दुई करोड ७२ लाखभन्दा बढी माछाका ‘भुरा’ उत्पादन



नेपालगन्ज (बाँके) ।

बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जस्थित मत्स्य विकास केन्द्रले दुई करोड ७२ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्ष ०८१–८२ मा उक्त मात्रामा माछाका भुरा उत्पादन गरेको हो । मत्स्य विकास केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिमबहादुर थापाले गत आवमा लक्ष्यभन्दा बढी २ करोड ७२ लाखभन्दा बढी माछाका भुरा उत्पादन गरिएको जानकारी दिए ।

‘गत आवमा हामीले ‘ह्याचलिङ’ भुरा दुई करोड, ‘फ्राई’ भुरा १५ लाख, ‘फिङ्गरलिङ्ग’ भुरा १२ लाख र खानेमाछा (इएरलिङ्ग) तीन क्विन्टल उत्पादन गर्ने वार्षिक लक्ष्य राखेका थियौँ ।’ उनले भने, ‘तर लक्ष्यभन्दा धेरै ‘ह्याचलिङ’ भुरा दुई करोड १८ लाख, ‘फ्राई’ भुरा ३३ लाख १५ हजार २०, ‘फिङ्गरलिङ्ग’ भुरा २१ लाख २२ हजार ५२० र खानेमाछा (इएरलिङ्ग) पाँच क्विन्टल ९४ किलो उत्पादन भएको छ, यो हाम्रो लक्ष्यभन्दा बढी उत्पादन हो ।’

केन्द्रले हरेक वर्ष लक्ष्यभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएको छ । वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्दै आएपनि किसानले भने मागअनुसार भुरा पाउन सकेका छैनन् । ‘हामीले वार्षिक दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन गर्छौँ, हरेक वर्ष लक्ष्यभन्दा धेरै उत्पादन गरिरहेका छौँ, जति उत्पादन बढाएका छौँ, त्योभन्दा कैयौँ गुणा धेरै माग हुने गरेको छ,’ वरिष्ठ मत्स्य विकास अधिकृत थापाले भने, ‘हामीले उत्पादन गरेको भुराले किसानको मागको आधारमा ३० प्रतिशत मात्र धानेका छौँ, बाँकी उहाँहरुले निजी नर्सरीबाट लैजाने गर्नुहुन्छ ।’

दक्ष प्राविधिक जनशक्ति भएका कारण उत्पादन गर्ने क्षमताभन्दा झण्डै दोब्बर भुरा उत्पादन गर्दै आएको उनको भनाइ छ । माछाका भुरा र खानेमाछा बिक्रीबाट केन्द्रले गत आवमा ३३ लाख १४ हजार ४०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । केन्द्रको कूल ३.५९ हेक्टर जमिनमध्ये जलाशय जमिन १.८२ हेक्टर छ । जलाशय जमिनमा भुरा उत्पादनका लागि साना ठुला गरेर २३ वटा पोखरी निर्माण गरिएका छन् । जसमध्ये रेयरिङ्ग पोखरी चार वटा, नर्सरी पोखरी १२ वटा, माउ पोखरी ६ वटा र खानेमाछा पोखरी एउटा छ ।

केन्द्रका सूचना अधिकारी मत्स्य अधिकृत सालिकराम चौधरीले आर्थिक वर्ष ०८०–८१ मा ‘ह्याचलिङ्ग’ भुरा दुई करोड ३० लाख, ‘फ्राई’ भुरा २६ लाख ८४ हजार ७५०, ‘फिङ्गरलिङ्ग’ भुरा २३ लाख १७ हजार १६० र खानेमाछा नौ क्विन्टल ८४ केजी उत्पादन भएको बताए । उक्त वर्ष केन्द्रले ३३ लाख ८२ हजार ३९८ रुपियाँ राजस्व सङ्कलन गरेका थियो । उनका अनुसार आव ०७९–८० मा केन्द्रबाट ‘ह्याचलिङ्ग’ भुरा दुई करोड १९ लाख, ‘फ्राई’ भुरा २२ लाख ९८ हजार, ‘फिङ्गरलिङ्ग’ भुरा २० लाख चार हजार र खानेमाछा छ क्विन्टल ३० केजी उत्पादन गरेको थियो ।

सोको बिक्रबिाट २९ लाख ८२ हजार ६७१ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सूचना अधिकारी चौधरीका अनुसार अण्डाबाट निस्केको ५ देखि ७ दिनको भुरालाई ‘ह्याचलिङ्ग’, २५ देखि ३५ दिनसम्मलाई ‘फ्राई’, ३५ देखि ४५ दिनसम्मलाई ‘फिङ्गरलिङ्ग’, ४५ देखि ६० दिनसम्मलाई ‘एड्भान्स फिङ्गरलिङ्ग’ र ६० दिनदेखि माथिलाई ‘इएरलिङ्ग’ भनिन्छ ।

लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रलाय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत रहेको उक्त केन्द्रले ग्रास कार्प, सिल्भर, विगहेड कार्प, भाकुर, रहु तथा नैनी, कमन कार्प प्रजातिका माछाका भुरा उत्पादन गर्दै आएको छ ।
उत्पादन भएका भुरा बाँके, बर्दिया, दाङ, पूर्वीरुकुम, प्युठान, रोल्पा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाका किसानलाई उपलब्ध गराउँदै आएको केन्द्रले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार