कोहलपुर (बाँके) ।
बाँकेको बैजनाथ गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१–०८२ मा कूल २ हजार ९ सय ९५ मिटर सडक कालोपत्रे गरेको छ । गाउँपालिकाको आन्तरिक स्रोतमा विभिन्न वडा जोड्ने सडक कालोपत्रे गरिएको हो । पूर्वाधार विकास शाखाका अधिकृत डोटी नेपालीले प्रदेश र संघीय सरकारको लगानीमा बनेका सडक छोडेर आफ्नै लगानीमा मात्रै तीन किलोमिटर सडक निर्माण गरिएको बताए ।
उनका अनुसार वडा नम्बर ४ को ढकालचोकदेखि कोहलपुर २ जोड्ने सडक कालोपत्रे गरिएको छ । उक्त योजनाको लागि कूल ३० लाख रूपैयाँ विनियोजन गरिएको थियो । ठेक्का प्रक्रियामार्फत २१ लाख रूपैयाँ २३० मिटर सडक कालोपत्रे सम्पन्न भएको अधिकृत नेपालीले बताए । गढरहीदेखि गुनापुर जोड्ने सडकसमेत ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको हो । उक्त योजनाको कूल लागत ४० लाख रूपैयाँ थियो । हालसम्म २६० मिटर कालोपत्रे सडक निर्माण गरिएको अधिकृत नेपालीको भनाइ छ ।
यस्तै वडा नम्बर ३ मनसाखु थारुको घरदेखि कारागार जोड्ने सडक कालोपत्रे योजनाको कूल लागत १ करोड ४० लाख रूपैयाँ रहेको थियो । ठेक्का प्रक्रियामार्फत ९० लाख रूपैयाँमा योजना सम्पन्न भएको उनले बताए । सववेस, वेसवाल निर्माण भएको र १ किलोमिटर सडक निर्माणको अन्तिम चरणमा रहेको उनले बताए । उक्त योजना गाउँपालिका र प्रदेशको समपुरक योजनाअन्र्तगत निर्माण गरिएको हो ।
यस्तै वडा नम्बर १, ४ र ५ मा विभिन्न स्थानमा गरी कूल झण्डै १ किलोमिटर सडक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाको आफ्नै लगानीमा ४६ लाख लागतमा ती सडक कालापत्रे गरिएको हो । चालू आवमा पूर्वाधारका अन्य योजनाहरू समेत सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारको कूल ६० लाख रूपैयाँ लागत र ठेक्का प्रक्रियामार्फत ४५ लाख रूपैयाँमा वडा नम्बर ६ को २८ घर, वडा नम्बर ८ को बिचलाइनमा नाली, २ सय मिटर ग्राभेल निर्माण गरिएको नेपालीले बताए ।
संघीय सरकारको सहयोगमा ठेक्का प्रक्रियामार्फत १ करोड ४६ लाख रूपैयाँ लागतमा श्री शंकर मावि थपुवाको कृषि क्याम्पसको घेराबार तथा प्रशासनिक भवन निर्माण गरिएको छ । हालसम्म ३२७ मिटर पर्खाल र भवनको माथिल्लो तला ढलान भई पलाष्टरको काम भइरहेको अधिकृत नेपालीले मिसन टुडेलाई जानकारी दिएका छन् । उक्त योजनाको कूल लागत २ करोड थियो । यसैगरी श्री सरस्वती आ.वि. पितमारी, श्री जनजागरण आ.वि. चिसापानी, श्री नेरा मा.वि. टिटिहिरियाको ४ कोठे भवन कूल १ करोड ६५ लाख रूपैयाँ लागतमा निर्माण गरिएको छ ।
उपभोक्ता समितिमार्फत निर्माण गरिएको माथिल्लो तला ढलान भई पलाष्टरको काम भइरहेको गाउँपालिकाले जनाएको छ । ४५ लाख रूपैयाँ लागतमा वडा नम्बर ४ स्थित आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । यस्तै वडा नम्बर ३ कालोपत्रे सडक र वडा नम्बर १ र वडा नम्बर ४ र ५ मा कालोपत्रेका लागि ठेक्का आह्वान भएको छ ।
चालू आवमा बैजनाथ गाउँपालिकामा १ किलोमिटर पक्की नाली निर्माण गरिएको छ । खानेपानी र सिँचाइतर्फ वडा नम्बर ७ र ८ मा ४० वटा धारा जडान गरिएको छ । यस्तै ७ वटा कल्भर्ट, ९ किलोमिटर ग्राभेल सडक, ६ वटा विद्यालय भवन र ४ किलोमिटर नयाँ बाटो निर्माण गरिएको उनले बताए । ९ सय मिटर तारबार घेराउ, १० वटा तटबन्ध, ७ सय मिटर पर्खाल, ६ सय मिटर सिँचाइ कुलो र ५ वटा ट्रष्ट र ६ वटा खुला व्यामशाला निर्माण गरिएको छ ।
हालसम्म कै भौतिक पूर्वाधारतर्फ मुख्य उपलब्धिका रुपमा ४ करोड लगानीमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । उनका अनुसार भौतिक पूर्वाधार निर्माण बैजनाथ गाउँपालिकाको प्रमुख प्राथमिकता मध्येको एक हो । सोहीअनुसार गाउँपालिकाले विकास निर्माणलाई तीव्रता दिएको अध्यक्ष शाहीको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्