नेपालागन्ज ।
निरंकुश राणा शासनविरुद्ध नेपालमा सुरु गरिएको क्रान्तिको अगुवाइ गर्ने लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्वपार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइरालाको ४३औँ स्मृति दिवस साउन ६ गतेदेखि विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमको आयोजना गरी देशैभरि मनाइदैछ ।
काँग्रेसका अनुसार, स्मृति दिवसका अवसरमा देशैभर वृक्षारोपणका साथै विपी कोइरालाको योगदानबारे चर्चा, परिचर्चा, लोकतान्त्रिक आन्दोलनका योद्धा तथा समाजमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान एवम् खेलकुद तथा शैक्षिक प्रतियोगिता लगायतका कार्यक्रम गरि स्मृति दिवस मनाउने कार्यक्रम तय गरिएको छ । नेपाली काँग्रेस बाँकेले पनि विभिन्न कार्यक्रमको आयोजना गरि विपी कोइरालाको स्थानीय तहमा स्मृति दिवस मनाउँदै छ ।
पार्टी सभापति नारायणप्रसाद गौडेलका अनुसार साउन ६ गते बिहान साढे सात बजे नेपालगन्ज विपी चोकस्थित जननायक विपी कोइरालाको शालिकमा माल्र्यापण, सोही दिन बिहान साढे १० बजे कोहलपुर—८ पिपरीस्थित शितल बनवाटिका तथा जैविक पार्कमा वृक्षारोपण कार्यक्रम राखिएको छ । यस्तै साउन ६ गते प्रजातान्त्रिक सेनानी संघले बाँकेको कम्दीस्थित गौशालामा वृक्षारोपण कार्यक्रम राखेको छ भने सोही दिन प्रजातन्त्र सेनानी स्वर्गीय माया गिरीलाई मरणोपरान्त सम्मान गरिने संघका सचिव कृष्ण सापकोटाले बताए ।
स्मृति दिवसकै अवसरमा नेपाली काँग्रेसको राप्तीसोनारी गाँउपालिकाका सबै वडा कमिटीहरुले साउन ६ गते वृक्षारोपणलगायतका कार्यक्रम गर्ने निर्णय गरेका छन् भने साउन ८, ९, १० र १२ नेपाल किसान महासंघले खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताल प्रांगणमा वृक्षारोपण, हडियाबाबा मन्दिरमा सरसफाइ, किसानहरुलाई निःशुल्क बीउबिजन वितरण र वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ ।
यसैगरी, नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ क्षेत्रीय समितिले साउन ७ गते राप्ती सोनारी—७ नन्कौपुरस्थित अमरज्योति माविको प्रागंणमा पाठेघर मुखको क्यान्सरको पहिचान तथा बाझोपनसम्बन्धी एकदिने स्वास्थ्य शिविर आयोजना गर्दैछ । स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस, बाँके, क्षेत्रीय समिति तथा भातृ संगठनहरुले आयोजना गर्ने कार्यक्रमहरुमा पार्टी सभापति नारायणप्रसाद गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, प्रवक्ता डिल्ली गिरीलगायतका नेता, कार्यकर्ता तथा स्थानीयहरुको उपस्थिति रहने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्