कोहलपुर ।
कोहलपुर नगर विकास समिति पछिल्लो समय बजार सौन्दर्यीकरणमा लागिपरेको छ । नगर विकास समितिको क्षेत्रभित्र रहेका मुख्य सडक खण्डका बाउन्ड्री र पेटीका प्रविष्टहरुमा रङ्गरोगन गर्न लागिपरेको हो । नगर विकास समितिको क्षेत्रभित्र रहेका सडक पेटीहरुमा रङ्गरोगन गर्नुका साथै सौन्दर्यीकरण बढाउन थालिएको नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले बताए ।
नगर सौन्दर्यीकरणका लागि समितिले ठेक्का आह्वान गरेर अहिले रङ्गरोगन कार्य तीव्र रुपमा भइरहेको उनले जानकारी दिए । बजारमा खाली रहेका सडक पेटी, प्रविष्टहरु र खाली भित्ताहरुमा सौन्दर्यीकरण गर्न रङ्गरोगन कार्य भइरहेको उनले बताए । कोहलपुरको सौन्दर्यीकरण र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सहयोग पु¥याउने उद्देश्यले भित्ता रङ्गाउन लागिएको मिसन टुडेलाई जानकारी दिए ।
‘काठमाडौँ र धनगढीमा पनि हामीले रङ्गरोगन गरेको हे¥यौँ,’ उनले भने, ‘यसले विशेष गरेर बजारको सौन्दर्यीकरण गर्ने । अर्काेतर्फ त्यसले सन्देश पनि दिने । त्यसकारण चित्र बनाउने र प्रविष्टमा रङ्गरोगन गरे कङ्क्रिटको पनि आयु बढाउने गर्छ ।’ सडक पेटीमात्र नभई कोहलपुरलाई चिनाउन र सौन्दर्यीकरण गर्न भ्यू टावरलाई पनि रङ्गरोगन गर्न थालिएको उनी बताउँछन् ।
भित्तामा नेपालका राष्ट्रिय चिन्हहरू, नेपालका राष्ट्रिय विभूतिहरू, राराताल, हात्ती, बाघ, डाँफे र कोहलपुर झल्काउने धार्मिक एवं सांस्कृतिक चित्र बनाइरहेको उनले बताए । आठ लाख रूपैयाँँ लगानीमा भ्यू टावरमा चित्रहरू बनाउन सुरु गरिएको समेत उनले जानकारी दिए । नगर सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत नेपालगन्जबाट चित्रकार बोलाएर चित्र बनाउन थालिएको बताए । उनले कोहलपुरमा आन्तरिक र बाह्य पर्यटन घुम्ने ठाउँ निर्माण भइरहेको बताए ।
सडक पेटीका बाउन्ड्री र प्रविष्ट रङ्गरोगन गर्ने जिम्मा आइस निर्माण कम्पनी नेपालगन्जले निमार्ण जिम्मा पाएको इन्जिनियर अम्मरबहादुर बुढाथोकीले जानकारी दिए । भ्याटबाहेक १७ लाख लागतमा कम्पनीले निमार्णको जिम्मा पाएको उनले बताए । उनका अनुसार कोहलपुरको न्यूरोडदेखि दश विगाहासम्म, हरियाली मार्गदेखि कृषि चोक र एनटिभी रोडदेखि एनटिभी कोहलपुरको कार्यालयसम्म जेब्रा क्रसिङसमेत बनाइएको उनले जानकारी दिए ।
बजारमा दुर्घटना बढ्दो रहेकाले जेब्रा क्रसिङले केही राहत प्रदान गर्ने उनी बताउँछन् । नगर विकासको क्षेत्रमा कोहलपुरका मुख्य चोकहरुका चौतर्फी जेब्रा क्रसिङ निर्माण सम्पन्न भइसकेका छन् । त्यसले नागरिकलाई सडक पार गर्न र दुर्घटना कम गर्ने विश्वास लिइएको छ ।









प्रतिक्रिया दिनुहोस्