नेपालगन्ज ।
नेपालगन्जमा सञ्चारकर्मीहरूसँग करसम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगन्जको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँके शाखाको समन्वयमा बिहीबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । सञ्चारकर्मीहरूसँग यस प्रकारको अन्तक्र्रिया जिल्लामै पहिलोपटक आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय बाँकेका कार्यालय प्रमुख प्रमुख कर अधिकृत पूर्णप्रसाद न्यौपानेले करदाता शिक्षा प्रवाहका निम्ति मिडियाको अहम् भूमिका रहेको बताए । उनले कर संकलन दर बढाउन मिडियाको साथ आवश्यक रहेको भन्दै आफूहरूमाथि पनि निरन्तर निगरानी हुनुपर्ने बताए । न्यौपानेले कर छली, करको दायरामा नआउने लगायतका समस्यामा खोज पत्रकारितामार्फत खबरदारी गर्न आग्रह समेत गरे ।
उनले मिडिया सहकार्य र मिडियामैत्री वातावरण सिर्जनामा आफूहरू प्रतिबद्ध रहेको समेत बताए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले करदाता शिक्षाका लागि मिडिया सशक्त माध्यम भएको बताए । गिरीले करसम्बन्धी सूचना र जानकारी सम्प्रेषण, कर संकलन र खर्चमा निगरानी, कर छली खुलासा, कर तिर्नु नागरिकको कर्तव्य हो भन्ने चेतना फैलाउन, करसम्बन्धी शिक्षा र सचेतना अभिवृद्धि गर्न सञ्चारकर्मीहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले आन्तरिक राजस्व कार्यालय मिडियामैत्री देखिएको बताउँदै सूचना प्रवाह र मिडिया सहकार्यका लागि पनि अग्रसरता देखाइरहन आग्रह गरे । कर अधिकृत किरण डाँगीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । डाँगीले कार्यालयले सम्पादन गर्ने काम, प्रवाह गर्ने सेवाको प्रकृति, करसम्बन्धी नयाँ स्किम लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा पत्रकारहरू शरण कर्माचार्य, अर्जुन ओली, डा.डक्टप्रसाद धिताल, मो. आरिफ अन्सारी, विजय मल्ल, चन्द्रेश्वर त्रिपाठी, कुशल दलामी, चन्द्रप्रसाद शर्मा लगायतले विभिन्न जिज्ञासासँगै सुझाव एवम् पृष्ठपोषण दिएका थिए । पत्रकारहरूको जिज्ञासालाई कार्यालय प्रमुख न्यौपानेले सम्बोधन गरेका थिए । कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीले गरेका थिए । कार्यक्रममा करिब ६० जना पत्रकारहरूको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्