको भ्याक्सिनको माग निरन्तर बढ्दो छ । जति खरिद गरेपनि कमी हुने भइरहेको छ । मागअनुसार बजेट भने बढ्न सकेको छैन ।’ तर भएको बजेटबाट पनि भ्याक्सिन खरिदमा ढिलाई हुने गरेको देखिन्छ ।
अघिल्लो आर्थिक वर्षमा १३ करोड रूपैयाँँ एन्टि रेबिज भ्याक्सिनका लागि छुट्याइएको थियो । चैत्र महिनामै भ्याक्सिन अभाव हुन थालेपनि खरिदको प्रक्रिया भने वैशाख अन्तिम साताबाट सुरु भएको थियो । यसबीचमा देशभर नै खोपको अभाव हुन पुग्यो । लुम्बिनी प्रदेशस्थित आपूर्ति व्यवस्थापन केन्द्रमा असारको अन्तिम दिनमात्रै खोप आइपुगेको थियो । मधेश प्रदेशमा त साउन ७ गतेमात्रै आइपुग्यो । महाशाखा निर्देशक रायमाझी खरिद प्रक्रिया र त्यसमा आइपर्नेे प्राविधिक समस्याले ढिलो हुने गरेको तर्क गर्छन् ।
सुदूरपश्चिम र गण्डकी प्रदेशमा खोप अभाव रहेका बेला विकल्पको रूपमा प्रदेश सरकारले बजेट उपलब्ध गराएपछि केही मात्रामा खोप खरिद गरिएको प्रदेशस्थित आपूर्ति व्यवस्थापन केन्द्रले जनाएका छन् । तर उक्त खोप पनि पर्याप्त हुन नसकेको कर्मचारीहरू बताउँछन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वमा वर्षेनी ५९ हजार मानिसको रेबिजका कारण मृत्यु हुने गरेको छ । जसमध्ये ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन् । नेपालमा वार्षिक एक सय जनाको रेबिजका कारण मृत्यु हुने गरेको तथ्यांक छ ।
सामान्यतया स्याल, ब्वाँसो, बाँदर आदि तातो रगत भएका स्तनधारी जनावरको टोकाइबाट रेबिज लाग्न सक्ने भएपनि ९५ प्रतिशतभन्दा बढी मानिसमा रेबिज संक्रमण कुकुरको टोकाइबाट भएको पाइएको छ । रेबिज भइसकेपछि अरु कुनैपनि उपचार सम्भव नहुने भएकोले जतिसक्दो चाडो रेबिज विरुद्धको खोप लगाउनुपर्ने हुन्छ ।
आपूर्ति केन्द्रमा खोप छ, अस्पतालमा छैन
बुटवलस्थित लुम्बिनी प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा एक महिनाका लागि भनेर गत असार ३२ गते खोप आइपुगेको थियो । तर, नेपालगन्जस्थित भेरी अस्पताल र बर्दिया अस्पतालमा अझै खोप पुगेको छैन । संघीय सरकारले रेबिजविरुद्धको खोप खरिद गरेर प्रदेशस्थित आपूर्ति व्यवस्थापन केन्द्रमा उपलब्ध गराउँछ । त्यसपछि अस्पतालहरूले भ्याक्सिनको माग गरेर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा खोप लिन जानुपर्छ ।
तर भेरी अस्पताल समयमै खोप आपूर्तिका लागि केन्द्रमा नजाँदा अस्पतालमा खोप अझै पुग्न नसकेको हो । भेरी अस्पतालका मेसु डा. निराजन सुवेदी आपूर्ति व्यवस्थापन केन्द्रमा खोप आइपुगेको समयमा जानकारी नपाउँदा खोप ल्याउन नसकिएको बताउँछन् । उनले भने, ‘खोपका लागि म आफैँ केन्द्रमा विभागमै गएर पनि माग गरेँ । प्राप्त हुनेबित्तिकै जानकारी गराउँछु भन्नुभएको थियो । तर प्रदेशमा आएको समयमा थाहा पाइएन । अब आइतबारसम्म अस्पतालमा खोप उपलब्ध हुन्छ ।’
अहिले प्रदेशमा मासिक सात हजार भाइल खोप आवश्यक रहेकोमा चार हजार पाँच सय भाइल मात्रै स्टक रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलको कोल्ड चेन शाखामा कार्यरत मोहन जोशीले जानकारी दिए । ‘त्यसैले मागेजति खोप अहिलेपनि उपलब्ध गराउन सकिने अवस्था छैन । जति सकिन्छ मिलाएर पठाउँछौँ,’ जोशीले भने । मधेश प्रदेशमा पनि सात हजार पाँच सय भाइल खोप आवश्यक रहेकोमा अहिले चार हजार भाइल मात्रै उपलम्ध भएको केन्द्रले जानकारी दिएको छ ।
तर त्यहाँ पनि खोप अस्पतालसम्म अझै पुग्न सकेको छैन । चाहिएको भन्दा कम खोप आवश्यक रहेकोमा त्यहाँ पनि यही महिनामा फेरि अभाव सुरु हुने अवस्था छ । उता सुदूरपश्चिम प्रदेशमा भने यस महिनाका लागि पर्याप्त खोप प्राप्त भएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । महिनामा चारहजार पाँच सय भाइल आवश्यक भएकोमा यस महिनाका लागि पाँच हजार भाइल खोप प्राप्त भएको केन्द्रले जानकारी दिएको छ । तर, सेती अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठले अस्पतालमा खोप अझै नपुगेको बताए । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको कोल्ड चेनमा कार्यरत कर्मचारी नन्दकिशोर महतोले केही अस्पतालले खोप लगिसकेको र केहीले लिन बाँकी रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्