विद्युत्का दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित



धनगढी ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र धनगढी शाखाअन्र्तगत हसुलिया केन्द्रमा दैनिक ज्यालादारीमा कार्यरत छन् ‘केदार चौधरी ।’ धनगढी वितरण शाखा कार्यालय प्रमुखको कार्यकक्षमा हातमा काँलोपट्टी बाँधेर उनी धर्नामा उत्रिए । एक वर्षअघि विद्युत् प्राधिकरणले दैनिक ज्यालादारीलाई मासिक ज्यालादारी बनाउने निर्णय पारित गरेको थियो । तर, अहिलेसम्म सो पारित निर्णय कार्यान्वयन नगरेकोले उनी धर्नामा रहेको बताए ।

उनले भने, ‘कामको सुरक्षा छैन । रोजगारीको पनि ग्यारेन्टी छैन । विद्युत् पोलमा काम गर्दै गर्दा घाइते वा मृत्यु भएमा परिवारको जीविकोपार्जनको सुनिश्चितता छैन ।’ उनले पारित गरेको निर्णय कार्यान्वयन गरि सेवा सुविधा थपिनुपर्ने मागसहित दबाब कार्यक्रम गरिरहेको बताए । कैलारी गाउँपालिका वडा नम्बर ५ गोबरेलामा हावाहुरीबाट रुख ढलेर तार चुँडियो । सो तार बनाउने क्रममा करेन्ट लागेर उनी खसेर घाइते भएको बताउँछन् । उनी भन्छन, ‘पोलबाट खसेर बेहोस भएँ । होस आउँदा घाइते भएको थिएँ । त्योबेला दैनिकी चलाउन पनि समस्या भयो ।’

धनगढी वितरण केन्द्रमा १८ वर्षदेखि दैनिक ज्यालादारीमा कार्य गर्दै आएका जिवन रानाले २०६८ सालदेखि मासिक ज्यालादारी बनाउनुपर्ने माग गर्दै आइरहेका छन् । तर, अहिलेसम्म दैनिक ज्यालादारीकै रुपमा कार्यरत छन । उनले जोखिमपूर्ण कार्य गर्दा कुनै भवितव्य घटना भए कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता रहने गरेको बताए । उनले हरेक पटक वार्ता टोलीसँग छलफल गर्दासमेत मागहरु सुनुवाइ नभएको बताए।

उनले केन्द्रीय कार्यालयमा पुनः दैनिक ज्यालादारी दिने निर्णय गरेकोले आन्दोलित हुनुपरेको बताए । शिवकुमार अधिकारीको संयोजकत्वमा ६ गते बसेको वार्ता टोलीको छलफल असफल भएको बताए । उनले भने, ‘हामी दैनिक ज्यालादारीमा कहिलेसम्म बस्नुपर्ने हो । मासिक ज्यालादारी बनाउन किन समस्या हो ?’ धनगढी वितरण केन्द्रमा दैनिक ज्यालादारीमा कार्यरत शंकर दाहालले दैनिक ज्यालादारीमा रोजगारीको ग्यारेन्टी नभएको बताए । उनले दिनमा कार्य पाएमात्र ज्याला पाउने र नपाए ज्याला नपाउने अवस्था रहेकोले मासिक ज्यालादारी बनाउनुपर्ने बताए ।

उनले कामकै सिलसिलमा अपाङ्ग हुनुपर्ने, घाइते हुनुपर्ने र ज्याननै गुमाउनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘कामकै सिलसिलामा कोही अपाङ्ग भएका छन् । कोही घाइते भएका छन् । कतिपयको मृत्यु भइसकेको छ । तर, व्यवस्थापनले कुनै सुनुवाइ गरेको छैन् ।’ उनले रोजगारीको ग्यारेन्टी हुनुपर्ने र न्यून ज्याला भएकोले पृद्धि हुनुपर्ने बताए । उनले भने, ‘ज्याला कम भएकाले बाबुआमाको राम्रोसँग पालनपोषण गर्न सकेका छैनौँ । छोराछोरीहरुलाई राम्रो विद्यालयमा पठनपाठन गराउन समस्या भइरहेको छ ।’

दैनिक ज्यालादारीले बुधबार इकाई कार्यालयबाट सुरु गरेको धर्नाको कार्यक्रम शुक्रबार प्रदेश कार्यालय हुँदै केन्द्रीय कार्यालय घेराउ गर्ने कार्यक्रम तय भएको बताए । प्राधिकरणले माग सुनुवाइ नगरेमा आन्दोलनको स्वरुप बदल्ने उनीहरुको भनाइ छ । उनले भने, ‘मासिक ज्यालादारी आफूहरुलाई नबनाएसम्म आन्दोलनका कार्यक्रम निरन्तर अघि बढने छ ।’

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ८ गते बिहीबार