चौरजहारी अस्पतालबाट आठ सयभन्दा बढीले लिए प्रसूति सेवा



प्रचण्ड खत्री । रुकुम पश्चिम ।

रुकुम पश्चिमको चौरजहारी अस्पतालवाट गत आर्थिक वर्ष २०८१–०८२ मा सुरक्षित प्रसूति सेवा लिनेको संख्या ८ सय १९ रहेको छ । मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित चौरजहारी अस्पतालवाट रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, जाजरकोट, डोल्पा र सुर्खेत जिल्लाका विभिन्न पालिकाबाट अस्पतालमा भर्ना भएर प्रसूति सेवा लिने आमाहरुको संख्या ८ सय १९ पुगेको हो ।

जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १ स्याउलीवजार नाखिरामा अवस्थित अस्पतालमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकावाट ३१०, सानीभेरी गाउँपालिकाबाट ११५, आठविसकोट नगरपालिकाबाट ८९, मुसिकोट नगरपालिकाबाट १२, त्रिवेणी गाउँपालिका १२, वाँफिकोट गाउँपालिका ७, रुकुम पूर्वको भूमे गाउँपालिका १, सिस्ने गाउँपालिकाबाट २ जनाले प्रसूति सेवा लिएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

सल्यानको कुमाख गाउँपालिकाबाट ८६, बनगाड कुपिन्डे नगरपालिकाबाट ५ र दार्मा गाउँपालिकाबाट ४ जना आमाहरुले प्रसूति सेवा लिएका छन् भने जाजरकोट जिल्लाको भेरी नगरपालिकाबाट ११८, छेडागाड नगरपालिकाबाट ८, जुनीचाँदे गाउँपालिकाबाट २, शिवालय गाउँपालिकाबाट ५, नलगाड नगरपालिकाबाट १५, कुशे गाउँपालिकाबाट ५ र बारेकोट गाउँपालिकाबाट ९ जना आमाहरुले सुत्केरी सेवा लिएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए ।

डोल्पाको मुड्केचुला गाउँपालिकाबाट २, ठुलिभेरी नगरपालिकाबाट १ र सुर्खेतको सिम्ता गाउँपालिकाबाट १ जनाले सुत्केरी सेवा लिएको प्रशासक गिरीको भनाइ छ । अस्पतालले जटिल प्रकृतिका सुत्केरीहरुका लागि शल्यक्रिया गरी बच्चा निकाल्ने सेवा समेत सञ्चालन गर्दै आइरहेको छ । १ सय बेड क्षमता रहेको अस्पतालमा रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, जाजरकोट, डोल्पा, सुर्खेत, लगायतका जिल्लाबाट बिरामीहरुले स्वास्थ्य सेवा लिँदै आइरहेका छन् ।

जिल्लाको सामुदायिक अस्पतालअन्तर्गत बिमितहरुका लागि प्रथम सेवा बिन्दुको रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको अस्पताललाई बीमा बोर्डले प्रथम सेवा बिन्दुको सुचीबाट हटाएपछि यस क्षेत्रका बिमितहरु मर्कामा परेको बताइएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका लगायतका क्षेत्रबाट चौरजहारी अस्पतालमा प्रथम सेवा बिन्दु गराउने बिमितहरुको संख्या ३८ हजार रहेको स्वास्थ्य बीमा बोर्ड रुकुम पश्चिमका संयोजक कमल डांगीले बताए ।

जनताहरुले सहजरुपमा स्वास्थ्य सेवा लिनपाउने मौलिक हकलाई ध्यानमा राखेर चौरजहारी नगरपालिका रुकुम पश्चिम र सल्यानको दार्मा गाउँपालिकाले स्वास्थ्य बीमा बोर्डलाई प्रथम सेवा बिन्दुबाट नहटाउनको लागि पत्र पठाएको चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीको भनाइ छ ।

नियमित रुपमा अस्पतालबाट औषधि सेवन गर्दै आइरहेका दीर्घरोगी, अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरु स्वास्थ्य बीमा बोर्डले गरेको उक्त निर्णयवाट मारमा परेको चौरजहारी नगरपालिका वडा नम्वर ७ का स्थानीय दुर्गाप्रसाद शर्माको भनाइ छ । स्वास्थ्य बीमा बोर्डले अस्पतालले बिरामीहरुको उपचार गरेबातको रकम हालसम्म भुक्तानी नहुँदा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी तथा औषधि सप्लायर्सहरुलाई भुक्तानी गर्न कठिनाइ भैरहेको अस्पताल प्रशासनले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ५ गते सोमबार