एनपीएलका खेलहरू रातिमा पनि हुने



काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका खेलहरू रातिमा पनि खेलिने भएका छन । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमा एनपीएल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलिने कुरा गरेका थिए। उक्त कुरालाई क्यानले पनि पुष्टि गरेको हो ।

‘अब अहिले त्रिवि क्रिकेट मैदान बनिरहेको छ, समयमै काम सम्पन्न भएर खेल सञ्चालन गर्न मिल्ने अवस्था भएपछि फ्लडलाइटमा खेल खेलाउने योजना नै हो’ क्यानका प्रवक्ता छुम्बी लामाले भने । एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर–डिसेम्बरमा गर्ने तय छ भने त्यसका लागि मिनी अक्सन पनि अगस्टमा गर्ने तालिका छ । अक्सनका लागि खेलाडी दर्ता गर्ने समय पनि मंगलबार रातिदेखि सकिएको छ ।

अब खेलाडीहरूको अन्तिम सुची केही दिनमै सार्वजनिक हुने र अक्सनको मिति तोकिने लामाको भनाइ छ । काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हाल स्तरोन्नतिको काम भइरहेको छ । पहिलो चरणमा १५ हजार क्षमताको प्याराफिट र ६ वटा फ्लडलाइट जडान कार्य भइरहेको छ । तोकिएको समय (असार मसान्त)मा काम नसकिएपछि निर्माण कम्पनीलाई हर्जना तिराएर म्याद थप गरी काम भइरहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार